६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान News Polar बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त News Polar समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी-फोटो फिचर News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह

लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य

लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य
अ+ अ-

काठमाडौँ: नेपथ्य ब्यान्डले जुन मञ्चमा आफ्नो सफलताको मानक उभ्याएको थियो, त्यहीँ उसले १२ वर्षपछि इतिहास दोहोर्‍याउने भएको छ ।

साढे तीन दशकदेखि फरक–फरक नेपाली पुस्ताबीच लोकप्रियता आर्जन गर्दै आएको यो साङ्गीतिक समूह आगामी अगस्ट ९ को बेलुकी बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा प्रस्तुत हुँदै छ । यो त्यही मञ्च हो, जहाँ सन् २०१३ अगस्टकै ३ तारिखमा ब्यान्डले अपूर्व सफलता हासिल गरेको थियो ।

त्यो एउटा ब्यान्डको कन्सर्टमा मात्र सीमित नरही नेपाली गीत-सङ्गीतलाई पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको सम्मानित मञ्चमा उत्तिकै भव्यताका साथ उपस्थित गराइएको क्षण पनि बन्न पुगेको थियो । त्यति बेला सात हजारभन्दा बढी दर्शक उपस्थित थिए । नेपथ्यले आजसम्मै बन्द सभागृहभित्र पाएको त्यो सबैभन्दा भव्य दर्शक उपस्थिति हो ।

‘वेम्बलीको प्रभाव यस्तरी विस्तार भइदियो कि त्यसपछि हामीलाई विश्वका प्रमुख सहरहरूमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्यान्ड उभिएका मञ्चहरू पाउन थप सहज हुन थाल्यो,’ ब्यान्डलाई व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन् ।

१२ वर्षअघि वेम्बलीको अनुभव सम्झँदा ब्यान्डका मुख्य गायक अमृत गुरुङ अहिले पनि भावुक हुन्छन् । ‘हामीलाई पहिले पनि श्रोता-दर्शकले उत्तिकै माया गर्दै आउनुभएको हो,’ उनी भन्छन्, ‘तर वेम्बलीको प्रस्तुतिपछि हामीले अर्कै उचाइ महसुस गर्दै आएका छौँ ।’

त्यति बेलाको माहोल अमृतको आँखामा झलझली छ । ‘त्यत्रो विशाल दर्शकदीर्घाबाट आएको आवाज, ताली, हल्लिएका हात र जताततै बलिरहेको मोबाइलको उज्यालोले मेरा खुट्टालाई यस्तरी लुलो बनाइदिएका थिए कि सोझो अडियोस् भन्नकै खातिर बल लगाएर टेक्नुपरिरहेको थियो,’ उनी थप्छन्, ‘त्यो क्षण मेरो जीवनकै एउटा चुनौतीजस्तो बनेर सामुन्ने उभिएको थियो र हिम्मत जुट्नासाथ आफूलाई पूर्ण रूपले दर्शकमा समाहित गरिदिएको थिएँ ।’

नेपथ्यको यस पटकको वेम्बली यात्रालाई बेलायतकै ‘बीएसके इन्टरटेनमेन्ट’ र ‘पर्चा प्रोडक्सन’ ले संयोजन गर्दै छन् ।

बेलायतको यात्रामा नेपालबाट ब्यान्डका छ सदस्य र आठ प्राविधिक एवं व्यवस्थापक गरेर १४ सदस्यीय समूह हुनेछ । मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

यति बेला बेलायतभर एक लाखभन्दा बढी नेपालीको बसोबास रहेको अनुमानित तथ्याङ्क छ । आफूसँगै नेपाली सङ्गीतको आस्वाद बोकेर गएका तिनै नेपालीको चाहनालाई ध्यानमा राखेर नेपथ्यले यस यात्रालाई उच्च प्राथमिकतामा राखेको छ ।

पछिल्ला तीन महिनाभित्र नेपथ्यले अस्ट्रेलिया र अमेरिकाको शृङ्खलाबद्ध यात्रा गरिसकेको छ ।

‘नेपथ्यको आगामी कन्सर्टले बेलायतमा नेपाली सङ्गीतको अर्को इतिहास रचना गर्दै छ,’ स्थानीय आयोजक टोलीका दीपेन्द्र लामा भन्छन्, ‘सात हजार टिकट अहिले नै बिक्री भइसकेको छ भने ठूलो सङ्ख्यामा दर्शकको इनक्वाइरीको ओइरो लाग्न थालेको छ ।’

दीपेन्द्रका अनुसार लन्डनबाहिर बसोबास गर्ने दर्शकलाई पनि उपस्थितिका लागि अनुकूल बनाउन भरमग्दुर प्रयत्न भइरहेको छ ।

वेम्बली एरिनाका दर्शकका लागि अनलाइनबाट सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ । अनलाइन बुकिङका लागि दर्शकले नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत आफ्नो सिट सुरक्षित गर्न सक्नेछन् ।