३ भाद्र २०८३, बुधबार
,
Latest
साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुक्तिनाथ धर्मशाला स्तरोन्नति गरिँदै



अ+ अ-

मुस्ताङ । मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्रीको सेवासुविधाका लागि निर्माण गरिएको मुस्ताङस्थित बारागुङ मुक्तिक्षेत्र–१ पुराङ रानीपौवाको २१८ वर्ष पुरानो धर्मशालाको स्तरोन्नति सुरु गरिएको छ । राणा शासनको समय कालखण्डमा तत्कालीन राजा रणबहादुर साहकी माइली श्रीमती सुवर्णप्रभाले मुक्तिनाथ दर्शन गर्ने क्रममा त्यहाँ धर्मशाला निर्माण गर्नुभएको थियो ।

रानी सुवर्णप्रभाले परिवारको सुख, शान्तिको कामना गर्दै मुक्तिनाथ दर्शन गर्न आउने दर्शनार्थी भक्तजनलाई खान र बस्नको असुविधा नहोस् भन्ने उद्देश्यले धर्मशाला स्थापना गर्नुभएको थियो । रानीद्वारा धर्मशाला निर्माण गरिएकाले उक्त धर्मशालालाई रानीपौवा धर्मशाला नामकरण गरिएको मुक्तिनाथ रानीपौवा धर्मशाला रेखदेख तथा व्यवस्थापनमा खटिनुभएका स्वामी भरत कोइरालाले बताउनुभयो ।

उहाँका अनुसार प्राचीन शैलीमा ढुङ्गा र माटोले निर्माण गरिएको दुईतले रानीपौवा धर्मशालामा २१ वटा भक्तजन बासबस्ने कोठा छन् । “धर्मशाला पुरानो र जीर्ण हुँदै गएपछि यहाँ बास बस्ने भक्तजन, साधुसन्त र पुजारीलाई समस्या पर्दै आइरहेको थियो । भक्तजनको समस्यालाई मध्यनजर गर्दै जगद्गुरु स्वामी कमलनयनाचार्यको पहलमा धर्मशालाका मर्मत सुरु गरिएको हो”, उहाँले भन्नुभयो ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र पुरातत्व विभागको लागत साझेदारीमा रु ७४ लाख बजेटमार्फत मुक्तिनाथ धर्मशाला मर्मत सुरु गरिएको निर्माण कम्पनीका प्रतिनिधि रमेश गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार धर्मशालाको साविक सौन्दर्यता नबिग्रिने गरी स्तरोन्नति भइरहेको छ ।

धर्मशालाको लिपपोत, रङरोगन, शौचालय र बाथरुम, झ्यालढोका मर्मत गर्नुका साथै धर्मशालाको छतमाथि काठको फलेक बिछ्याएर अलकत्रा राखी वातावरणमैत्री प्लास्टिकसहित सख्खर माटो बिछ्याउने काम भइरहेको गुरुङले उल्लेख गर्नुभयो ।

“धार्मिक पुण्यकार्यको ठेक्का लिएको हुँ, नाफाभन्दा पनि बजेट अनुसारको गुणस्तर कायम गर्ने पक्षमा छौँ”, उहाँले भन्नुभयो, “सम्झौताअनुसार सतप्रतिशत हुनेगरी काम गरिरहेका छौँ । यो मुक्तिनाथको दर्शनार्थीका लागि भएकाले सेवा गर्ने मौका पनि हो ।”

व्यवस्थापनमा खटिनुभएका स्वामी कोइरालाले रानीपौवा धर्मशाला पुरानो र जीर्ण हुँदा तीर्थयात्रा, साधुसन्त र पुजारीलाई खान र बस्न समस्या भएपछि स्तरोन्नतिको पहल थालिएको बताउनुभयो ।

“धर्मशालाको छत माथिबाट पानी चुहिने गथ्र्यो, शौचालय र बाथरुमसमेत जीर्ण थिए”, उहाँले भन्नुभयो, “सम्झौताअनुसार ठेकेदारले रङरोगन र मर्मतको काम तीव्र गतिमा गरिरहेका छन् । मर्मतपछि यहाँ आउनेलाई भक्तजनलाई बास बस्न सहज हुनेछ ।”

धर्मशाला मर्मतको काम दुई सातादेखि भइरहेको स्वामी कोइरालाले जानकारी दिनुभयो । “असार मसान्तसम्म सम्पन्न काम सक्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ । अहिले रङरोगन, भित्ता लिपपोत र छतलाई स्तरोन्नति गरिरहेको छ”, उहाँले भन्नुभयो ।

रानीपौवा धर्मशाला रणबहादुर साहकी माइली श्रीमती सुवर्णप्रभाले निर्माण गरेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुुवेदीले जानकारी दिनुभयो । “मुक्तिनाथ क्षेत्रको छ रोपनी १२ आना क्षेत्रफलमा रानीले प्राचीन शैलीमा भक्तजनको आवास र भोजनको प्रबन्ध मिलाउन धर्मशाला स्थापना गर्नुभएको हो”, उहाँले भन्नुभयो ।

यहाँ बाह्य धार्मिक पर्यटकका साथै म्याग्दी, पर्वत, स्याङ्जालगायत जिल्लाबाट भक्तजन आउने पुजारी सुवेदीले उल्लेख गर्नुभयो । मुक्तिनाथ र धर्मशालाका लागि खाद्यान्नलगायत अन्नबाली उत्पादन गर्न रानी सुवर्णप्रभाकै पालामा सदावर्त गुठी स्थापना भएको उहाँले जनाउनुभयो । यसरी गुठीको जग्गा सदावर्त गुठीले रानीपौवा धर्मशालामा चढाउने गरेको उहाँले बताउनुभयो ।

“मुक्तिनाथ मन्दिर र धर्मशालाका नाममा म्याग्दी, पर्वत र स्याङ्जामा रहेका गुठी जग्गामध्ये कतिपय रैथानेमा परिणत भइसकेको छ भने कतिपय सदावर्त गुठीको नाममा छ”, पुजारी सुवेदीले भन्नुभयो । उहाँका अनुसार सदावर्त गुठीको नाममा रहेको जग्गा कमाउने व्यक्तिले दुई दशकदेखि अधियाको भागबण्डा बुझाउन छोडिसकेका छन् ।

विसं २०४६ सम्म म्याग्दीमा उत्पादन भएको सदावर्तको अन्नबाली बुझाउने गरिएको भन्दै त्यसपछि क्रमश: जग्गा कमाउने व्यक्तिले अन्नबाली बुझाउन छोडिसकेका उहाँले जानकारी दिनुभयो । रासस