६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान News Polar बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त News Polar समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी-फोटो फिचर News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह

ऐतिहासिक बन्यो सिकागोको पहिलो नेपथ्य साँझ

ऐतिहासिक बन्यो सिकागोको पहिलो नेपथ्य साँझ
अ+ अ-

सिकागो (अमेरिका): घामको उज्यालो छँदै सेफिल्ड एभिन्यु वरपर चहलपहल सुरु भइसकेको थियो । भिक्टोरिया कालखण्डलगत्तै सन् १९१२ को फ्रान्सेली पुनर्जागरण शैली बोकेर उभिएको ‘भिक (भिक्टोरिया) थिएटर’ बाहिर लामबद्ध दर्शक नेपाली लोकरक अनुभव गर्न व्यग्र देखिन्थे । जब ७ बजे ढोका खुल्यो उल्लासका साथ उनीहरू हलभित्र छिरे । ठीक ८ बजे चर्को आवाज र बत्तीको झिलिमिलीसहित सुरु भयो नेपथ्य कन्सर्ट ।

अर्केस्ट्राका हलहरूदेखि लिएर ब्रोडवेका थिएटरसम्म धुम मच्चाएको सिकागो आफैँमा कला र संस्कृति प्रस्तुतिका लागि विश्व प्रसिद्ध नाम हो । त्यसै सहरमा पहिलोपटक उभिएको नेपथ्यले कोशी नदीको कथा–व्यथा बोकेको डिल्ले दमाईंका सिर्जनालाई याद गर्दै साँझको थालनी गर्‍यो– ‘कोशीको पानी यो जिन्दगानी, सललल बहिजाने हाउ हजुर’ ।

नेपाली संगीतसँग परिचित आयरल्यान्ड मूलका डेनिस काभनाग पनि संजोगले हलभित्रै उपस्थित थिए । ‘परम्परागत नेपाली धुनहरू सुन्दै आएको हुँ,’ नेपाली साथीहरूले नेपथ्य कन्सर्टबारे जानकारी दिएपछि ब्राजिलियन गर्लफ्रेन्डका साथ आएका डेनिस भनिरहेका थिए, ‘यस ब्यान्डले यहाँ गाइरहेको भने विशुद्ध रक धुन हो, जसमा नेपाली लोक शैलीको मिठो समागम छ ।’

कन्सर्ट हेरेपछि आफूलाई नेपथ्य ब्यान्ड गजब लागेको सुनाए । यसले सिङ्गो हलमा उत्पन्न गर्ने ऊर्जाले झनै मोहित भएको उनको थप प्रतिक्रिया थियो । आफूले गायक अमृत गुरुङमा कता–कता अमेरिकी लोकगायक बब डिलनको झल्को भेटेको पनि डेनिसले उल्लेख गरे ।

यसपटक सात अमेरिकी सहरलाई लक्ष्य गरेर महिनादिन लामो यात्रामा निस्केको नेपथ्यले मे १७ मा टेक्सासको अस्टिनबाट शृंखलाको सुरुवात गरेको थियो । त्यसपछि सियाटल, लस एन्जलस, पिट्सबर्ग हुँदै पाँचौँ प्रस्तुतिका लागि नेपथ्य सिकागो आइपुगेको हो ।

सिकागोमा नेपथ्यका सर्वकालीक हिट गीतहरूदेखि लिएर राष्ट्रिय गीतहरूसम्म प्रस्तुत गरिएका थिए । ब्यान्डले भर्खरै सार्वजनिक गीत ‘कर्नालीका छाइला’ पनि सुनाएको थियो ।

कन्सर्ट हेर्नेकै भीडमा छ घण्टा मोटर हाँकेर मिनेसोटादेखि आएका रामकुमार राई पनि थिए । उनै राम दुई वर्षअघि नेपथ्य कन्सर्ट हेर्न मिनेसोटाबाटै तीन घण्टाको विमान यात्रा गरेर क्यानाडाको टोरन्टो पनि पुगेका रहेछन् ।

‘मेरा बुवाले असाध्यै मन पराउने ब्यान्ड हो यो । घरमा थुप्रिएका नेपथ्यका क्यासेट चक्का सुन्दै हामी हुर्केका हौँ,’ मूलथलो इलामका राम भन्दै थिए, ‘यस ब्यान्डले संगीत मात्र नभई हाम्रो भाषा र पहिचानको प्रवर्धन गर्ने मुख्य उद्देश्य पनि बोकेकाले मलाई विशेष लाग्छ ।’

