काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले महासंघका पूर्वअध्यक्ष स्वर्गीय शरदकुमार गौचनको नवौँ स्मृति सभा सम्पन्न गरेको छ।
शुक्रबार महासंघको प्राङ्गणमा आयोजित स्मृति सभामा गौचनले निर्माण व्यवसाय क्षेत्रको विकास र विस्तारमा पुर्याएको योगदानको स्मरण गरिएको हो।

स्मृति सभामा महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण व्यवसाय क्षेत्रमा गौचनको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले गौचनले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाको स्मरण गर्दै निर्माण व्यवसाय क्षेत्रमा उहाँको अभाव सधैँ महसुस भइरहने उल्लेख गर्नुभयो।
त्यसैगरी, महासंघका पूर्वअध्यक्ष तथा सल्लाहकार जयराम लामिछानेले निर्माण व्यवसायीहरूको विकास र हितका लागि गौचनले निरन्तर त्याग गरेको बताउनुभयो। गौचनको जीवन र योगदानबाट वर्तमान निर्माण व्यवसायीहरूले शिक्षा लिनुपर्ने उहाँको भनाइ थियो।
गौचनको २०७४ असोज २३ गते गोली हानी हत्या गरिएको थियो। नयाँ बानेश्वरस्थित आफ्नो निवासबाट अनामनगरस्थित महासंघको कार्यालय आउने क्रममा उहाँमाथि गोली प्रहार भएको थियो।
निर्माण व्यवसाय क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका गौचनको योगदानको स्मरण गर्दै महासंघले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको जनाएको छ।







