६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान News Polar बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त News Polar समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी-फोटो फिचर News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह

लस एन्जलसको ‘हाउस अफ ब्लुज’मा गुन्जियो नेपथ्यको लोकरक

लस एन्जलसको ‘हाउस अफ ब्लुज’मा गुन्जियो नेपथ्यको लोकरक
अ+ अ-

लस एन्जलस, अमेरिका : अमेरिकाको शृंखलाबद्ध यात्रामा रहेको नेपथ्यले लस एन्जलसमा अर्को सफल प्रस्तुति दिएको छ । एनहायमस्थित ‘हाउस अफ ब्लुज’ हलमा स्थानीय समयअनुसार सोमबार बेलुकी ठीक ८ बजे सुरु भएको कन्सर्टमा ब्यान्डले लगातार दुई घण्टासम्म श्रोता-दर्शकलाई नचाएको थियो ।

‘नेपालको परम्परागत आवाजलाई नेपथ्यले आधुनिक ‍धुनहरूमा परिणत गरेर यहाँसम्म ल्याइपुर्‍याउनु हामीजस्ता श्रोताका लागि आफैँमा मिठो कोसेली हो,’ कन्सर्ट हेर्न सान डिएगो सहरदेखि आएका अजय मल्लले प्रतिक्रिया दिए, ‘क्यालिफोर्नियाको मुटुमा व्यावसायिक परिपक्वतासहित यस स्तरको उपस्थिति जनाउने नेपाली ब्यान्डको प्रयास यहाँका नेपालीकै निम्ति गौरवको विषय हो ।’

नेपथ्यले अमेरिकाको यात्रा गर्दा वैभवशाली राज्य क्यालिफोर्निया प्रायः छुट्ने गरेको छैन । गत वर्ष मात्र पनि डेढ महिना लामो प्रस्तुतिका क्रममा सानफ्रान्सिस्कोमा ब्यान्ड प्रस्तुत भएको थियो । तर विश्वकै अग्रणी सिने उद्योग हलिउड अटाएको र जनसंख्याका हिसाबले क्यालिफोर्नियाकै ठूलो सहर लस एन्जलसमा भने नेपथ्यको यो दोस्रो प्रस्तुति हो । यसअघि सन् २०१६ मा ब्यान्ड यहाँ प्रस्तुत भएको थियो ।

यस व्यस्त सहरमा विगतका नेपाली कार्यक्रम त्यति फलदायी नभएकाले खासै मानिस नआउलान् कि भन्ने भयले प्रारम्भमा टुर प्रबर्द्धक निश्चल बज्राचार्य नेपथ्य नल्याउने विचार गर्दै थिए । ‘त्यसो गरेको भए गलत हुने रहेछ,’ कन्सर्टमा दर्शकको उपस्थिति र उनीहरूको उत्साह देखेपछि उनी भनिरहेका थिए, ‘आफू मात्र नभई दोस्रो पुस्ताका सदस्यहरूलाई पनि साथमा लिएर आउने अभिभावकको यहाँ उपस्थित ठूलो संख्याले मलाई प्रभावित पार्‍यो ।’

हलको ढोका खुल्नासाथ अर्थात् शो सुरु हुनुभन्दा एक घण्टा अगावैदेखि बाहिर र भित्र दुवैतिर दर्शकको उपस्थितिले रोचक माहोल तयार गरिसकेको थियो । कन्सर्ट सुरु भइसकेपछि भने त्यो ऊर्जा झनै व्यापक बन्यो ।


‘हलभित्र ननाच्ने मानिस भेट्न मुस्किल पर्थ्यो,’ शो हेर्नकै निम्ति निकै पर एरिजोना राज्यको फिनिक्सदेखि आएका मिलन श्रेष्ठ भनिरहेका थिए, ‘यसमा बज्दै गरेको संगीत मात्र नभएर फरक-फरक पुस्तालाई बाँध्दै आएको नेपथ्यको लामो इतिहास, नेपाल र नेपालीप्रतिको माया अनि मञ्चबाटै विगतदेखि आगतसम्म बाँध्न सक्ने केवल अमृत गुरुङमा अटाएको क्षमताले पनि उत्तिकै साथ दिएको थियो ।’

सदाझैँ लस एन्जलसमा पनि गायक अमृत गुरुङले गीतहरू मात्र नगाई ती गीतहरूको उद्गम विन्दु पहिल्याउँदाको प्रसङ्ग सुनाए अनि त्यस्ता स्थानको सुन्दरताको बयान गर्दै स्वदेश घुम्न दर्शकलाई प्रेरित गरे ।