नेपथ्यले विश्वकै महत्त्वपूर्ण सहरहरूमा इज्जतिलो उपस्थिति जनाउने नेपाली ब्यान्डका रूपमा पनि आफूलाई विकास गरेकामा अत्यन्तै गर्व लागेको पनि उनले सुनाए ।

अर्का दर्शक राजेन गुरुङ कोलोराडोबाट चार घण्टाको विमान यात्रा गर्दै कन्सर्टकै निम्ति सिकागो आइपुगेका थिए । उक्त राज्यमा गत वर्ष नेपथ्य कन्सर्टको आयोजक रहँदा चित्तबुझ्दो पाराले रमाउन नपाएकैले यसपाला विशुद्ध दर्शकका रूपमा आनन्द लिन सिकागो आएको उनी बताइरहेका थिए ।
सिकागोमा प्रस्तुति दिने क्रममा गायक अमृतले नेपालको पर्यटकीय महत्त्वदेखि लिएर सामाजिक न्याय अनि स्वदेशप्रति नयाँ पुस्ताको दायित्वजस्ता विषयमा धारणा पनि राखेका थिए । त्यस्ता क्षणमा दर्शकले हौसलाका साथ उनलाई साथ दिएको देखिन्थ्यो ।

आफूले भाषा नबुझे पनि अमेरिकामा रहेका नेपाली समुदायले आफ्नो पहिचानलाई कसरी माया गर्दो रहेछ भन्ने महसुस गर्ने मौका कन्सर्टमा पाएको वियतनामिज़ अमेरिकन सिड्नी फानले बताइन् । साथीसँग कन्सर्ट हेर्न आएकी उनले थपिन्, ‘हलका दर्शकको प्रतिक्रियाबाटै मैले मञ्चका कलाकारले पक्कै पनि प्रेम र शान्तिको गीत गाइरहेको हुनुपर्छ भनेर अनुमान लगाएकी थिएँ ।’

नेपथ्य कन्सर्टबाट प्रभावित घानाका ब्राइस डेनिस अन्साले भने आफू नेपाल घुम्न जाने मनस्थितिमा पुगेको सुनाइरहेका थिए ।

हलभित्र विभिन्न उमेर समूह अनि बेग्लाबेग्लै प्रकृतिका दर्शक थिए ।

बेगनास ताल छेउका राम सुवेदी त अमेरिका आइपुगेका अभिभावकहरूलाई लिएरै कन्सर्टमा उपस्थित भएका थिए । बाआमालाई पनि रमाइलो होस् भनेर विस्कोन्सिनको मिलुवाकीदेखि एक घण्टा मोटर हाँकेर आएको उनले सुनाए । ‘दुई घण्टासम्म नेपथ्यको कन्सर्ट हेर्दा गाउँमै पुगेको महसुस गरेँ,’ सुवेदी भनिरहेका थिए ।

मञ्चमा मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

कन्सर्टपछि हलबाट रमाउँदै बाहिरिएका दर्शकले गरेको प्रशंसाले स्थानीय आयोजक टिमका मनीष चौधरी प्रफुल्ल देखिन्थे । ‘सिकागोमा बस्ने नेपालीका निम्ति प्रस्तुतिको स्तर र सहभागिता दुबैको हिसाबले यो ऐतिहासिक आयोजना हुन पुग्यो’ मनीषको भनाइ थियो ।

नेपथ्य अब म्यासाचुसेट्स राज्यको राजधानी बोस्टन सहरतर्फ लाग्नेछ । यस सहरको ‘रोयल बोस्टन’ हलमा नेपथ्य जुन ११ मा प्रस्तुत हुनेछ । बोस्टनपछि नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहर पुग्नेछ । नेपथ्य पहिलोपटक प्रस्तुत हुन लागेको त्यस सहरको ‘पिडमोन्ट हल’ मा जुन १४ को साँझ यस वर्षको शृंखलाबद्ध अमेरिका यात्राकै अन्तिम प्रस्तुति हुनेछ ।

व्यवस्थापक, प्राविधिक र कलाकारसमेत गरेर १४ सदस्यीय नेपथ्य टोली अमेरिकाको यात्रामा छ ।

फोटोहरु: दिपित राज / नेपालय