काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको विषयलाई लिएर आज राजधानीमा विभिन्न टिकाटिप्पणी भएका छन् ।
उनलाई मध्य रातमा घरैमा पुगेर किन नियन्त्रणमा लिइयो र आज दिउँसो किन छोडियो भन्ने विषयमा सरकारको कुनै जवाफ नआउँदा सबैले आ आफ्ना तर्कहरु अघि सारिरहेका छन् । उनलाई नियन्त्रणमा लिएको बताएको प्रहरीले उनीमाथि सुरक्षा थ्रेट रहेको भन्ने जवाफ सार्वजनिक गरेको भए पनि मानिसहरुले यसमाथि विश्वास गर्न सकिरहेका छैनन् ।
सुरक्षा थ्रेट रहेको भए घरमै प्रहरीले पहरा दिनुपर्नेमा सुतिरहेको मानिसलाई किन उठाएर लगेको भनी मिडिया, सोसल मिडियामा सोधिएका हजारौँ प्रश्नमा सरकार नाजवाफ भएको छ । यसै विषयलाई लिएर भोलि सर्वोच्च अदालतको फुल कोट बस्ने भएको बताइएको छ । सर्वोच्च स्रोतका अनुसार सो फुल कोटले नेपाल सरकार र नेपाल प्रहरीमाथि प्रश्न गर्ने जनाइएको छ ।
अदालतको फुल कोटले पूर्व प्रधानन्यायाधीशलाई गम्भीर कारण बिना नै किन पक्राउ पूर्जी जारी नै नगरी प्रहरी नियन्त्रयणमा लिइएको हो त्यसको जवाफ पठाउन सरकारसँग प्रश्न सोधिने जनाइएको छ ।
यस प्रकरणमा आज नेपालका न्यायप्रशासनसँग सम्बन्धित उच्च निकाय तथा सर्वोच्चका वर्तमान र पूर्व न्यायाधीशहरुबीच नै विभिन्न समयमा भेटघाट र सम्पर्कबाट सरसल्लाह भएको बुझिएको छ ।
आज जबरामाथि यस्तो व्यवहार भएकाले भोलिका दिनमा पनि अरु यस्तै उच्च पदस्थ एवं पूर्व न्यायधीश, प्रधानन्यायाधीशमाथि पनि यस्तै व्यवहार हुन सक्ने भएकाले त्यसलाई समयमै निकारण गर्नका लागि यस्तो कोट बस्न लागेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
प्रधानन्यायाधीश मनोजकुमार शर्माकै इजलाशमा बस्ने सो फुल कोटले सरकारलाई के कस्तो आदेश तथा निर्देश दिने हो भन्ने बारेमा भने कुनै जानकारी हुन सकेको छैन । गएराति जबराको निजी निवासमा प्रहरी प्रवेश गरेर उनलाई नियन्त्रणमा लिइएको थियो ।
प्रहरी हिरासतमै उनलाई राखेर आज अपराह्न रिहा गरिएको छ । यस विषयमा सरकारले भने केही बताएको छैन । पक्राउ परेका जबराले पनि यस विषयमा केही भनेका छैनन् । सरकारको यो कदमको आज सर्वत्र आलोचना भएको छ ।