कन्सर्टमा दर्शक पनि अत्यन्तै फरक उमेर समूह र पृष्ठभूमिका देखिन्थे । तिनैमध्येका एक थिए संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतम ।‘क्यालिफोर्नियामा नेपथ्यको कन्सर्ट हेर्नुका साथै यसका प्रेरक अगुवा अमृत गुरुङ अनि उनको प्रतिभाशाली समूहसँग भेट गर्नु आज रातिको उत्साहजनक अनुभव रह्यो,’ गौतमले कन्सर्टबाट फर्किएपछि आफ्नो एक्स (ट्विटर) मा उल्लेख गरेका छन्, ‘उनीहरूको प्रस्तुतिमा सधैँ जस्तै प्रवासी नेपालीमाझ देशप्रेम जगाउने, उत्साह अभिवृद्धि गर्ने र शान्ति अनि सद्‍भावनाको विश्वव्यापी आवाजलाई बुलन्द पार्ने अवयव भरिएको पाएँ ।’

अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गरेकी पौडी खेलाडी सोफिया शाह पनि कन्सर्टमा उपस्थित थिइन् ।


‘एकातिर ब्यान्डको प्रस्तुति आफैँमा गजब थियो भने अर्कातिर जताततै रमाएका नेपाली देख्दा मलाई आफन्तहरूकै भीडमा पुगेको अनुभव भयो,’ स्विमर सोफियाले प्रतिक्रिया दिइन्, ‘त्यसमाथि गाइरहेको बेला ती गीत संकलन गरिएका गाउँघर अनि मानिसको भिडियो देख्दा आफू स्वयं पनि नेपालैमा छु जस्तो लागिरह्यो ।’

कन्सर्टको सुरुवात ‘कोशीको पानी’ बाट भएको थियो भने नेपथ्यका सर्वकालिक लोकरकसँगै अन्तिममा नेपाली झण्डाको स्तुतिमा आधारित ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो । कार्यक्रममा भर्खरै सार्वजनिक गरिएको नेपथ्यको गीत ‘कर्नालीका छाइला’ पनि गाएर सुनाइएको थियो ।

मञ्चमा मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

‘यो कन्सर्टसँग आबद्ध हुनु मेरा निम्ति गौरवको विषय बन्न पुगेको छ,’ कार्यक्रम सकिएपछि उत्साहित दर्शकको भीडमाझ आयोजक टोलीका विश्व सुवेदीले प्रतिक्रिया दिए, ‘लस एन्जलसमा नेपथ्यलाई उपस्थित गराएकामा सबैले मलाई धन्यवाद दिइरहेका छन् ।’

यसपाला नेपथ्यको महिनादिन लामो अमेरिका यात्राका लागि तय सात सहरको प्रस्तुतिमध्ये यो तेस्रो शो हो । ब्यान्डले टेक्सासको अस्टिन र वासिङ्टनको सियाटलमा कन्सर्ट गरिसकेको छ ।

ब्यान्ड अब पेन्सिलभेनिया राज्यतर्फ प्रस्थान गर्नेछ । त्यहाँको पिट्सबर्ग सहरलाई यसपटक नेपथ्यले चयन गरेको छ । गत वर्ष ब्यान्डले यसै राज्यको ह्यारिसबर्गमा आफूलाई उभ्याएको थियो । ब्यान्ड मे ३१ मा पिट्सबर्गस्थित ‘रक्सियन थिएटर’ मा प्रस्तुत हुनेछ ।

त्यसपछि ब्यान्ड पाँचौँ प्रस्तुतिका लागि फेरि उत्तरतर्फ उक्लेर सिकागो सहर पुग्नेछ । जनसंख्याका हिसाबले अमेरिकाकै तेस्रो ठूलो यस सहरस्थित ‘दी भिक थिएटर’ मा जुन ७ मा नेपथ्य कन्सर्ट तोकिएको छ । त्यसपछि जुन ११ मा नेपथ्य बोस्टन सहरको ‘रोयल बोस्टन’ हलमा उभिनेछ । यस वर्षको कार्यतालिकाअनुसार यात्राको अन्तिम प्रस्तुति भने नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहरमा तोकिएको छ । त्यहाँको ‘पिडमोन्ट हल’ मा जुन १४ को साँझ आफूलाई उभ्याएपछि यस वर्षका निम्ति ब्यान्डले अमेरिकाबाट बिदा लिनेछ ।

व्यवस्थापन, प्राविधिक र कलाकारसमेत गरेर १४ सदस्यीय नेपथ्य टोली अमेरिकाको यात्रामा छ । यसपाला अमेरिका यात्राको संयोजन ‘मोमो इन्टरटेनमेन्ट’ र ‘के गरिरा’ ले संयुक्त रूपमा सम्हाल्दै आएका छन् ।