काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
सरकारका मन्त्री र उच्च पदस्थ कर्मचारीहरु एकपछि अर्को भ्रष्टाचारका काण्डमा संलग्न भइरहेको भन्दै राप्रपाले शुक्रबार अख्तियारको ध्यानाकर्षण गराउने भएको हो ।
राप्रपाले साउन २ गते शुक्रबार दिउँसो १ बजे भ्रष्टाचारका सबै काण्डको अध्ययन, अनुसन्धान र कारबाही प्रक्रिया तदारुकताका साथ अघि बढाउन ध्यानाकर्षण गराउँदै अख्तियारको केन्द्रीय कार्यालय टंगालमा प्रदर्शनसहित ज्ञापनपत्र पेश गर्ने कार्यक्रम तय भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
असार १९ गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सन्चालन गर्ने निर्णय गरेको थियो । राप्रपाले अख्तियारको प्रदेश कार्यालयहरु, सम्पत्ति शुद्धीकरण विभाग लगायतका भ्रष्टाचार हेर्ने निकायहरुमा समेत चरणबद्ध रुपमा भ्रष्टाचार विरुद्धको दबावमूलक अभियान सन्चालन गर्नेछ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा शुक्रबार अख्तियारको कार्यालय पुग्नेछ ।










