५ असार २०८२, बिहीबार
,
Latest
नेपलको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ६ विकेटले पराजित कोपिला भ्याली स्कूल विश्वका उत्कृष्ट १० मा छनोट कर प्रशासनलाई जनमैत्री बनाउन पहल गरिनेछः निर्देशक पौडेल नेदरल्यान्ड्सले नेपालसामु राख्यो १७५ रनको चुनौती गण्डकी प्रदेशस्तरीय क्रिकेटः नवलपुर फाइनलमा, उपाधिका लागि स्याङ्जासँग भिड्ने संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे ‘ओ एन्ड एम’मा अस्पताल व्यवस्थापक नसमेटेकोमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको आपत्ति श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै पहिरोले अरनिको राजमार्ग बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीको डरले बसाइ सर्न थाले कुतियाकवरबासी



अ+ अ-

दोधारा चाँदनी, (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका खड्के बुढा बाख्रा, गाईभंैसी र बालबच्चासहित कुतियाकवरबाट जोगबुढा वारि सरेका छन् । बाढीबाट जोगिन उहाँसँगै अन्य तीन परिवार पनि कुतियाकवरबाट बसाइ सर्न थालेका छन् । तीन तिर जोगबुडा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ ।

सरकारले जोगबुढा नदिमा तटबन्ध निमार्ण थालेपछि बाढीबाट जोगिने आशामा रहेका कुतियाकवरबासी तटबन्ध निमार्णको काम रोकिएपछि बाढीको डरले बस्ती छोडेर सुरक्षित स्थान खोज्न थालेका हुन । “विसं २०७८ को बाढीले गाइभैसी, बाख्रा सबै बगायो घरमा रहेको अन्न पनि बचेन”, विगत सम्झिदै यहाँका स्थानीय खड्के बुढाले भन्नुभयो, “यस पटक मौसम विभागले पनि धेरै वर्षा हुन्छ भनेको छ यहाँ धेरै बाढी आउँछ बाख्रा भैंसी बचाउन पारिपट्टि सर्दैछु ।”

सरकारले जोगबुढा नदीमा तटबन्ध निमार्णको काम सुरु गरेपछि बाढीबाट जोगिने आशा पलाएको बुढाले बताउनुभयो । नदीमा पानी बढेपछि तटबन्ध निमार्णको काम बन्द भएकाले गाउँँमा बाढीको त्रास फैलिएको उहाँको भनाइ छ ।

“यहाँ बाढीले हरेक वर्ष कटान गर्दै आएको छ, महाकालीको बाढी बस्ती पस्दा ज्यान जोगाउन मुस्किल हुन्छ”, उहाँले भन्नुभयो, “गत वर्ष नेपाली सेना र दातृ निकायको सहयोगमा दुई वटा सेफ हाउस बनेपछि राहत मिलेको छ ।” उहाँले बाढीको त्रासले बस्तीका अन्य तिन परिवार पनि जोगबुढा पारि बसाइ सर्न थालेका बताउनुभयो । केही वर्ष अघिसम्म बाक्लो बस्ती रहेको कुतियाकवर बाढीकै कारण यहाँबाट धेरै बसाइसरेर अन्यत्र गएपछि पातलिदै गएको छ ।

स्थानीय टेकवहादुर सुनारले कुतियाकवरबासी हरेक वर्ष बाढीको चपेटामा पर्दै आएको बताउनुभयो । “नदीमा तटबन्ध बन्न थालेपछि यस वर्ष बाढीबाट सुरक्षित भइएलाकी भन्ने थियो तटबन्ध पुरा हुन सकेन”, सुनारले भन्नुभयो, “बर्खा सुरु हुनलागेपछि यहाँका चार परिवार बाढीको डरले सुरक्षित स्थान खोज्दै बसाइ सर्न थालेका छन् ।” उहाँले जोगबुडा र महाकाली दुवै नदीले कटान गरेर यहाँको बस्ती उच्च जोखिममा रहेको बताउनुभयो । केही वर्षअघि यहाँ ४९ परिवारको बसोबास रहेको थियो । हाल यहाँ ३९ परिवारको बसोबास छ । बाढीकै कारण केही भारत पसेका छन भने केही सुरक्षित स्थान खोज्दै अन्यत्र जानथालेका छन् ।

पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसित जोडिएको छ । विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि नगरसित जोडिएको कुतियाकवरमा बर्सेनि जोगबुढा र महाकाली नदीले जमिन कटान हँुदै आएको छ । करिब ५० बिघाह क्षेत्रफल रहेको बस्ती हरेक वर्ष हुने कटानले साघुँरिदै गएको छ । बाढिबाट कुतियाकवर बस्ती जोगाउँन जनताको तटबन्ध कार्यालयले जोगबुढा नदीमा ८१६ मिटर लामो तटबन्ध निमार्णको काम सुरु गरेको थियो ।

ढिलो गरी ठेक्का सुरु भएको र नदीमा पानी बढेपछि निमार्ण व्यवसायिले काम गर्न नसकेको जनताको तटबन्ध कार्यालयका ईन्जिनियर करुणाकर पन्तले जानकारी दिनुभयो । “बजेटको सुनिश्चितताका कारण पनि ढिलो गरि ठेक्का सम्झौता भयो”, उहाँले भन्नुभयो, “अहिले जोगबुढा नदीमा पानी बढेका कारण निमार्ण व्यवसायिले काम गर्न नसकेका हुन् ।” उहाँले बस्तीलाई बाढीबाट सुरक्षित गर्ने लक्ष्य अनुसार तीब्र रूपमा काम भएपनि नदीमा पानीको बहाव बढेका कारण तटबन्ध निमार्ण सम्पन्न गर्न नसकिएको बताउनुभयो । उहाँका अनुसार तटबन्ध निमार्णको २५ प्रतिशत काम सम्पन्न भएको छ ।

तटबन्ध निमार्णका लागि कार्यालयले २०८१ चैत २५ गते रु पाँच करोड १६ लाख ६७ हजारमा शङ्कर कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ८१६ मिटर लामो तटबन्ध २०८२ चैतभित्र सम्पन्न गरिसक्नुपर्ने छ । रासस