६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान News Polar बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त News Polar समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी-फोटो फिचर News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह

ग्रिन्सबोरोको भव्य प्रस्तुतिसँगै नेपथ्यको अमेरिका यात्रा २०२५ पूरा

ग्रिन्सबोरोको भव्य प्रस्तुतिसँगै नेपथ्यको अमेरिका यात्रा २०२५ पूरा
अ+ अ-

ग्रिन्सबोरो (नर्थ क्यारोलाइना): कन्सर्ट सकिएपछि नेपथ्यका सदस्यहरूले मञ्चमा लामबद्ध भई अभिवादन गरिरहँदा दर्शकदीर्घामा उथलपुथल चलिरहेकै थियो । हलभरिको जमातले एक स्वरमा आवाज निकालिरहेको थियो, ‘नेपथ्य, नेपथ्य…।’

चर्को आवाजकै बीच सहयोगी कलाकारहरू ध्रुव, सुविन, नीरज, शान्ति र दिनेश झुकेर नमस्ते गर्दै मञ्चबाट बाहिरिए । दर्शकको माया देखेर भावुक गायक अमृत भने केही बेर अडिएर मात्र बिदा लिए । दर्शकदीर्घामा भने नारा लागिरहेकै थियो ।

शनिबार मञ्च र दर्शकदीर्घा बीचको हार्दिकता उत्कर्षमा पुगेकै क्षण नेपथ्यले नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहर मात्र होइन, यस वर्षको महिनादिन लामो सिंगो अमेरिका यात्राबाट बिदा लिएको छ ।

‘बिसवर्षे अमेरिका बसाइका क्रममा मैले विशाल रंगशालामा आयोजित देखि लिएर रङ्गमञ्चहरूका अनेक विश्वप्रसिद्ध प्रस्तुति हेर्दै आएको छु,’ फ्लोरिडाको सेन्ट अगस्टिन सहरबाट सात घण्टा लामो मोटरयात्रा गर्दै सपरिवार आएका पंकजनाथ शर्मा भनिरहेका थिए, ‘आजको नेपथ्य प्रस्तुतिजस्तो कार्यक्रम मैले अमेरिकामा विरलै अनुभव गर्न पाएँ ।’

यस्तै मिल्दोजुल्दो प्रतिक्रिया सामाजिक सञ्जालमा पनि देख्न पाइन्थ्यो । दर्शकमध्येकै चन्द्र गिरी बारम्बार फेसबुकमा लाइभ गरिरहेका थिए । कन्सर्ट उत्कर्षमा पुग्नै लाग्दा उनलाई  लाइभ गरिरहेर मात्र चित्त बुझेन र केही लाइन कोरेर पोस्ट गरे, ‘अमृत गुरुङ कवि, संगीतकार, गायक, फोटोग्राफर, फिल्म निर्माता र पैदलयात्री हुन् । नेपथ्यमार्फत उनको संगीतले शान्ति, न्याय र प्रकृतिका पक्षमा उनी भित्रको बलियो आस्थालाई पनि झल्काउँछ ।’ यति लेखिसकेपछि उनले फेरि कन्सर्टका लाइभ दृश्यहरू पोस्ट गर्न थाले ।

फ्लोरिडामै रहेर सूचना प्रविधिको क्षेत्रमा कार्यरत पंकजका अनुसार कन्सर्टले नेपथ्यसँग जोडिएका सम्झना, पहिचानका साझा सरोकार र स्वदेशको मायाजस्ता कुरा उजिल्याएको थियो भने अर्कातर्फ सिङ्गो प्रस्तुति अत्यन्त व्यवस्थित हुनाले दर्शक सन्तुष्ट बनेका थिए । ‘एकातिर श्यामश्वेत तस्बिरहरू देखाउँदै पुराना गीतहरू सुनाएर भावुक बनाउने क्रम चलिरहेको थियो भने अर्कातिर तीव्र गतिका गीतहरूको प्रस्तुतिलाई अझ प्रभावकारी बनाउन सुहाउँदो हिसाबको झिलिमिली इफेक्ट्सले ऊर्जा थपेको थियो,’ पंकजले भने, ‘यी सब गतिविधिले सांगीतिक माहोलको माधुर्यलाई पटक्कै छायामा नपारेर गीतको भावलाई अझ प्रभावशाली बनाइरहेको महसुस हुन्थ्यो ।’

