९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह

विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार

विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार
अ अ+ अ-

भद्रपुर, (झापा) । “देशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ”, देउकुमार लिम्बुले विगत सम्झिँदै मुस्कुराएर भन्नुभयो “अहिले त्यो निर्णय मेरो जीवनको सही निर्णय सावित भएको छ” ।

देउकुमार लिम्बुको कथा सुन्दा लाग्छ, इच्छाशक्ति, परिश्रम र देशप्रतिको माया भएमा विदेशिनै पर्छ भन्ने जरुरी छैन् । यहाँको भद्रपुर नगरपालिका–१ का उहाँ हाल ‘लिङ्देन कृषि फार्म’ सञ्चालन गरिरहनुभएको छ । तर यहाँसम्म आइपुग्न उहाँले गर्नुभएको सङ्घर्षको फेहरिस्त निकै लामो छ । २४ वर्षअघि राम्रो कमाइको आशामा मलेसिया जानुभएका उहाँले त्यहाँ १३ वर्ष बिताउनुभयो ।

विगत सम्झना गर्दै उहाँ भन्नुहुन्छ, “मलेसिया जाँदा सपना थियो, धेरै पैसा कमाउने, परिवारलाई सुख दिने । काम पनि राम्रै पाइयो, तलब बढ्दै गयो । मासिक रु एक लाख २५ हजारसम्म कमाउँथे, साहुले ११ महिनासम्म पनि बिदा दिएर काममा बोलाएका थिए । तर मलाई लाग्यो, त्यही मेहनत आफ्नै देशमा गरे उस्तै आम्दानी गर्न सकिन्छ” ।

मलेसियाबाट फर्किएपछि देउकुमार तत्कालै खेतीमा लाग्नुभएन । सुरुवाती दुई वर्ष देशमै के गर्न सम्भव होला रु सफल भइएन भने पुन:विदेश जानुपर्ने अवस्था आउला कि नआउला रु भन्ने दोधारमै बित्यो । अन्तत: उहाँलाई लाग्यो विदेशमा अरुको खेतबारीमा काम गर्दा कमाइ भए पनि मनमा सन्तुष्टी हुँदैन । आफ्नै माटोमा पसिना बगाएर भविष्य बनाउन सकिन्छ भने किन सुरुवात नगर्ने, यही सोचबाट उहाँले कृषि फार्म सुरु गर्ने अठोट लिनुभयो । “म मलेसियामा पनि कृषि फार्ममै काम गर्थेँ”, उहाँले  भन्नुभयो, “त्यही सीप र अनुभवले गर्दा यहाँ फार्म खोल्न सजिलो भयो ।”

मलेसियाबाट ल्याएको थोरै पुँजीबाट देउकुमारले ‘लिङ्देन कृषि फार्म’ स्थापना गर्नुभयो । सुरुमा सानो क्षेत्रफलमा केही तरकारी लगाउनुभएका उहाँको मेहनतले हाल चार विघाहभन्दा बढी क्षेत्रफलमा फार्म विस्तार भएको छ । हाल उहाँको फार्ममा करिब एक करोड रुपैयाँ बढी लगानी छ । फार्ममा साग, टमाटर, काँक्रो, आलु, करेला, बन्दागोभी, भान्टा, बोडीजस्ता तरकारीको साथै केरा, सुपारी खेती, बङ्गुर र माछापालन गर्नुभएको छ ।

उहाँ बेमौसमी तरकारी उत्पादनमा विशेष ध्यान दिनुहुन्छ, “बजारमा जब तरकारीको अभाव हुन्छ, त्यतिबेला हाम्रो फार्ममा उत्पादन भइरहेको हुन्छ”, उहाँ भन्नुहुन्छ, “त्यसैले कहिलेकाहीँ त अग्रिम पैसा तिरेर तरकारी बुकिङ गर्न आउने व्यापारीको भीड लाग्छ ।”

देउकुमारले फार्ममा रासायनिक मलभन्दा बढी जैविक मल प्रयोग गर्ने गरेको बताउनुुहुन्छ । उहाँ भन्नुहुन्छ,  “जैविक तरकारीको स्वाद, गुणस्तर र माग बढी छ, ग्राहक पनि खुसी हुन्छन् ।” उहाँको  सफलताको अर्को पाटो हो, स्थानीय युवालाई रोजगारी उपलब्ध गराउनु । अहिले उहाँको फार्ममा सात जना स्थानीय युवाले नियमित रोजगारी पाएका छन् । तर सिजनमा २०–२२ जना श्रमिकले काम पाउँछन् । “सिजनमा मजदुर पाउन गाह्रो पर्छ,” उहाँ भन्नुहुन्छ, “मानिस विदेश जान चाहन्छन् तर देशमै राम्रो सम्भावना देख्दैनन्”।

फार्म सञ्चालन बापत् खर्च कटाएर वार्षिक १८ लाख रुपैयाँ बढी आम्दानी लिने गरेको उहाँ बताउनुहुन्छ । “मेहनत गरे आम्दानी पनि राम्रो हुन्छ,” उहाँ भन्नुहुन्छ, “मलजल, बिउको छनोट, समयमा स्याहार गर्नुपर्छ ।” उहाँले मलेसियामा पनि मेहनत गर्नुहुन्थ्यो । तर, त्यो अरूको लागि थियो, अहिलेको मेहनत आफ्नो सपना र देशका लागि भएको उहाँको बुझाइ छ ।

देउकुमारको बुझाइमा नेपालमा कृषिमा सम्भावना र चुनौती दुवै छन् । उहाँ भन्नुहुन्छ, “मुख्य चुनौती खुला सीमानाका कारण भारतबाट सस्तोमा तरकारी नेपाल भित्रिनु, हाम्रो उत्पादन सस्तोमा बिक्री गर्न नसक्नु हो ।” यदि सरकारले बजारमा नेपाली तरकारीलाई प्राथमिकता दिन उपयुक्त वातावरण बनाइदिने होभने सहजै प्रतिस्पर्धा गर्न सकिने उहाँ बताउनुहुन्छ ।

कृषकलाई दिइने सरकारी अनुदानबारे पनि उहाँ स्पष्ट हुनुहुन्छ, “कतिपय किसानले अनुदान पाउँदैनन्, पाएकाले सही तरिकाले प्रयोग गर्दैनन्, नियमनको अभाव छ,” देउकुमार भन्नुहुन्छ “यदि वास्तविक किसानलाई अनुदान दिइयो भने देशमै सस्तोमा अर्गानिक तरकारी खुवाउन सकिन्छ ।”

देउकुमार युवापुस्तालाई आग्रह गर्नुहुन्छ, “देशमा केही छैन भनेर हतारमा विदेशिने निर्णय नगर्नुहोस, सानो पुँजी, सही सोच र सिकेका सीपलाई आफ्नै माटोमा प्रयोग गर्न सकियो भने यहीँ पनि सम्मानजनक आम्दानी सम्भव छ ।”

दीपक चन्द/रासस