७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसअघि प्रधानमन्त्री हुँदा अहिलेको जस्तो पैसाको हाहाकार थिएनः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटी रित्तो रहेको बताउनुभएको छ ।

मंगलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यसअघि आफू प्रधानमन्त्री हुँदा देशको ढुकुटीमा धेरै पैसा रहेको बताउँदै अहिले पैसा नहुँदा यो काम गर्छु भन्न पनि डराउनुपर्ने स्थिति रहेको बताउनु भयो । उहाँले यसअघि प्रधानमन्त्री हुँदा धेरै पैसा रहेकाले जे पनि गर्नुपर्छ भनेर काम शुरु गरेको भन्दै सबै पालिकामा स्वास्थ्य केन्द्रको उद्घाटन गरेको बताउनु भयो । सोही समयमा निर्माण शुरु भएका ६० भन्दा बढी स्वास्थ्य केन्द्रहरु अहिले सञ्चालनमा रहेको बताउनु भयो । उहाँले एक रुपैयाँ चन्दा उठाएर नेकपा एमालेको पार्टी कार्यालय बनाइदिने सम्मका कुराहरु आएको भन्दै त्यो भन्नमा र गर्नमा फरक हुने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एक दुई वटा साना कामहरुमा साथी भाइहरु बहुत हौसिन्छन् । हामी छौँ भन्छन्, चन्दा उठाउँछन् । अस्ति हाम्रो पार्टी अफिस एक एक रुपैयाँमा बनाउँछौँ भन्ने पनि निस्किए । एक एक रुपैयाँमा पार्टी अफिस बनाउने अरे । एक एक रुपैयाँ चन्दा दिन्छौँ, पार्टी अफिस बनाउँछौँ । चन्दा एक एक रुपैयाँ कहाँ साटेर ल्याउने ? दिँदैन त्यो पनि । यो भन्ने एउटा कुरा हो । तर रियालिटी अर्को कुरा हो । जे होस् हामीले यो नयाँ काम शुरु गरेका छौँ । ६० वर्ष लाग्नुपर्ने होइन । यसका लागि जमिन खोजि भएको छ । यसमा बजेट पनि हालेको हो । म यसअघि प्रधानमन्त्री हुँदा अहिले जस्तो पैसाको हाहाकार थिएन । जे पनि गर्नुपर्छ भन्थेँ, जे पनि बनाउँथेँ ।’

प्रधानमन्त्री ओलीले आफू तीन वर्षको अन्तरालमा प्रधानमन्त्री हुँदा विकासको काम आफूले छोडेकै ठाउँमा रोकिएको बताउनु भयो । पैसाको कमीले पहिला जस्तो यो पनि गर्छु, त्यो पनि गर्छु भन्ने आँट गर्न नसकिरहेको बताउनु भयो । अर्थतन्त्र अब ओरालो नलाग्ने बताउनु भयो ।