
खोटाङ । यहाँको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किरातकालीन प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बर पार्क निर्माण सम्पन्न भएको छ । बुइपास्थित पञ्चदोबाटोमा ३० रोपनी क्षेत्रफलको सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको प्रतिमासहित पार्क निर्माण गरिएको हो ।
माझ किरातका रुपमा परिचित खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको प्रतिमासहितको पार्कमा कोशी प्रदेश सरकारको ७० प्रतिशत र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत लगानी छ । करिब रु १४ करोड लागतमा ‘फाइबर’ प्रयोग गरेर निर्माण गरिएको यलम्बरको प्रतिमासहितको पार्क उमा–तुवाचुङ–अनसुवी जेभीले ठेक्का लिइ निर्माण गरेको हो ।
आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिनेगरी निर्माण गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्रष्टसहितको कुर्सी, नि:शुल्क वाइफाई, कफी तथा फास्टफुड सेवा उपलब्ध हुने वडाध्यक्ष दिनेश राईले जानकारी दिनुभयो । “यलम्बर पार्कमा अन्य ठाउँमा हुने सबै सुविधा उपलब्ध हुनेछ । चारैतिर घेराबारले घेरिएको पार्कको बीचमा यलम्बरको विशाल प्रतिमा राखेका छौँ”, उहाँले भन्नुभयो, “आधुनिक प्रविधि प्रयोग गरेर निर्माण गरिएको पार्क निक्कै आकर्षक बनेको छ । यसले नगरपालिकाको आन्तरिक स्रोतसमेत वृद्धि गर्ने अपेक्षा गरेका छौँ ।”
हरेक हप्ताको शुक्रबार हटिया लाग्ने बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको यलम्बरको प्रतिमा विश्वमा निर्माण भएकामध्ये हालसम्मकै अग्लो र ठूलो भनेर दाबी गरिएको छ । किरात समुदायको इतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बरपार्क निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले बताउनुभयो ।
“यलम्बर पार्क निर्माण गर्ने आयोजनालाई प्रदेश सरकार र नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेको थियो । यो पार्कले नगरपालिकाको मात्र नभइ प्रदेशकै पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो, “पार्कको आम्दानीमध्ये ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेश सरकारमा जम्मा हुने सम्झौतामा उल्लेख छ ।”
यलम्बर पार्क निर्माण सम्पन्न भएको एक महिना बितिसक्दा पनि नगरपालिकाले रकम भुक्तानी नदिएको ठेकेदार कम्पनीका प्रतिनिधि एवं तुवाचुङ कन्सट्रक्सन प्रालिका प्रबन्धक सुनिल राईले जानकारी दिनुभयो । “तोकिएको काम गत वैशाख १० गतेभित्रै सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारी गरेका थियौँ । अहिलेसम्म नगरपालिकाले हामीले पाउने रकम भुक्तानी दिएको छैन”, उहाँले भन्नुभयो । राईका अनुसार यलम्बर पार्क निर्माण सम्पन्न गरेर यही जेठ १७ गते औपचारिक उद्घाटन गर्ने तयारी थियो । नगरपालिकाबाट करिब रु तीन करोड रकम भुक्तान लिन बाँकी रहेको र नगरपालिकाले भुक्तानी गर्न नसक्दा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की ल्याएर उद्घाटन गर्ने तयारी रोक्न बाध्य भएको उहाँले बताउनुभयो ।
पार्क निर्माणमा कोशी प्रदेश सरकारको दायित्वअन्तर्गतको बजेट नगरपालिकामा प्राप्त नभएकाले ठेकेदार कम्पनीलाई भुक्तानी दिन नसकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । “नगरपालिकाको तर्फबाट दिनुपर्ने भुक्तानी दिइसकेका छौँ । प्रदेश सरकारले रु तीन करोड ९० लाख बजेट उपलब्ध गराएको छैन”, उहाँले भन्नुभयो, “प्रदेशबाट यो आर्थिक वर्षमा बजेट आउने सम्भावना कम छ । बजेट आएको खण्डमा तत्काल भुक्तानी दिएर सञ्चालनमा ल्याउँछौँ ।” रासस