
काठमाडौं । भारत र पाकिस्तानबीच युद्ध सुरु भएको छ । हिजो मात्र पनि पाकिस्तानले भारतका जम्मु र पञ्जाव प्रान्तका विभिन्न स्थानमा आक्रमण गरेको छ । गएराति पनि पाकिस्तानले भारतका विभिन्न ९ स्थानमा ड्रोन हमला गरेको थियो । यद्यपि, भारतले ती आक्रमणहरुलाई निस्तेज पारेको जनाएको छ ।
यो युद्धले छिमेकी देशहरुलाई असर गर्न थालिसकेको छ । यसको पहिलो अर्थात् प्रत्यक्ष प्रभाव नेपाल आउने भारतीय पर्यटकमाथि परेको छ । केही दिनयतादेखि नेपाल आउने भारतीय पर्यटकहरुले आफ्ना भ्रमण रद्ध गरिरहेका समाचार स्रोतहरु बताउँछन् ।
बुधबारदेखि नै युरोपबाट नेपाल आउने जाहाजहरु रोकिन थालेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार युरोप र एसियामा पर्ने टर्की, मध्यपूर्वको कतार, युएइ, कुवेत, साउदी अरेबिया लगायतका मुलुकका सहरबाट नेपाल आउने दैनिक १५ र फर्किने समेत गरी उडानहरु प्रभावित भएका बताइएको छ ।
उता भारतले समेत हिजोसाँझ देखि २० भन्दा बढी विमानस्थलहरु बन्द गरेर ती विमानस्थलमा गैरसैनिक उडानहरु रोकेको छ । यसरी विमान रोकिँदा ती विमानस्थलका उडानहरु अनिश्चितसम्मका लागि प्रभावित भएका छन् । यसले भारतलाई मात्र नभएर छिमेकी मुलुकहरुमा जाने नागरिक पनि प्रभावित हुने नै भए ।
भारत पाकिस्तानका बीचको यो अवस्था रहेका बेला नेपालले भने आगामी हप्ता हुन गइरहेको सगरमाथा संवादको व्यापक तयारी गरिरहेको छ । यसमा सहभागिताका लागि विभिन्न देशका मन्त्री तथा विशिष्ट व्यक्तित्वहरु आउने निश्चित गरेका छन् र सोही बमोजिमको तयारी नेपाल सरकारले पनि गरेको छ ।
तर पछिल्लो हप्ता देखिएको छिमेकको यो असहज परिस्थितिका कारण कतै सगरमाथा संवाद पनि प्रभावित बन्ने त होइन भन्ने आशंका उब्जिएको प्रधानमन्त्री कार्यालयका एक वरिष्ठ अधिकारी बताउँछन् ।
उनले भने‐ यही परिस्थित अघि बढ्दै गयो र भारत र नेपाल आउने उडानहरु बुधबार र बिहीबारको जस्तो प्रभावित भए भने नेपाल आउने अतिथिहरुका लागि पनि अप्ठेरो पर्न सक्छ । त्यसैले यस विषयमा हामीले सोच्नुपर्छ कि भन्ने ठानेका छौँ ।
उनका अनुसार छिमेकमा पनि यस्तो अवस्था रहेकाले सरकारी उच्चस्तरको सहभागिता नरहन सक्ने डर समेत रहनेछ । यसका साथै भारतको आकास भएर आउने उडानहरु प्रभावित हुने अवस्था आयो भने त्यसबाट त नेपाल आउने विशिष्ठ अतिथिहरुलाई प्रभावित पार्ने नै भयो । यसकारण पनि सगरमाथा संवादको कार्यक्रमलाई निरन्तरता दिन सकिन्छ या सकिँदैन भन्ने बारेमा निर्णय गर्नुपर्ने उनको भनाई छ ।
एक दुई दिनभित्रै भारत र पाकिस्तानको युद्धको अवस्था कता जान्छ भन्ने कुरा हेरेर सगरमाथा संवाद निरन्तर गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय गरेर आमन्त्रितहरुलाई खबर गरिहाल्नुपर्ने अवस्था रहेको ती अधिकारीले बताए ।