२१ मंसिर २०८२, आईतवार
,
Latest
पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सुरु



अ+ अ-

काठमाडौँ ।युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखि सुरू भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार विभिन्न कार्यक्रमसहित एक भव्य समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले ओलम्पियन जुडोकी देवु थापालाई ओलम्पिक टर्च हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

त्यसपछि ओलम्पियन देवु, भारोत्तोलनका ओलम्पियन कमलबहादुर अधिकारी, ओललम्पियन एथलेटिक्सकी सरस्वती चौधरी र ओलम्पियन पारा तेक्वान्दोका भरतसिंह महताले ओलम्पिक टर्च पालैपालो ट्रयाकमा परिक्रमा गराएका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन राष्ट्रपति पौडेलले शिक्षा र खेलकुदबीच निकट सम्बन्ध रहेको बताउनुभएको छ ।

समारोहलाई सम्बोधन गर्दै उहाँले शिक्षाको ज्ञान, चेतना र बौद्धिकता एवम् खेलकूदको अनुशासन, अभ्यास र उत्साहको गुणले भोलिको कर्णधार नेपाली युवालाई सक्षम, सबल र योग्य बनाएर राष्ट्र निर्माणको पहरेदारकारुपमा उभ्याउन योगदान दिने बताउनुभयो ।

राष्ट्रपति पौडेलले बालबालिकाको शारीरिक, मानसिक र चौतर्फी व्यक्तित्व विकासको लागि खेल जरुरी रहेको भन्दै यही कारणले राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भनिएको स्पष्ट पार्नुभयो ।

उहाँले खेलाडी उत्पादनको प्रमुख र प्रारम्भिक जग भनेकै गाउँ र विद्यालय भएको बताउदै भन्नुभयो–‘यहीबाट छानिएका उत्कृष्ट र योग्य बालबालिकाले राष्ट्रिय खेलाडीका रुपमा उभ्याउँदै अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुग्ने बाटो तय गर्छन् । त्यसैले स्थानीय स्तरमा पूर्वाधार, खेलसामग्री, दक्ष प्रशिक्षक र प्रतियोगताका अवसर बढाएर खेलप्रतिको आकर्षण बढाउनुपर्दछ ।’

राष्ट्रपति पौडेलले नेपालमा खेल पर्यटनको प्रशस्त संभावना रहेको भन्दै अनुपम भौगोलिक विशेषता अनुसारका साहसिक खेलप्रति विश्वजगतको आकर्षणलाई मध्यनजर गरि यसबाटै देशको अर्थतन्त्रमा योगदान दिनेतर्फ राज्यले सोच्नुपर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालका परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकियो भने एकातर्फ देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने र हाम्रा खेलाडीले थप कीर्तिमान पनि राख्न सक्ने बताउनुभयो ।

उहाँले मुलुकलाई विश्वसामु चिनाउने सजिलो माध्यम खेलकुद भएको भन्दै क्रिकेट, पारा ओलम्पिक, हकीलगायतका खेलमा अन्तर्राष्ट्रियस्तरमा नेपालले पछिल्लो समयमा देखाएको उत्साहजनक सहभागिता र नतिजा मुलुकका लागि खुशीको विषय भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले प्रत्येक वर्ष खेलका प्रतिस्पर्धा र गतिविधि बढ्दै गएपनि पूर्वाधार, अभ्यास, प्रशिक्षक, सुविधा र अन्तर्राष्ट्रिय तालिमको अभाव चुनौती बनेको भन्दै यसका लागि देशभित्रै बढी भन्दा बढी पूर्वाधार, प्रतियोगिता र प्रशिक्षण बढाउनुपर्नेमा जोड दिनुभयो ।

उद्घाटनका अवसरमा सातै प्रदेशका टिम, निर्णायक, विभिन्न भेषभुषा, कला र संस्कृति झल्कने किसिमका पहिरनसंगै मार्च मास्ट गरिएको थियो । सो अवसरमा सुदूरपश्चिम प्रदेशकी कबड्डी खेलाडी श्रृष्टि केसीले खेलाडीको तर्फबाट र कराते प्रकाशमोहन धौबडेलले निर्णायकको तर्फबाट सपथ ग्रहण गरेका थिए ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रपति खेलकुद विद्यालय तहबाट नै खेलाडीलाई प्रोत्साहित गर्ने महत्वपूर्ण माध्यम भएको बताउदै आगामी दिनमा प्रतियोगितालाई अझ परिस्कृत रूपमा विकास गरेर आयोजना गरिने विश्वास व्यक्त गरे ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले गणतन्त्र नेपालको स्थापनापछि ७ सय ५३ वटै स्थानीय तहबाट खेलाडी छनोट गरेर प्रतिभावान् खेलाडी उत्पादनको माध्यमका रुपमा राष्ट्रपति रनिङ शिल्डको सुरूआत भएको बताए । उनले विभिन्न चुनौतीकाबीच प्रदेश टिम सहभागी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्बन्धित सबैलाई धन्यवाद दिए ।

सदस्य–सचिव घिसिङको कार्यकालमा यो चौथो राष्ट्रपति रनिङ सिल्ड हो । उनको कार्यकालमा १२ औं संस्करणदेखि नियमित रुपमा राष्ट्रपति रनिङ सिल्ड हुँदै आएको छ ।

सात प्रदेशबाट ६ सय ८६ खेलाडीले कुल ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल समावेश छन् । प्रतियोगिता शुक्रबारसम्म जारी रहने छ ।