काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि गरिएको दाबीप्रति आपत्ति जनाउँदै व्यक्तिले दिएको समर्थनलाई दलको समर्थन मान्न नसकिने बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै श्रेष्ठले बागमती प्रदेशमा १२ सांसद रहेको राप्रपाबाट एक जना सांसदले एक्लै समर्थन दिन नसक्ने दाबी गरेका छन्। उनले एक जनाको समर्थनलाई मान्यता दिए पनि मुख्यमन्त्रीमा दाबी गर्न आवश्यक संख्या नपुग्ने भएकाले त्यस्तो दाबीको अर्थ नरहने बताएका छन्।
श्रेष्ठले संसदीय दलको नेताको लेटरप्याडमा दिइएको भनिएको समर्थनमा समेत दलको आधिकारिक समर्थन नरहेको दाबी गरेका छन्। उनका अनुसार समर्थनको विषयमा राप्रपा संसदीय दलको बैठक नै नबसेकाले उक्त समर्थनलाई आधिकारिक मान्न सकिँदैन।
उनले अनधिकृत हस्ताक्षरलाई मान्यता नदिन पार्टी केन्द्र, पार्टी अध्यक्ष तथा संसदीय दलका प्रमुख सचेतकले प्रदेश प्रमुखलाई आग्रह गरिसकेको उल्लेख गरेका छन्।
प्रदेश प्रमुखले संविधान र कानुनअनुसार परिपक्व निर्णय गर्ने विश्वास व्यक्त गर्दै श्रेष्ठले अख्तियारको दुरुपयोग नहुने अपेक्षा समेत गरेका छन्।










