२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै News Polar भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनबारे सबै जिल्लामा अनुगमन गरिने News Polar हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री तिमिल्सिना News Polar मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति News Polar बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या News Polar काठमाडौं महानगरले सम्यक महादान परम्परालाई पुनर्जीवित गर्ने News Polar खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित News Polar निर्माण व्यवसायी महासंघद्वारा पूर्वअध्यक्ष गौचनको नवौँ स्मृति सभा News Polar काठमाडौं जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे तारेख News Polar प्रसारण शुल्क महँगो भएको भन्दै पुनर्विचार गर्न इप्पानको माग News Polar लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनमा आउने चरणमा News Polar कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो News Polar भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन News Polar हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित News Polar पशुपति शर्मा लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध News Polar दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा कर्जा दिइने, दिगो ऊर्जा कोष स्थापना गर्ने प्रस्ताव News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

संयम गुमाएको पत्रकारिता, लक्ष्मण रेखा भुलेका ‘सम्पादक’ !

संयम गुमाएको पत्रकारिता, लक्ष्मण रेखा भुलेका ‘सम्पादक’ !
अ अ+ अ-

सधैँजसो बहस र चर्चा चुलिने गरेको नेपाली पत्रकारितामा यतिखेर पनि एउटा नयाँ बहस थपिएको छ । नेपालका विभिन्न मिडियामा पत्रकारिता गरिसकेका वरिष्ठ पत्रकार दिलभूषण पाठकले होटल हिल्टन कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र जयवीरले किने, उनको संसारका कतिपय देशमा ठूलो लगानी छ भन्नेजस्ता ‘अप्रमाणित’ सूचना समेटिएको आफ्नो ब्लगबाट प्रसारित भिडियोले यो पछिल्लो चर्चा चलाएको हो ।

यो भिडियोले आफ्नो मानमर्दन भएको र आफ्ना विरुद्धमा हुँदै नभएको समाचार प्रचार गरिएको भनेर पछिल्लो समय युट्युव च्यानलका प्रस्तोता पाठकविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएपछि उनीविरुद्ध पक्राउ पुर्जी पनि जारी भएको छ ।

सुरुका दिनमा जब पत्रकार पाठक बिरुद्ध पक्राउ पूर्जी जारी भयो भन्ने समाचार आयो त्यसपछि सिंगो नेपाली पत्रकारिता जगत नै एक किसीमले उत्तेजित नै भयो । पहिलो थियो‐ यसरी समाचार लेखेकै आधारमा कुनै पत्रकारलाई पक्राउ पूर्जी जारी गर्नु हुँदैन । यसैमा पत्रकारिता जगतक एक प्रकारकाले एकजुट पनि देखिएको थियो । समाजका विभिन्न क्षेत्र र बर्गका नागरिकहरुले पनि पत्रकारहरुको यही धारणा पछ्याए पनि ।

अनि अर्को तर्क थियो‐ पत्रकारलाई कारबाही गर्ने त प्रेस काउन्सिल छँदै थियो नि । त्यहाँ नगएर किन सत्ता र शक्तिको प्रयोग गरेर प्रहरीकोमा पुगेको ?

तर वास्तविकता त्यस्तो थिएन । किनभने त्यो भिडियोमा पनि पत्रकारिताका मूल्य मान्यताको पालना गरिएको थिएन । त्यहाँ कतै पनि समाचारको कुनै स्रोत उल्लेख गरिएको छैन । २५ अर्बमा सो होटल देउवाले किनेको भनेर भनिएको छ तर होटलले होइन भनेर विज्ञप्ति निकालेको छ । तर भिडियोले भन्छ‐ होटलले होइन भने पनि त्यहाँ होटल अब जयबीरकै भयो भनिएको छ । भिडियोमा विभिन्न देशमा जयबीरको लगानी छ भनिएको छ तर त्यसको प्रमाण चाहिँ ‘बताइन्छ’ भनेर टुंग्याइन्छ । न कतै प्रमाण छ र नत स्रोत नै ।

