काठमाडौं । युइएफए नेशन्स लिगको उपाधि पोर्चुगलले जितेको छ ।
गएराति भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै पोर्चुगल च्याम्पियन बनेको हो ।
निर्धारित समय र अतिरिक्त समयसम्म पनि खेल २-२ को बराबरी भएपछि विजेताको छिनोफानो टाइब्रेकरबाट लाग्यो ।
जर्मनीको म्युनिखस्थित एलियान्ज एरेनामा भएको फाइनलमा खेलको २१ औं मिनेटमा मार्टिन जुबिमेन्डिले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । २६ औं मिनेटमा नुनो मेन्डीसले गोल गर्दै पोर्चुगललाई १-१ को बराबरीमा ल्याए ।
४५ औं मिनेटमा स्पेनले पुनः अग्रता लियो । मिकेल ओयार्जबालले गोल गर्दै स्पेनलाई २-१ ले अघि बढाए । यता, ६१ औं मिनेटमा क्रीस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई २-२ को बराबरीमा ल्याए । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र खेल पेनाल्टीमा गयो ।
पेनाल्टीमा स्पेनका अल्भारो मोराटाले गोल गर्न चुके र पोर्चुगल च्याम्पियन बन्यो । सात बर्षअघिबाट सुरु भएको प्रतियोगितामा पोर्चुगल दोस्रोपटक च्याम्पियन बनेको हो ।










