काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादको भ्रुण नेवार समुदायमा रहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादको भ्रुण नेवार समुदायको इतिहासमा, उनीहरुको भाषा, संस्कृति, उत्पादनमा रहेको बताउनुभएको हो । उहाँले नेवार समुदायका संरचनामा नै नेपाली विशेषताको समाजवाद रहेको उल्लेख गर्नुभयो ।
उहाँले नेपालको इतिहासमा आदिवासी जनजातिहरुमध्ये नेवार समुदाय नै अग्रणी भुमिकामा रहेको जिकिर गर्नुभयो । नेवार समुदायको इतिहास अध्ययनबाट मात्रै नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिने बताउनु भयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘समाजवादको भ्रुण नेवार समुदायको इतिहासमा, उनीहरुको भाषा, संस्कृतिमा, उनीहरुको उत्पादन सम्बन्धमा, उनीहरुका गुठी लगायतका विभिन्न खालका संस्था संरचनाहरु जे बनेका छन्, त्यहीँ नेपाली विशेषताको समाजवाद छ । त्यसकारण मैले हाम्रो पार्टीका नेताहरुलाई नेपालको इतिहासमा आदिवासी जनजाति, त्यसमा पनि अग्रणी नेवार समुदाय नै हो ।
नेवार समुदायको इतिहासको अध्ययनबाट मात्रै, उनीहरुको भाषा, संस्कृतिबारे जानकारी लिएर मात्रै हामीले नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिन्छ । त्यसकारण यो सम्मेलनलाई एउटा विशेष शुरुवात, एउछा पहल, नयाँ बाटोतिर अघि बढ्ने पहलको रुपमा मैले लिएको छु । त्यहाँसम्म हामी आइपुगेका छौँ । ’
अध्यक्ष दाहालले सरकारका गलत काम र क्रियाकलापका कारण धमिलो पानीमा माछा मार्ने दुःशाहस गरेको भएपनि सफल नहुने जिकिर गर्नुभयो । उहाँले नेवार समुदायको सम्मेलनले सरकारका गलत क्रियाकलापहरुको बिरुद्ध खबरदारी गर्नुपर्ने र प्रतिगामी षड्यन्त्रका बिरुद्ध चुनौति दिनुपर्ने बताउनु भयो । उहाँले आफूले नेवार समुदायको निम्ति धेरै काम गरेको दाबी गर्नुभयो । नेवार समुदायको संस्कृति, भाषा, इतिहास, आत्मनिर्णय, पहिचान पूरा स्थापित नभएसम्म माओवादी केन्द्रले नेवार समुदायको साथ नछोड्ने जिकिर गर्नुभयो ।
अध्यक्ष दाहालले यथास्थितिवाद र प्रतिगामी षड्यन्त्रका बिरुद्ध पुनः एक पटक उत्पीडित वर्ग र जाति, समुदाय अघि बढ्नुपर्ने बताउनु भयो । त्यसको लागि माओवादीले पुनः एक पटक देशको नेतृत्व गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।









