काठमाडौं । सहकारी ठगीको आरोप लागेका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध उजुरी दिएका भनिएका एक व्यक्तिले जाहेरी नदिएको बताएका छन् । जाहेरवाला भनिएकामध्येका एक जना नारायण पहराईले आफूले रविविरुद्ध कुनै जाहेरी नदिएको स्पष्ट पारेका हुन् । उनले बचतकर्ताको रकम फिर्ताका लागि हालेको उजुरीलाई प्रहरीले अनुमतिविनै रविविरुद्ध प्रयोग गरेको गम्भीर आरोपसमेत लगाएका छन् । नारायणको इन्कारीले सहकारी ठगीको अनुसन्धान गरेको प्रहरीलाई अप्ठ्यारो परेको छ ।
रविविरुद्ध बुटवलमा जाहेरी दिने सात जनाको नाममध्ये नारायणको नाम पहिलो नम्बरमा थियो । तर पहराईले आज सामाजिक सञ्जालमा स्टाटस लेखेर आफूले रविविरुद्ध जाहेरी नै नदिएको सार्वजनिक गरेका हुन् ।
उनले भनेका छन्–
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका कैयौं बचतकर्तामध्ये म पनि एक हुँ । सहकारीले बचत फिर्ता दिन नसकेपछि प्रहरीले उजुरी दिन भन्यो । र, इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएँ । मेरो उजुरी कोही व्यक्ति लक्षित थिएन, बचत फिर्ताका लागि मात्रै थियो ।
एक बचन नसोधी, सहमतिसमेत नलिई प्रहरीले मलाई नै मुख्य उजुरीकर्ता जसरी प्रस्तुत गरेर अनुसन्धान प्रतिवेदन बनाएछ । ‘नारायणबहादुर पहराईसमेतको जाहेरीले बादी नेपाल सरकार’ भनेर रूपन्देही जिल्ला अदालतमा मुद्दा पनि चलाइयो । मैले बचत फिर्ताको आग्रहबाहेक कुनै व्यक्तिविरुद्ध किटानी जाहेरी दिएको थिइनँ, तर रवि लामिछानेविरुद्ध मैले नै किटानी जाहेरी दिएको जसरी प्रचार गरियो, गरिएकै छ । यो प्रचारमा सत्यता छैन ।
करोड–करोड बचत हुनेलाई छोडेर थोरै बचत रहेको मलाई जानकारी पनि नदिई प्रहरीले किन मुख्य उजुरीकर्ता बनायो, अझै बुझ्न सकेको छैन । म जस्तै अन्यले पनि बचत फिर्ता पाउने आशमा उजुरी गरेका थियौं, तर यत्रो समय बित्यो, खै त ? संसदीय विशेष छानबिन समितिले बचत फिर्ताका लागि के–के सिफारिस गर्यो भनियो, तर सरकारले ती सिफारिस कार्यान्वयनमा ध्यानै दिएको छैन ।
केही व्यक्ति पक्राउ गर्ने, थुन्ने र मुद्दा चलाउनेबाहेक यसबीचमा सरकारले पीडितलाई न्याय दिने के काम गर्यो ? केही गरेको छैन । बरु हामी जस्ता पीडितलाई देखाएर राजनीति पो गरियो कि ! म कोही व्यक्ति लक्षित थिइन, छैन ।
मेरो व्यक्ति लक्षित नगरिएको उजुरीलाई देखाएर र त्यसैको आधारमा मुद्दा दर्ता गराएर केहीले स्वार्थ पूरा गर्न खोजेका हुन् भने म अहिले पनि उजुरी/मुद्दा फिर्ता लिन राजी छु । हामीले बचत फिर्ता मागेका हौं, यसमा प्रतिबद्ध छौं । हामीले यसलाई समात, उसलाई थुन, त्यसलाई मुद्दा चलाउ भनेका छैनौं ।
विधि–प्रक्रिया, अड्डा–अदालत र सरकारले पीडितलाई न्याय दिन्छ कि भनेर लामो समय चुप बसेँ । न्यायका नाममा पीडितलाई मात्र होइन, अन्यलाई पनि निरन्तर अन्याय भएपछि बोल्न बाध्य भएको हुँ । निर्दोष फसाएर दोषी उम्काउने र सहकारी पीडितको पैसा फिर्ता पाउनुपर्ने मुख्य सवाललाई विषयान्तर गर्ने दुष्कर्मविरुद्ध सबै पीडितले खबरदारी गरौं ।
रूपन्देहीमा पहराईसहित बुद्धबहादुर गुरुङ, पूजा न्यौपाने पाण्डे, मदन भुसाल, हुमलाल गैरे, बेलकुमारी घर्ती र मनरूपा पौडेलको नाम प्रहरीले थप जाहेरीकर्ताका रूपमा सार्वजनिक गरेको थियो । तर अहिले मुख्यजाहेरीकर्ताले नै इन्कार गरेपछि प्रहरी अप्ठ्यारोमा परेको छ । प्रहरीले एकजनाले फिर्ता लिँदैमा केही फरक नपर्ने बताए पनि उसमाथि नैतिक प्रश्न त खडा भएको छ नै अनुसन्धानको विश्वसनियतामाथि पनि प्रश्न उठेको छ ।
रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर हुँदा इलाका प्रहरी कार्यालय बुटबलमा डीएसपी विजयराज पण्डित प्रमुख थिए ।
पहराई सामान्य होटल व्यवसायी हुन् । उनले बुटवलको सुप्रिम सहकारीमा मासिक एक हजार रूपैयाँ जम्मा गर्ने गरेका थिए ।










