काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले काँग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताउनुभएको छ । भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश अफ्ठ्यारो परिस्थितिमा गएको र नेपाली काँग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग खोस्नुपर्ने बेला भइसकेको टिप्पणी गर्नुभयो ।
उहाँले कुनैपनि देशमा मध्यममार्गी पार्टी कमजोर भए देश अराजकतातिर जाने जिकिर गर्नुभयो । नेपाली काँग्रेस सरकारमा रहेको तर सत्ताको चाबी वामपन्थीहरुसँग रहेको भन्दै सत्ताको चाबी काँग्रेसले खोल्नुपर्ने बताउनु भयो । काँग्रेसको भविष्यको प्रतिष्पर्धी नेकपा एमाले भएकाले एमालेले गरेका नराम्रा कामहरु नागरिक समक्ष लैजानुपर्ने बताउनु भयो ।
सांसद कोईरालाले भन्नुभयो, ‘अत्यन्तै अफ्ठ्यारो परिस्थितिमा देश गइरहेको छ । नेपाली काँग्रेस एउटा मध्यममार्गी पार्टी हो । हामी दक्षिणपन्थी पनि होइन र वामपन्थी पनि होइन । उग्रवामपन्थीको त कुरै भएन । कुनैपनि देशमा मध्यममार्गी पार्टी कमजोर भयो, खुम्चियो भने देश अराजकतातिर जान्छ । त्यो बुझौँ । त्यो अराजकता रोक्न नेपाली काँग्रेसले मात्रै सक्छ । सरकार र सत्ता फरक कुराहरु हुन् । हामी सरकारमा छौँ । नेपाली काँग्रेस सरकारमा छ । तर सत्ताको चाबी हामीसित छैन । यसको अर्थ तपाईंहरु आफैँ लगाउनुस् । सत्ताको चाबी वामपन्थीसँग छ । त्यसलाई कसरी हामीले खोल्ने ? चाबी खोल्नुप¥यो नि त । साथीहरुले भन्नुहुन्छ, किन तिमी यसरी बोल्छौँ । भोलिको प्रतिष्पर्धी एमाले हो । उसले गलत काम गरेको छ भने गलतलाई गलत र सहीलाई सही भन्नसकौँ । नेपाली काँग्रेसका कार्यकर्ताहरुले गलतलाई गलत भन्न सकेनन् भने ति कार्यकर्ता नेपाली काँग्रेसका कार्यकर्ता होइनन् ।’
सांसद कोईरालाले कतार, दुबईहरु बनाउने नेपालीहरुले नेपाल बनाउन नसक्ने भन्ने नहुने बताउनु भयो । नेपाललाई नेपाल बनाउनुपर्ने बताउनु भयो ।