फेरि अर्को कुरा जसरी मिडियाले पीडितलाई किन प्रेस काउन्सिल नगएको भनेका थिए, त्यो तर्कको आधार पनि क्षणभरमै भत्किएको देखियो । किनभने त्यो कुनै दर्ता भएको र राज्यका प्रचलित नीति, नियम र कानुन बमोजिम दर्ता नभएको च्यानल नभएकोले प्रेस काउन्सिलले उजुरी लिने कुरा पनि भएन ।

पीडितका तर्फबाट उनका अधिवक्ता केशव जोशीले पनि आफूहरु प्रेस काउन्सिलमा नै गएको तर पनि सो संस्थामा पाठकको उक्त ब्लग दर्ता नभएकाले उजुरी लिन नसकिने बताएपछि यता प्रहरीमा गएको बताएका छन् ।

त्यसपछि भने पत्रकार र आमा मानिसले जिब्रो काडे । उनीहरुले पाठकले यस्तो भिडियो बनाएका होलान् र प्रशारण गरेका होलान् भन्ने कल्पना नगरेको बताउन थाले । त्यतिमात्र होइन कि उनको त्यो ब्लग सरकारी निकायमा दर्ता नै छैन भन्ने कुराको पनि उनीहरुले अनुमान गरेका थिएनन् । झन् यो वास्तविकता बाहिर आएपछि त समाजमा आफ्नो नाम चलेको छ भन्दैमा यसरी कानुन नै हातमा लिने र कहिँ कतै दर्ता नै नगरी यस्ता संवेदनशील भिडियोहरु कसरी बनाउन सकेको भनेर पनि प्रतिक्रिया जनाइरहेका छन् ।

यसरी यस पटक चलिरहेको चर्चाले खासगरी दुई प्रमुख विचारलाई साझा गरिदिएको छ । पहिलो हो, पत्रकारिता के हो र सञ्चारकर्म के हो ? अनि दोस्रो हो, पीडितले कानुनी कारबाही कसरी खोज्ने, राज्यका कानुन के उपलब्ध छन् भन्ने ।

पहिलोमा पत्रकार र सबै सर्वसाधारणले बुझ्नुपर्ने कुरा पत्रकारिता र सञ्चारकर्मका बीचको फरक हो । पत्रकारिताको परिभाषाले राज्यका सम्बद्ध निकायले तोकेका र पत्रकारहरु आफैले अनुमोदन गरी सबैका लागि निर्माण गरेका आचारसंहिताको पालना गरी तयार पारेको सामग्री भन्ने बुझिन्छ । यसले सामान्यतया विश्वकै पत्रकारहरुले पछ्याउने एबिसी (एक्युरेसी,ब्यालेन्स र क्रेडिबिलीटी) लाई पछ्याएकै हुनुपर्दछ । यी कुनै पनि वास्ता गरिएको छैन ।

त्यसपछि अर्को पक्ष हो, त्यसो भए पीडितले कानुनी उपचार कसरी खोज्ने त ? यो प्रश्नको निर्विवाद उत्तर प्रेस काउन्सिल नै हो । तर त्यहाँ जाने बाटो भिडियो प्रस्तोता पाठकले आफ्नो उक्त प्लेटफर्म नै दर्ता नै नगरिदिएबाट बन्द गरिदिएका छन् । त्यसपछिका दुई विकल्प अदालत र साइबर ब्युरो हो ।

यहाँ तर्क के गर्न सकिन्छ भने यदि त्यो भिडियो नियमसंगत छ र पत्रकारिताको मूल्य मान्यता अनुसार नै छ भने उजुर बाजुर गर्न नै परेन, पाइएन । तर यदि छैन भने पीडितले त आफूलाई जुन बाटो सजिलो लाग्छ त्यो नै रोज्ने हो । त्यसमा निर्णय गर्ने अधिकार पीडितकै हो ।

