काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधान हटाइनु विश्व इतिहासकै निकृष्ट र लाजमर्दोमध्ये एक राजनीतिक ठगीको घटनाको संज्ञा दिएका छन् ।
डा. भट्टराईले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भनेका छन्, ‘कुलिङ अफ पिरियड’ भनिने सरकारी कर्मचारीहरूले अवकाश वा राजीनामा पछि अर्को ठूलो सरकारी भाग खान २ वर्ष पर्खनुपर्ने संसदीय समितिले पारित गरेको प्रावधान जालसाजीपूर्ण ढंगले हटाएर संसद्बाट पारित गराएको घटना नेपाल मात्र हैन, विश्व इतिहासकै निकृष्ट र लाजमर्दोमध्ये एक राजनीतिक ठगीको घटना हुनुपर्छ !’
यस्तै, उनले उच्च तहका कर्मचारी र राजनीतिक नेतृत्वबीचको साँठगाँठका कारण यस्ता गम्भीर र जनविरोधी अपराधहरू सम्भव हुने गरेको दाबी गरे ।
‘यो देशमा कति ठूला राज्यदोहनकारी, राष्ट्रघाती र जनविरोधी अपराधहरू हुँदै आएका रहेछन् वा हुनसक्नेरहेछन् भन्ने यो जिउँदो र ताजा प्रमाण हो,’ उनले लेखेका छन् ।










