३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्

खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित विचौलियाहरूले प्रहरी प्रधान कार्यालय नै कब्जा गरेको आरोप लगाउनुभएको छ ।

बिहीवार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले प्रहरीको स्रोत–साधन खरिद प्रक्रियामा अनियमितता भइरहेको दाबी गर्दै यस्तो आरोप लगाउनुभएको हो । उहाँले समितिले प्रहरीको स्रोत–साधन खरिदमा भएका भनिएका अनियमिततासम्बन्धी माग गरेका कागजात उपलब्ध भए–नभएकोबारे जानकारी गराउन समितिका सभापतिलाई आग्रह गर्नुभयो ।

समितिको यसअघिको बैठकले प्रहरीको स्रोत–साधन खरिदसम्बन्धी कागजात १५ दिनभित्र उपलब्ध गराउन प्रहरीलाई निर्देशन दिएको थियो । तर, त्यसको जवाफ नआउँदै प्रहरीले करोडौँ रुपैयाँका टेण्डर आह्वान गरेको भन्दै सांसद सुनारले खरिद प्रक्रियामाथि प्रश्न उठाउनुभयो ।

उहाँले यसअघि समितिमा उठाएका प्रश्नमा आफू अडिग रहेको बताउँदै आफ्नो अभिव्यक्तिबाट कसैको मानमर्दन भएको भए अदालत जान चुनौती दिनुभयो । आफूले उठाएका प्रश्नको जवाफ दिन र कानुनी प्रक्रियाको सामना गर्न आफू तयार रहेको उहाँको भनाइ थियो ।

सुनारले भन्नुभयो, “हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन ? फेरि अझै बीचमा प्रहरीले करोडौँको टेण्डर आह्वान गरेको छ । निश्चित विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् ।”

उहाँले सार्वजनिक लेखा समितिमा सांसदहरूबीच हुने बहस र व्यवहारप्रति पनि आपत्ति जनाउनुभयो । कुनै विषय नियमावलीविपरीत भए समितिका सभापतिले तत्काल रुलिङ गर्नुपर्ने भन्दै एक सांसदले अर्को सांसदलाई धम्क्याउने, घेराबन्दी गर्ने वा हतोत्साहित गर्ने कार्य स्वीकार्य नहुने बताउनुभयो ।

जनताबाट निर्वाचित प्रत्येक सांसदले समितिमा आफ्ना प्रश्न राख्ने सार्वभौम अधिकार राख्ने उहाँको भनाइ थियो । भ्रष्टाचारको गहिराइसम्म पुग्न सामान्य ढंगले प्रश्न गरेर सम्भव नहुने भन्दै सुनारले समितिमा उठाइने प्रश्न निर्मम, गम्भीर र गहिरो हुनुपर्ने बताउनुभयो ।

“एउटा सांसदले अर्को सांसदलाई हतोत्साहित गर्ने, धम्क्याउने, घेराबन्दी गर्ने काम मान्य छैन । बोल्दै गरेको वक्ता पनि त्यहीँ निर्वाचित सांसद हो, जो जनताबाट अनुमोदित भएर आएको मान्छे हो । यहाँ प्रत्येक सांसद सार्वभौम छ,” उहाँले भन्नुभयो ।

सुनारले आफू समितिमा रहँदासम्म भ्रष्टाचार र खरिद प्रक्रियासम्बन्धी विषयमा कडा प्रश्न उठाइरहने बताउनुभयो । आफ्नो प्रश्न गर्ने शैलीप्रति असन्तुष्टि भए सभापतिले समितिबाट हटाउन सक्ने भन्दै आफू त्यसका लागि पनि तयार रहेको उहाँको भनाइ थियो ।

“पहिलेको शैलीमा भ्रष्टाचारको छानबिन हुँदैन । प्रश्न निर्मम हुन्छ, गम्भीर हुन्छ, गहिरो हुन्छ, तल्लैबाट हुन्छ,” उहाँले भन्नुभयो ।

उहाँले अनियमितता र भ्रष्टाचारविरुद्ध सार्वजनिक लेखा समिति निर्मम रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो ।

यसअघि सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनार र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच प्रहरीको पोशाक खरिद प्रक्रियामा अनियमितता भएको विषयमा विवाद भएको थियो । सोही विषयमा सांसद सुनारले बिहीवारको बैठकमा आफ्नो धारणा राख्दै आफूले उठाएका प्रश्नमा कुनै कमजोरी नरहेको दाबी गर्नुभएको हो ।