६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’



अ+ अ-

न्युयोर्क । न्युयोर्क सिटी मेयरद्वारा घोषणा गरिएको मिथिला संस्कृति तथा फेस्टिभल दिवसका अवसरमा यहाँ ‘आर्ट फर एसडिजिजः मिथिला हेरिटेज कार्यशाला, प्रदर्शनी र पुरस्कार २०२५’ कार्यक्रम आयोजना गरेको छ ।

मिथिला सेन्टर युएसएले अपन फाउन्डेसनको सहकार्यमा न्युयोर्क तिब्बती सेवा केन्द्रमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विभिन्न समुदायका ४० भन्दाबढी बालबालिकाको सहभागिता थियो । बालबालिकाले संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य १५ मा आधारित रहेर ‘जीवन र प्रकृति’ विषयमा आयोजित सिर्जनात्मक कला कार्यशालामा उत्साहपूर्वक भाग लिएका थिए । प्रसिद्ध मिथिला कलाकार एससी सुमनले बालबालिकालाई कलामार्फत वातावरणीय सन्देशहरू व्यक्त गर्न सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी सबै बालबालिकालाई न्युयोर्क राज्यसभा सदस्य स्टीवन रागाकोतर्फबाट प्रमाणपत्रसमेत प्रदान गरिएको आयोजकले जनाएको छ । यस्तै, लोककलामार्फत मिथिला सम्पदाको प्रवद्र्धन गरेको भन्दै कलाकार सुमनलाई र मिथिला सम्पदाको सौन्दर्यलाई जीवन्त तस्बिरमा उतार्ने फोटोग्राफर राज काफ्लेलाई पनि विशेष सम्मान गरिएको थियो ।

सहभागी बालबालिकाले कोरेका तीन कलाकृतिका लागि रश्मी गिरी, तेञ्जिन ल्हाजे किङ्गा र अष्टिन शाहलाई उत्कृष्ट छनोट गरिएको थियो । तीनै जनालाई ट्रफी, प्रमाणपत्र र उपहार प्रदान गरिएको मिथिला सेन्टर युएसएका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक अमितप्रताप शाहले जानकारी दिनुभयो । उहाँले यस्तो कार्यक्रमले मिथिला सांस्कृतिक सम्पदाको संरक्षणका साथै नयाँ पुस्तालाई विश्वव्यापी विकास लक्ष्यहरूमा संलग्न गराई महत्वपूर्ण सन्देश प्रवाह भएको बताउनुभयो ।

कार्यक्रममा न्युयोर्क सिटी मेयर कार्यालयका दक्षिण एशियाली समुदाय समन्वयकर्ता सुकरानी धनपुतले मेयरद्वारा जारी गरिएको मिथिला संस्कृति दिवसको आधिकारिक घोषणापत्र प्रस्तुत गर्दै आयोजक टोलीको कामको उच्च प्रशंसा गर्नुभयो । त्यस्तै, न्युयोर्क राज्यसभा सदस्य स्टीवन रागाको कार्यालयका समुदाय निर्देशक दोल्मा लामाले कार्यक्रमप्रति समर्थन जनाउँदै सम्मानपत्र प्रदान गर्नुभयो ।

न्युयोर्क तिब्बती सेवा केन्द्रका कार्यक्रम निर्देशक तेञ्जिङ छिरिङले यस्तो अन्तरसंस्कृति कार्यक्रम आफ्नै केन्द्रमा आयोजना हुन पाउँदा गौरव महसुस भएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख कलाकार सुमनले प्रवासी बालबालिकासँग आफ्नो ज्ञान बाँड्न र संस्कृतिप्रति जागरुक गराउन महत्वपूर्ण अवसर प्रदान गरिएको भन्दै आयोजकलाई धन्यवाद दिनुभयो । कार्यक्रम संयाजक प्रज्ञा पन्थीले बालबालिकाले कार्यशालाबाट कला र दिगो विकास लक्ष्यको ज्ञान प्राप्त गरेको बताउनुभयो ।

कार्यक्रममा कलाकारहरू एससी सुमन, प्रतीक रायमाझी, शिवाङ्गी सिंह, सुभाद्री सुभा र राखी कर्णका जैविक विविधता, प्रकृति र वातावरणीय चेतनाबारेका मिथिला चित्रकलाको प्रदर्शनीसमेत गरिएको थियो ।