२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार परिवर्तन कसैले चलाएको हल्ला मात्रः परराष्ट्रमन्त्री



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा कसैले चलाएको हल्ला मात्र भएको बताउनुभएको छ ।

थाइल्याण्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसंघीय एक कार्यक्रममा सहभागी भएर आज स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारहरुसँग उहाँले भन्नुभयो “अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन, यो कसैले मनोरञ्जनका लागि चलाएको हल्ला हुनसक्छ ।”

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैंकक गएपछि नेपालमा सरकार परिवर्तनको चर्चा चलेको विषयमा राखिएको जिज्ञासामा उहाँले सभापतिजी कुनै पनि राजनीतिक भेटघाटका लागि नभएर नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानुभएको स्पष्ट गर्नुभयो ।

आफूले पनि सरकार परिवर्तनका विषयमा चलेको हल्ला समाचारमा पढेको बताउँदै मन्त्री डा राणाले हिजो नै कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नुभएको जानकारी दिनुभयो ।

मन्त्री डा राणा एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१ औँ सत्रको अध्यक्षता गरी आज स्वदेश फर्किनुभएको हो । यसै सिलसिलामा उहाँले अतिकम विकसित, भूपरिवेष्ठित र साना टापू विकासोन्मुख राष्ट्रहरुको विशेष वैठकको पनि अध्यक्षता गर्नुभएको थियो ।

तस्बिरः हरिराम भेटुवाल-रासस

सो अवसरमा उहाँले यी राष्ट्रहरुको साझा चासोका विषयहरूका बारेमा नेपालका तर्फबाट धाराणा राख्नुभएको थियो ।

उक्त अवसरमा नेपालका तर्फबाट राखिएको धारणाले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवद्र्धन गर्न सघाउ पुगेको महससु भएको उहाँले बताउनुभयो ।

मन्त्री डा राणाले यस कार्यक्रमको साइडलाइनमा इस्केपका कार्यकारी सचिव अर्मिन्दा सालसिया अलिस्जाबनासँग भेटघाट गरेको र उक्त भेटमा एसिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग आदान–प्रदानमा स्केपको भूमिकाको प्रशंसा गरेको जानकारी दिनुभयो ।

उक्त भ्रमणका अवसरमा अतिकम विकसित, भूपरिवेष्ठित र साना टापू विकासोन्मुख राष्ट्रहरुका लागि संयुक्त राष्ट्रसंघका उच्च प्रतिनिधि रहाब फतिमासँग भेटघाट गरी आपसी हितका विविध विषयमा छलफल गरेको जानकारी उहाँले दिनुभयो ।

साथै यस भ्रमणका क्रममा आफूले नेपालले जेठ २ देखि ४ सम्म काठमाडौँमा आयोजना गर्न लागेको सगरमाथा संवादका बारेमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू, अन्तर्राष्ट्रिय संघसंगठन एवम् नागरिक समाजका प्रतिनिधिहरूलाई जानकारी दिनुका साथै उच्च तहको सहभागिताका लागि आमन्त्रण गरेको जानकारी पनि मन्त्री डा राणाले दिनुभयो ।