५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय ललितकला प्रदर्शनी २०८२- नेपाली कलाको विविधता एकै छानामुनि (फोटो फिचर)



अ+ अ-

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा जेठ १५ गतेबाट सुरु भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ मा राखिएको विभिन्न सातै प्रदेशबाट उत्कृष्ट कलाको प्रतिनिधित्व हुने गरी कला प्रदर्शनी आयोजना भइरहेको छ ।

प्रतिष्ठानको नक्सालस्थित भवनमा सुरु भएको यो प्रदर्शनीले सातै प्रदेशका विविध सांस्कृतिक र कलात्मक आयामहरुलाई एकै छानामुनि प्रदर्शनी भै रहेको छ । जेठ ३० गतेसम्म चल्ने प्रदर्शनी नि:शुल्क अवलोकनका लागि खुला गरिएको छ, जसले कला प्रेमी, विद्यार्थी र शोधकर्ताहरूलाई विशेष अवसर प्रदान गर्नेछ।

बिभिन्न सामाजिक यथार्थ, सांस्कृतिक चिनारी, प्रकृति, इतिहास र समकालीन विषयवस्तुहरूमा आधारित यी कृतिहरूले नेपालभित्रको कलात्मक चेतना र विविधताको सजीव प्रतिबिम्ब प्रस्तुत गरेका छन्।

प्रदर्शनीमा भाग लिएका कलाकारहरूमध्ये कतिपयले आफ्ना सिर्जनात्मक यात्राका अनुभवहरू साझा गर्दै दर्शकहरूसँग सजीव अन्तर्क्रिया पनि गरिरहेका छन्। यसले कला र कलापारखी बीचको दूरी घटाउने प्रयासको रुपमा पनि हेरिएको छ।

प्रतिष्ठानले ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ मार्फत छानिएका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित कलाकृति गरी देशका ६५ जिल्लाका लोककला, शिल्प–हस्तकला, परम्परागत चित्रकला/मूर्तिकला, वास्तुकला, समसामयिक/आधुनिक चित्रकला-मूर्तिकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला, प्रतिस्थापन, भावभङ्गिमा, फोटोग्राफी, भिडियो आर्ट, डिजिटल, कार्टुनलगायतका विविध विधाका ६०५ कलाकारका ६५० भन्दा बढी कलाकृति समावेश गरेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ को आयोजना गरेको हो ।
प्रदर्शनीमा ललितकलाका विविध विधाका साथै मुख्यतः थारू, अवधी, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किराँतका कलाको विशेष सहभागिता रहेको छ ।

तस्बिर: प्रदीपराज वन्त,रासस