४ भाद्र २०८३, बिहीबार
,
Latest
सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते गरिमा चौधरी हत्या प्रकरण : न्यायको माग गर्दै पथलैया–वीरगन्ज सडक ठप्प धुर्मुसको गुनासो : ‘आफ्नै देशमा न्याय खोज्दा आवाज बेवारिसे भयो’ वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्यांक संकलन नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र



अ+ अ-

राँझा (बाँके):  हुलाकी सडक र राप्ती नदीमा पुल निर्माण भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिकाको सोनारीक्षेत्र सुगम बन्दै गएको छ ।

कचनापुर र बिनौनालाई जोड्ने राप्ती पुल सँगसँगै हुलाकी सडक निर्माण भएपछि विगतमा दुर्गम क्षेत्रको रुपमा रहेको राप्ती नदी पारी अवस्थित बैजापुर, बिनौना र फत्तेपुर अहिले सुगम बनेको हो । राप्ती सोनारी गाउँपालिकाको व्यावसायिक चहलपहल बढ्दै गएको राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले बताउनुभयो ।

“हुलाकी सडक र पुल बनेपछि सोनारी क्षेत्रका जनताले विकासको अनुभूति गर्न पाएका छन्, व्यावसायिक कारोबार पनि बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “हुलाकी सडक बनेपछि मानिसको आवागमन र चहलपहल बढ्दै गएको छ, अहिले घरेलु तथा साना उद्योग तथा व्यवसाय पनि फस्टाउँदै गएको छ ।”

सडक र पुल बनेपछि राप्तीपारी अवस्थित बिनौना, बैजापुरमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्र घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बैजापुरमा रहेको प्रसिद्ध भुवरभवानी मन्दिर, बाबा बर्फानी र बिनौनामा रहेको धुमैया उद्यान र नवनिर्मित राप्ती पुलमा घुम्ने सर्वसाधारणको सङ्ख्या बढ्दो छ ।

हुलाकी सडक र राप्ती नदीमा माथि बनेको पुललगायतका पूर्वाधार विकासले सोनारी क्षेत्रका जनताको आर्थिक तथा समग्र सामाजिक जीवनस्तरमा सकारात्मक प्रभाव पारेको राप्ती सोनारी–५ बिनौनास्थित भुवरभवानी माध्यमिक विद्यालयका प्राचार्य चेतबहादुर बिष्टले बताउनुभयो ।

नेपालगञ्ज–बघौडा हुलाकी सडक सँगसँगै राप्ती सोनारीको वडा नं ६ कुण्डादेखि नारायणपुर हुँदै अगैयास्थित पूर्व–पश्चिम राजमार्ग जोड्ने हुलाकी सडकखण्ड विस्तार भएपछि अहिले साना ठूला सवारीसाधन आवागमन पनि बढ्दै गएको छ । नेपालगञ्जबाट कोहलपुर हुँदै अगैया पुग्ने मुख्य राजमार्ग भन्दा यो हुलाकी सडक छोटो पर्ने भएकाले सवारीसाधनको आवागमन बढ्दो रहेको विष्टले बताउनुभयो ।

कचनापुर र बिनौनालाई जोड्ने राप्ती पुल निर्माण भएपछि गाउँपालिकाको नदी वारि र पारिको सीधा सम्पर्क बनेको राप्ती सोनारी–५ का जमानसिंह वलीले बताउनुभयो । सडक र पुललगायतका पूर्वाधार विकाससँगै राप्ती सोनारीमा व्यवसायी चहलपहल आएको उल्लेख गर्दै उहाँले कृषिको माध्यमबाट जनताको आर्थिक जीवनस्तर उकास्नतर्फ अब स्थानीय सरकारले योजना ल्याउनुपर्ने बताउनुभयो ।रासस