
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नागरिकता विधेयक चालु अधिवेशनमै संसदमँ लैजाने तयारी रहेको बताउनुभएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले विधेयक छिटो पारित गरेर समस्यामा रहेका नेपाली नागरकलाई सहजता प्रदान गर्ने लक्ष्यअनुसार विधेयकमाथि काम गरिरहेको बताउनु भयो । विधेयकमाथि अब बेलायती सेनामा रहनुभएका ब्रिटिश गोरखासँग र एनआरएनसँग एक पटक छलफल गरेर अघि बढाइने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अब बेलायती सेनामा रहनुभएका ब्रिटिश गोरखासँग र एनआरएनसँग पनि छलफल गर्छौं । यो सरोकारवाला विषय भएकाले छलफल गर्नेछौँ । एक पटक बेलायती सेनामा रहनुभएका साथीहरु र एनआरएनका केही पूर्वअध्यक्षहरुसँग छलफल गर्छौं । त्यसपछि समितिमा नै दफावार छलफल गरेर मन्त्रीज्यु र हामी सबैको चाहनाअनुसार यही अधिवेशनमै यो विधेयक लैजाऔँ भनेर हामी सबै एक भएका छौँ । कोही सत्ता पक्ष र प्रतिपक्ष भएका छैनौँ ।’
समितिको बैठकमा आज नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रश्तावकर्ता सदस्यहरुसँग छलफल भएको हो ।