काठमाडौँ । युवापुस्ताका चर्चित गायिकाहरु एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा नकरात्मक कमेन्ट गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल नै सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् ।
उनीहरूले आफ्नो आत्मसम्मानमा ठेस पुर्याउने तथा अभद्र र छुद्र शब्दहरू प्रयोग गरेर कमेन्ट गर्ने प्रयोगकर्ताहरूलाई सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका हुन् ।
गायिका चौहानले प्रतिक्रियाको अत्याचार सहन नसकेर सार्वजनिक रुपमै ल्याएको र अब कानुनी प्रक्रियामा जाने तयारीसमेत रहेको एक भिडियो पोस्टमार्फत जानकारी दिएकी छन् ।
उनले बुधबार फेसबुकमा लेखेकी थिइन्, ‘कमेन्टको अत्याचार धेरै भयो । अब पालैपालो पोस्ट गर्छु ।’
यसरी सामाजिक सञ्जालबाटै खुलेआम सार्वजनिक गरिदिएपछि कतिपय प्रयोगकर्ताले भने चौहान र अधिकारीसँग माफी समेत मागेका छन् ।
माफी मागेको पनि उनीहरूले सामाजिक सञ्जालबाटै जानकारी गराएका छन् । कतिपयले गायिकाहरुको समर्थनमा प्रतिक्रिया दिएका छन् भने कतिपयले यसप्रकारको कार्यलाई सुहाउँदो नभएको टिप्पणी पनि गरेका छन् ।
यसरी आफूलाई आएको अभद्र गाली सार्वजनिक गरेका यी दुई गायिकाहरुमात्र नौला होइनन् । यसअघि अभिनेत्री ऋचा शर्मा, टिकटकर तथा मोडल प्रिन्सी–प्रिज्मा खतिवडाले पनि आफूलाई आएको अभद्र गालीसहितको स्क्रिनसट फेसबुकमा सार्वजनिक गरेका थिए ।










