काठमाडौं । गृहमन्त्रालयले गीतसंगीत र कला क्षेत्रमा हुने साइबर अपराध र विकृति रोक्न प्रहरीको साइबर ब्युरोमा ‘फोकल पर्सन’ तोक्ने भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको प्रतिनिधिमण्डलसंगको भेटमा गृहमन्त्री रमेश लेखकले प्रहरीको साइबर ब्युरोमा ‘फोकल पर्सन’ तोक्ने जानकारी गराउनु भएको छ ।
भेटमा रहनु भएका प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख तथा प्रहरी नायव महानिरिक्षक नबीन्द अर्याललाई गृहमन्त्री लेखकले ब्युरोमा फोकस पर्सन तोकेर काम अघि बढाउन निर्देशन .दिनुभयो ।
गृहमन्त्री लेखकले भन्नुभयो ‘गीतसंगीतको मार्फत समाजमा विद्धेष, घृणा फैलाउने, समाज समाजको बीचमा, व्यक्ति व्यक्तिको बीचमा, भाषाभाषीको बीचमा, एकअर्काप्रति अपहेलना गर्ने, अपमान गर्ने, लान्छना लगाउने कार्य रोक्न निष्कर्ष निकालेर अघि बढ्छौं’

प्रतिष्ठानकी अध्यक्ष रिता थापा नेपाली संस्कृतिको एक प्रमुख अङ्ग लोक गीत भएको जानकारी गराउदै नेपाली मौलिक लोक गीतलाई कसरी शुद्ध र पवित्र राख्न सक्छौं भन्नेमा मेहनत निरन्तर जारी रहेको जानकारी गराउनु भयो ।
उहाँले भन्नुभयो “समस्या तीज गीतमा मात्रै होइन समग्र लोक सङ्गीतमा छ। जसरी तीजका कारण तीज संस्कृती बिग्रीन हुँदैन त्यसै गरि देउडा पनि बिग्रीनु हुन्न, हाप्पारे, सालैज्यू, कौराह, मारुनी, बालन, दोहोरी या न अन्य कुनै संस्कृती बिकृती बनाउन मिल्छ ? न पाईन्छ। यी समस्याका निम्ति हामी समाधानको खोजीमा छौं।
आजको छलफल सकारात्मक भएको जानकारी दिदै उहाँले भन्नुभयो -हामी यत्ती मै सिमित रहने छैनौं। विधि, ऐन, नियम, नियमावली बनाएरै अघि बढ्नका निम्ति हामी राज्यका ढोकाहरु ढक्ढक्याईरहने छौं।
छलफलमा प्रतिष्ठानकी अध्यक्ष थापासहित कलाकारहरु शिव हमाल, बद्री पँगेनी, पूर्णकला बीसी, पुष्कल शर्मा, सम्झना भण्डारी, कुलेन्द्र विश्वकर्मा, सुरेश अधिकारी, श्रीकृष्ण बम मल्ल लगायत सहभागी हुन्ु भएको थियो ।
आजै राष्ट्रिय लोकसंचारकर्मी नेपालले पनि गृहमन्त्री लेखकलाई अलग्गै ध्यानाकर्षण पत्र बुझाउँदै तीज पर्वमा अश्लिल र अमर्यादित गीत आएको र यसलाई रोक्न माग गरेको छ ।