गीतहरूका बीच-बीचमा गायक अमृतले दिने छोटा मन्तव्यमा पनि दर्शक उत्तिकै रमाएका देखिन्थे । ती शब्दहरूमा आफ्नो भावना मेल खाएको आनन्द उनीहरूको ताली र अनुहारको रङमा प्रतिविम्बित हुन्थ्यो । जस्तो कि ‘यो जिन्दगानी’ गीत गाइसकेपछि अमृतले आह्वान गरेका थिए, ‘महिनामा एक दिनको कमाइ कम्तीमा आफ्नै गाउँठाउँको यस्तो बच्चाको पढाइका लागि छुट्याइदिनुस्, जसले शिक्षाको उज्यालो देख्न पाएको छैन र जसले तपाईंको सानो योगदानबाट भविष्यमा देशका लागि केही गर्न सकोस् ।’

प्रतिक्रियामा हलभरिका दर्शक उत्साहसहित चिच्याएका थिए । यता अमृत पनि थामिँदैन थिए र थप्थे, ‘धन हुनेले थुपार्ने हो, मन हुनेले दिने हो ।’ दर्शक अझ उत्साहित बन्न पुगे ।

यस्ता मन्तव्यका क्रममा उनले बिदेसिएका आफन्तसँगको अनुभव पनि सुनाए । जस्तो कि शनिबार पनि उनले ‘रेश्शम’ गीत सकिने बित्तिकै भने, ‘यहाँ आएको बेला अस्ति एक जना साथीकी छोरीको घर गएको थिएँ । छोरीको सानो बाबुले त अंग्रेजी मात्र बोल्दो रहेछ । छोरीज्वाइँ पनि अंग्रेजीमै कुरा गर्ने । स्कुल जान थालेपछि अलमल बढेर अंग्रेजी मात्र बोल्न लगाएका रे । जबकि बच्चाहरूले त एकैपटकमा धेरै भाषा सिक्न सक्छन् । सकेसम्म मातृभाषा पनि सिकाउनुस् । होइन भने कम्तीमा नेपाली त सिकाउनै पर्छ । हामीलाई एकताबद्ध र मजबुत राख्ने नै राष्ट्रिय भाषाले हो ।’

आफ्नो भनाइलाई थप सान्दर्भिक बनाउँदै अमृतले बसाइँ सरेर गएका नेपाली धेरै स्थानबाट धपाइएर स्वदेश फर्किनुपरेको दृष्टान्त सुनाए । ‘केही भवितव्य परेर लखेटिनुपर्‍यो भने पुग्नुपर्ने त्यही हिमालको काख नै हो । भाषा एउटा मात्र जानिरहे बच्चा उसको जरासँग जोडिइरहन्छ र भोलि आफ्नो पितापुर्खाको ठाउँ सम्झेर फर्किएछ भने पनि दु:ख पाउँदैन ।’

यो सुनेर भावुक भई ताली पिट्नेमा ग्रिन्सबोरोकै होन्डा जेट म्यानुफ्याक्चरिङ प्लान्टमा इन्जिनियर रहेका दिलिप अर्याल पनि थिए । ‘नेपथ्यको कन्सर्टमा आउँदा मनोरञ्जन मात्र लिइँदैन, अमृत दाइले बीच-बीचमा दिने मन्तव्य पनि उत्तिकै आनन्ददायक हुन्छन्,’ युट्युबमा नेपथ्यका गीतहरू सुनेर रमाउने चार वर्षको छोरा दिभांशलाई साथै लिएर आएका उनी भन्दै थिए, ‘कन्सर्ट अझै लामो समय चलिदिए हुन्थ्यो भन्ने लाग्दो रहेछ ।’ छेउमै उभिएका दिभांश भने चन्द्रसूर्य अङ्कित झन्डा ओढेर रमाइरहेका थिए ।

