६ श्रावण २०८३, बुधबार
,
Latest
मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीसीआर परीक्षणबिनै धमाधम घर पठाईयो



अ+ अ-

कपिलवस्तु । कोरोना हटस्पट बनेको जिल्लामा संक्रमितलाई पीसीआर परीक्षणबिनै धमाधम घर पठाउन थालिएको छ । कपिलवस्तु–८ स्थित विश्वमैत्री प्राविका आठ र कचरिहवा मदरसाका तीन जनालाई पीसीआर परीक्षणबिनै घर पठाइएको हो । उनीहरू दोहनी गाउँका बासिन्दा हुन् । संक्रमण पुष्टि भएयता उनीहरूको पुनः पीसीआर परीक्षण गरिएको छैन । १४ दिन आइसोलेसनमा बसिसकेपछि थप लक्षण र बिरामी नभएमा घर पठाउने सरकारको नयाँ नीतिअनुसार उनीहरूलाई घर पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले बताए । ‘हामीले पठाउन खोजेका थिएनौं,’ उनले भने, ‘सरकारको नीति मान्नै पर्‍यो ।’ उनका अनुसार अहिलेको निर्देशिका जारी हुनुपूर्व संक्रमितको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठाउने गरिएको थियो । दुवै रिपोर्ट नेगेटिभ आएपछि जिल्लाका ४२ जना यसअघि संक्रमणमुक्त भएका थिए । गत जेठ २४ देखि जिल्लामा नयाँ निर्देशिकाअनुसार परीक्षणबिनै घर पठाउन थालिएको छ ।

यशोधरा गाउँपालिकाका ३८ जना संक्रमितलाई पनि दोस्रो रिपोर्ट नआउँदै घर पठाइएको छ । गाउँपालिकाको अनिरुद्र पब्लिक माविको आइसोलेसनमा रहेका ३८ जनाको स्वाब संकलन गरी तेस्रोपटक पीसीआरका लागि दाङ पठाइएको थियो । उनीहरूको जेठ २१ गते स्वाब पठाइएको हो । त्यस्तै त्यही क्वारेन्टाइनमा रहेका २९ जनालाई संक्रमणको कुनै लक्षण नदेखिएको भन्दै घर पठाइएको छ । ‘गाउँपालिकाले संक्रमितको पीसीआर परीक्षणपछि मात्र घर पठाउने योजना बनाएको थियो,’ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ज्योतिप्रकाश दुबेले भने, ‘जिल्लाबाट डाक्टर आएर हेरेर पठाइदिनुभयो,’ उनले भने । नयाँ निर्देशिकाअनुसार उनीहरूमा लक्षण नदेखिएकाले आफूले डिस्चार्ज गरेको जिल्ला अस्पतालका डा. किशोर बन्जाडेले बताए । ‘उनीहरूलाई एक सातासम्म घरमै आइसोलेसनमा बस्न भनेका छौं,’ उनले भने । त्यस्तै, यशोधरा–६ को क्वारेन्टाइनमा रहेका २४ जना, वसन्तपुरको क्वारेन्टाइनमा रहेका १३ र बैदोली मदरसा क्वारेन्टाइनमा रहेका १२ जनालाई मंगलबार घर पठाइएको छ । त्यस्तै, महाराजगन्ज नगरपालिकामा दुई दिनमा ५० जना संक्रमितलाई घर पठाइएको छ ।

उनीहरू सिसवा, कुशहवा र हर्दोना गाउँका थिए । आइसोलेसनमा बसेका उनीहरूको दोस्रो र तेस्रो परीक्षण नगरी घर पठाइएको नगरपालिकाका स्वास्थ्य प्रमुख राधेश्याम जयसवालले बताए । ‘बाहिरी लक्षण देखिएन,’ उनले भने, ‘सरकारको नीतिले पनि छाड्ने भन्यो, त्यही भएर छाड्यौं ।’ त्यस्तै तीन दिनयता क्वारेन्टाइनमा रहेका २ सय २ जनालाई घर पठाइएको छ । उनीहरूको पनि परीक्षण गरिएन । मायादेवी गाउँपालिकाका ११ जना संक्रमितलाई घर पठाइएको छ । उनीहरूमा दोस्रो र तेस्रो परीक्षण गरिएन ।

सरकारले जारी गरेको पछिल्लो निर्देशिकाको चारैतिर विरोध भइरहेको छ । स्वास्थ्यकर्मीले समेत चिन्ता प्रकट गरेका छन् । यसले संक्रमण समुदायमा जाने डरत्रास बढाएको छ । यो नीतिको चौतर्फी विरोध हुँदा पनि सरकार सचेत नभई महामारी निम्त्याउन उद्यत देखिएको अधिकारकर्मी आरडी ठाकुरले बताए । ‘हामी त रेड जोनमा छौं,’ यशोधरा गाउँपालिका अध्यक्ष गिरजेश पाण्डेले भने, ‘सरकारले हाम्रो जीवनसँग खेलबाड गरिरहेको छ ।’ अब समुदायमा संक्रमण फैलिए यसको जिम्मेवारी सरकारले लिनुपर्ने उनले बताए । परीक्षण नै नगरी संक्रमित छाडिनु राम्रो नभएको महाराजगन्ज नगरपालिका प्रमुख अब्दुलकलाम खाँले बताए । ‘यसले समुदायप्रति सरकारको जिम्मेवारी दिखिएन,’ उनले भने, ‘सरकार चुक्दै गएको छ ।’ कान्तिपुर दैनिक




भर्खरै