६ श्रावण २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूकुम घटना: फरक रिपोर्ट तयार गरेको भन्दै पीडित पक्ष डाक्टरविरुद्ध आन्दोलित, डाक्टरलाई आपत्



अ+ अ-

जाजरकोट । जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डाक्टर भूपेन्द्रप्रकाश मल्ल, अमिन शाह र औसरसिंह राठौरको घर खलंगामै पर्छ। तर, तीनै जना डाक्टर चार दिनदेखि घर जान सकिरहेका छैनन्। उनीहरू जिल्लाबाहिरका डाक्टरसँगै अस्पतालभित्रै बसिरहेका छन्। विगतमा घरबाटै काममा आउजाउ गर्ने उनीहरू यति खेर रूकुम घटनाको पोस्टमार्टम रिपोर्टका कारण सुरक्षा घेरामा बस्नुपरेको हो। रूकुम पश्चिमको सोतीमा जेठ १० गते ज्यान गुमाएका ६ जनाको पोस्टमार्टम रिपोर्टमा डाक्टरले जालझेल गरेको पीडित पक्षको आरोप छ। शवको प्रकृति र प्रहरीको मुचुल्काभन्दा ‘नियोजित तरिका’ले फरक रिपोर्ट तयार गरेको भन्दै पीडित पक्ष डाक्टरविरुद्ध आन्दोलित छन्। पोस्टमार्टम रिपोर्टको विरोधमा उत्रिएकामाथि प्रहरीले हवाई फायर र लाठी प्रहार गर्दा पाँच जना घाइते थिए। प्रदर्शनकारीले अस्पतालका सिसा फुटाइदिएका छन्। अस्पताल तोडफोडबाट एक्सरे मेसिन बिग्रिएको छ।

डाक्टरमाथि जुनसुकै बेला आक्रमण हुन सक्ने भन्दै स्थानीय प्रशासनले अस्पतालको आवास नछोड्न निर्देशन दिएको छ। अस्पतालमा उनीहरूको सुरक्षाका लागि सशस्त्र प्रहरी र प्रहरी खटिएका छन्। डाक्टरले पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण पानीमा डुबेर मरेको उल्लेख गरेपछि स्थानीय आक्रोशित बनेका हुन्। ‘फोक्सोमा बालुवा छ, पेटमा पानी छैन भनिएको छ। तर, मृत्युको कारणमा पानीमा डुबेर मरेको उल्लेख छ। यो कसरी हुनसक्छ’, संघर्ष समितिका सह संयोजक छवि पन्तले भने, ‘पानीमा डुबेर मरेको शवमा पानी किन छैन ? ’ उनका अनुसार एक जनाको शवको गर्धन पूरै घुम्छ तर रिपोर्टमा हड्डी भाँचिएको छैन भनिएको छ। ‘हड्डी नभाँचिएर गर्धन कसरी घुम्छ ? ’, उनले भने, ‘यसकारण रिपोर्ट पूरै शंकास्पद छ। यो रिपोर्ट कसैको दबाब र प्रभावमा तयार पारिएको हो।’

पोस्टमार्टम रिपोर्टमा डाक्टरद्वय महेश सिलवाल, सुनील पुनसहित अमिन शाह, रोहित दाहाल र औसरसिंह राठौरले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्। स्वास्थ्य सेवा कार्यालय प्रमुख रहेका डा. पुन रुकुम निवासी भएकाले ‘उनको षड्यन्त्रमा रिपोर्ट उल्टो बनाइएको’ पीडित पक्षको आरोप छ। डा. मल्लका नातेदार पीडक पक्ष भएकाले उनले आफू नदेखिएर पोस्टमार्टम रिपोर्ट कमजोर बनाउन खोजेको मृतक नवराज विकका बुवा मुनलाल विकको आरोप छ। अधिवक्ता तथा डा. मल्लका बुवा भक्तबहादुर मल्ल पीडकको पक्षमा वकालत गर्न रुकुम पुगेका छन्। डा. मल्ल भने पोस्टमार्टम कार्यमा संलग्न नभएको अस्पतालले जनाएको छ।

अस्पतालका डा. पुनले पीडित पक्षले लगाएको आरोप गलत भएको दाबी गरे। ‘हाम्रो रिपोर्टमा कज अफ डेथमा ड्रोइङ भन्ने छ। ड्रोइङ भन्नेबित्तिकै डुबेको भन्ने मात्रै अर्थ लाग्दैन। डुबाइएको भन्ने पनि हुन्छ’, उनले भने, ‘हामीले जे देख्यौं, त्यही लेख्यौं। हामीलाई न कसैको दबाब न त कसैको प्रभाव छ।’ अर्का डा. अमिन शाहले अनायासै विवाद गर्दा आफूहरू असुक्षित भएको बताए। आन्दोलनको नेतृत्व स्थानीय संघर्ष समितिले गरेको छ। प्रशासनले आन्दोलन फिर्ता लिन आग्रह गरे पनि समितिले झन् कडा बनाउँदै पोस्टमार्टम रिपोर्ट तयार गर्ने पाँच जना डाक्टरविरुद्ध मुद्दा हाल्ने तयारी थालेको छ। अन्नपुर्णपोष्ट दैनिक