७ पुष २०८२, सोमबार
,
Latest
देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू-१६ सुदूरपश्चिम छनोटः बैतडीका भास्करको शतक



अ+ अ-

बैतडी। बैतडीमा जारी एसिसी मेन्स यू-१६ इस्ट जोन कप-२०२५ को सुदूरपश्चिम छनोटमा बैतडीका भास्कर जोशीले शतक हिर्काएका छन् ।

भास्करले डोटीविरुद्धको खेलमा ६२ बलमा शतक प्रहार गरेका हुन् । उनको शतकमा बैतडीले डोटीमाथि ९४ रनको शानदार जित निकालेको छ ।

जारी प्रतियोगितामा शतक बनाउने भास्कर पहिलो खेलाडी बनेका छन् । उनले १२ चौका र पाँच छक्का प्रहार गर्दै शतक बनाएका हुन् । घरेलु मैदान दशरथचन्द क्रिकेट रङ्गशाला सुन्दरखालीमा पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित २० ओभरमा एक विकेटको क्षतिमा दुई सय १० रन बनाएको छ । जसमा भास्कर एक सय रनमा अविजित रहे । यस्तै विक्रम बोहराले ४७ र कप्तान सचिन भट्टले अविजित ४६ रनको योगदान गरे ।

भास्कर र विक्रमबीच एक सय पाँच रनको ओपनिङ शतकीय साझेदारी भयो । त्यसपछि आएका कप्तान सचिनले पनि भास्करसँग एक सय पाँच रनकै साझेदारी गरे । भास्कर प्लेयर अफ द म्याच समेत चुनिएका छन् ।

डोटीका सुमन मल्लले एक विकेट हात पारे । जवाफी ब्याटिङमा उत्रेको डोटीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय १६ रन मात्रै बनाउन सक्यो । डोटीका महेश देउवाले अर्धशतकीय पारी खेल्दै ६० रन बनाएपनि जित हुन सकेन । बलिङतर्फ बैतडीका अमर चन्द र जयबहादुर नाथले दुई/दुई विकेट निकाले ।

प्रतियोगिताबाट बैतडी र बझाङ बाहिरिसेकेका छन् । आजै भएको पहिलो खेलमा बझाङले डडेल्धुरालाई ३३ रनले हराएको छ । आजको खेलमा पराजित भए पनि डडेल्धुरा नेट रनरेटका आधारमा बझाङलाई पछि पार्दै समूह ‘ए’ को विजेताको रूपमा फाइनलमा सुरक्षित भयो ।

जितका लागि पाएको एक सय ७४ रनको लक्ष्य पछ्याएको डडेल्धुरा निर्धारित २० ओभरमा एक सय ४० रनमा समेटियो । जसमा मान साउँदले सर्वाधिक २२ रन बनाएपनि हार टार्न सकेनन् । बझाङका हिमाल दौल्यालले तीन विकेट झारे । यसअघि बझाङले २० ओभरमा खाठ विकेटको क्षतिमा एक सय ७३ रन बनाएको थियो ।

बझाङका इशान दौल्यालले अर्धशतकीय पारी खेल्दै ५१ रनको पारी खेले । उनी प्लेयर अफ द म्याच समेत चुनिएका छन् । डडेल्धुराका तपेन्द्र बोहरा र किरन देउवाले दुई/दुई विकेट हात पारे ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना र बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही जेठ ८ गतेदेखि सुरु प्रतियोगितामा नेपाल क्रिकेट सङ्घमा आवद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता छ । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा डडेल्धुरा, बैतडी, बझाङ र डोटी तथा समूह ‘बी’मा अछाम, कैलाली, कञ्चनपुर र दार्चुला रहेका छन् । दुवै समूहका विजेताबीच यही जेठ १४ गते उपाधिका लागि भिडन्त हुनेछ । छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशको टोलीमा समावेश गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले बताएका छन् ।

एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घले  एसिसी मेन्स यू-१६ इस्ट जोन कपको छनोटका लागि जेठमा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।  रासस