दर्शकदीर्घामै रहेर ताली पिट्दै झुमिरहेकामा गायक मोहन भुसाल पनि थिए । ‘एउटा संगीतकर्मीका रूपमा मैले यस कार्यक्रमबाट धेरै सिक्न पाएँ । संगीत, मनोरञ्जन, सद्भाव र सन्देशको गज्जबको सम्मिश्रण । यो कार्यक्रम अन्तर्रास्ट्रिय स्तरको पाएँ । नेपाली कार्यक्रमको स्तरलाई यसले अर्कै उचाइमा पुर्‍याएको अनुभव भयो,’ उनी भन्दै थिए, ‘दुई घण्टा बितेको थाहै पाएनौँ ।’

उनी डेढ घण्टाको दूरीमा रहेको राली सहरबाट सपत्नी आएका थिए ।

उनीसँगै आएका सन्दीप केसी दम्पती नेपथ्यलाई बर्दियाको गुलेरियामा सन् २०१४ मा हेरेको सुनाउँदै थिए । ‘त्यो बेला गुलेरियामा घडी देखाएर ठीक समयमा सुरु गरेको याद छ, आज पनि समयमै पुग्नुपर्छ भनेर सबैलाई सचेत गरायौँ र समयमै आइपुग्यौँ,’ उनले भने, ‘ब्यान्डको अनुशासन र व्यवस्थापकीय पक्ष अनुसरणीय छ ।’

कन्सर्टको भव्यता देखेर ग्रिन्सबोरोका दर्शक मात्र होइन, आयोजनास्थल ‘पिडमोन्ट हल’ का व्यवस्थापक कारा टायरी पनि दङ्ग थिइन् । ‘हलभरिका दर्शकलाई त्यस्तरी रमाइलो पार्ने कन्सर्ट ठ्याक्कै भनेकै समयमा सुरु भएर भनेकै समयमा अन्त्य हुनु अझ गज्जब लाग्यो, जुन यहाँ हत्तपत्त देख्न पाइँदैन,’ उनले भनिन्, ‘फेरि आउनुस्, तपाईंहरूलाई स्वागत छ ।’

अमेरिकाको यस राज्यमा नेपथ्यलाई पहिलोपटक प्रस्तुत गराउने आयोजक टोलीका विक्रम श्रेष्ठ पनि शनिबारको भव्य कन्सर्टबाट हौसिएका देखिन्थे । ‘पूरै अनलाइन बुकिङबाट यति ठूलो नेपाली कार्यक्रम भएको यो नै हाम्रो पहिलो अनुभव हो । हाम्रो टिमले अपेक्षा गरेको भन्दा उत्कृष्ट प्रस्तुति भयो,’ उनी भन्दै थिए, ‘यति व्यवस्थित प्रोडक्सन दिन सक्ने नेपथ्यको व्यवस्थापक नेपालयको टिमसँग सहकार्य अनुभव मेरा लागि कार्यक्रम व्यवस्थापनको पाठशाला जस्तै भएको छ ।’

यो प्रस्तुतिसँगै नेपथ्यको सातौँ अमेरिका यात्रा सम्पन्न भएको छ । यो वर्ष महिनादिन लामो शृंखलाबद्ध यात्रामा ब्यान्ड अस्टिन, सियाटल, लस एन्जलस, पिट्सबर्ग, सिकागो, बोस्टन हुँदै ग्रिन्सबोरो आइपुगेको हो । यस यात्रालाई सफलताका साथ सम्पन्न गर्ने कलाकार, व्यवस्थापक, प्राविधिकसहितको १४ सदस्यीय टोली यसै साता स्वदेश फिर्नेछ ।

फोटोहरु: मनसून श्रेष्ठ / नेपालय