९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

‘दुई सयको बचत, दस हजारको सहारा’

‘दुई सयको बचत, दस हजारको सहारा’
अ अ+ अ-

इलाम । विदेशी भूमिमा पसिना बगाएका र फर्किएर गाउँमै रोजगारी सृजना गरेका सूर्योदय नगरपालिका–१३ र १४ का बासिन्दाले सञ्चालन गरेको ‘आप्रवासी बहुउद्देश्यीय सहकारी संस्था’ प्रभावकारी बन्दै गएको छ । त्रिहत्तर घरपरिवार आबद्ध सहकारीमा अहिले मासिक रु दुई सय अनिवार्य र रु पाँच सय ऐच्छिक बचत सङ्कलन हुँदै आएको छ ।

“अप्ठ्यारो पर्दा चर्को ब्याजमा ऋण खानुपरेको छैन । सहकारी सुरु भएपछि हामीलाई सहारा मिलेको छ”, संस्थाकी कोषाध्यक्ष रीना राईले बताउनुभयो । “सहकारीले १२ प्रतिशत ब्याजदरमा अधिकतम रु १० हजार ऋण उपलब्ध गराउँछ । एक सदस्यले तीन महिनाका लागि ऋण लिन पाउने व्यवस्था छ । तीन महिनाका लागि रु १० हजार ऋण लिएमा जम्मा रु तीन सय ६० ब्याज तिर्नुपर्छ ।”

सहकारीकी सहसचिव माया राईका अनुसार यो ऋणले बालबच्चाको पढाइदेखि तरकारीखेती, बीउबिजन खरिदजस्ता काममा सदस्यलाई सहुलियत दिएको छ । विसं २०७९ मा स्थापना भएको सो सहकारीमा हाल ७३ परिवार आबद्ध छन् । विदेश गएका वा फर्किएका सदस्यमात्र सामेल हुन पाउने यो सहकारीले आर्थिक समृद्धिको यात्रामा महत्त्वपूर्ण पाइला चालेको छ । सुरुमा ४० जना सेयर सदस्यबाट सुरु गरिएको सहकारीमा अहिले मासिक रु दुई सय अनिवार्य र रु पाँच सय ऐच्छिक बचत सङ्कलन हुँदै आएको हो ।

वित्तीय साक्षरतामा पनि संस्था सशक्त बन्दै गएको छ । विसं २०७६ मा सूर्योदय नगरपालिकाले सामी कार्यक्रमअन्तर्गत २५ जनालाई २४ हप्ते वित्तीय साक्षरता तालिम दिएको थियो । सहकारीका कोषाध्यक्ष राईका अनुसार तालिमले सदस्यहरूमा वित्तीय अनुशासन र सचेतना बढेको छ । तालिमपछि ३० जनाले उद्यमशीलता तालिम पनि लिए, जसअन्तर्गत अचार र बाँसको अचार बनाउने सीप प्राप्त गरेका थिए । तालिमपछि स्थानीय महिलाहरूले मिक्स अचार, अकबरे पेस्ट, आँप र फर्सीको अचार उत्पादन गरी बिक्री गर्न थालेका छन् ।

सचिव हेमकुमारी भट्टराईका अनुसार सामीले दिएको रु सात हजार सहयोगबाट सुरू गरिएको अचार व्यवसायले हालसम्म रु ३५ हजार आम्दानी दिएको छ । मेला र महोत्सवमा मागअनुसार तयारी गरेर बिक्री गरिने गरिएको छ । संस्थालाई गत वर्ष सूर्योदय नगरपालिकाले रु एक लाख बराबरको टेबल, कुर्सी, दराज र र्याक सहयोगस्वरूप प्रदान गरेको थियो । सहकारीका अध्यक्ष अर्जुन अधिकारीका अनुसार स्थानीय डम्बरसिंह राईले घरभाडामा सहुलियत दिनुभएको छ । अध्यक्ष अधिकारीले सहकारीका लागि आफ्नै भवन निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो । भवन निर्माणका लागि श्रमदान, व्यक्तिगत तथा संस्थागत सहयोगमार्फत एकतले भवन वडा नं १३ मा निर्माण गरिने छ ।

सहकारीका अगुवा सदस्य माया राईका श्रीमान् बिदुप्रकाश राई नौ वर्षदेखि मलेसियामा कार्यरत हुनुहुन्छ भने कोषाध्यक्ष रीना राईका श्रीमान् नन्दलाल साउदीमा २९ महिना र मलेसियामा आठ वर्ष बसेपछि हाल गाउँमै कृषि, पशुपालन र चियाबारीमा संलग्न हुनुहुन्छ । विदेशिएका परिवारको आफ्नै पहल र सहयोगमा सञ्चालित यस सहकारीले गाउँमा रोजगारी र आत्मनिर्भरता अभिवृद्धिमा उल्लेखनीय योगदान दिँदै आएको छ । रासस