यही बहसमा फेरि हिजोदेखि खोज पत्रकारिता केन्द्रको ‘सौजन्य’ मा काठमाडौँ बाहिरै बास बसेका ३५ ‘सम्पादक’ ले जारी गरेको भनिएको संयुक्त विज्ञप्तिले पनि अर्को समस्या थपिदिएको छ ।

उनीहरुको भनिएको हस्ताक्षर नै नभएको विज्ञप्तिले जसरी पाठकको बचाउ गरिएको छ त्यसमा पनि त्यही भिडियोलाई नै सही ठहराएर पाठकको पक्राउको लागि जारी गरिएको पक्राउ पूर्जी फिर्ता लिनुपर्छ भनेर गरिएको जिकीर अर्को बहसका रुपमा जबर्जस्त स्थापित हुन खोज्दैछ ।

यसले जन्माएका अनेकन मध्येको एउटा प्रश्न यो छ कि, के त्यसो भए हामीले खोजेको र हामीले गर्नुपर्ने पत्रकारिता यही हो त ? हामीजस्ता अनलाईन मिडियाहरुले हरेक आर्थिक बर्षको अन्त्यमा सूचना विभाग र प्रेस काउन्सिल, कम्पनी रजिस्टार कार्यालयदेखि कर कार्यालय हुँदै दश ठाउँमा फाइल डुलाएर यो सास्ती किन ब्यहोर्नुपर्यो त र? यदि कुनै व्यक्तिलाई मिडिया दर्ता गर्नु पर्दैन भने अरुलाई पनि त पर्दैन होला र? के ३५ जना ‘सम्पादक’को यो विज्ञप्तिले हामीलाई पनि सजिलो बनाउला त ? होइन भने त एउटा नेपाली उखान अगुवा नै बाटोमा… जस्तै भएन र ? अगुवाहरुबाट हामीले निकाय के पायौँ त ? उनीहरुका विज्ञप्तिले समस्या थप्ने होइन, समाधान दिनुपर्छ ।

फेरि देशमा ३५ जना मात्र सम्पादक हुन् त ? यो भन्दा अरु अर्थात देशैभरिका अरु सम्पादक र पत्रकारले उहाँहरुकै विज्ञप्तिलाई गायत्री मन्त्र मान्नुपर्ने हो ? अनि मानिसले आफूले गल्ती चाहिँ गर्ने तर उसैले मलाई यो कानुन बमोजिम मात्र कारबाही गर भन्ने हक राख्छ कि राख्दैन ? त्यही भाषा र आसयलाई अनुमोदन गरेर विज्ञप्ति प्रकाशन गर्ने पत्रकारको कामले उनीहरुको कपाल मात्र पाकेको तर देशलाई र मुलुकको पत्रकारितालाई सही बाटो डोर्याउने काम चाहिँ गर्न नसकेको भनेर टिप्पणी यसै कारणले अहिले आइरहेको छ ।

प्रकाशन र प्रशारणको बिषयमा केही समय अघि सिधाकुराका प्रकाशक युवराज कंडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाऽ नेपाली पेनका सम्पादक दिपेश केसीको हकमा भने सम्पादकहरु मौन रहे । त्यस बेला र यस पटक परिभाषा परेको हो कि एक सहि अर्को गलत भएको हो प्रश्न कायम छ ।

छोटो र मिठो भाषामा सबैले कानुनको पालना गर्नुपर्छ, कानुन सबैलाई बराबर हो, मर्यादित पत्रकारिता गर्नुपर्छ र यदि कुनै व्यक्ति पत्रकारिताकै कारणले पीडित बन्छ भने राज्यको कुनै पनि कानुनको प्रयोग गरेर न्याय खोज्न स्वतन्त्र छ भन्नुपर्नेमा दशथरिले दशतिर भाषा घुमाउने र सम्पादकहरुका झुण्ड झुण्ड बोकेर डाँडाकाँडा उक्लिने गर्ने हो भने पत्रकारिताले पनि संयम गुमाउँछ अनि सम्पादकहरुले पनि लक्ष्मण रेखा कुल्चिएको अर्थ लाग्ने निश्चितै छ ।