१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ?

पर्यटक स्वागतको पर्खाइमा पोखराका होटल

पर्यटक स्वागतको पर्खाइमा पोखराका होटल
अ अ+ अ-

–वासुदेव पौडेल
गण्डकी । हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोली आरोहणमा जाँदा र आउँदा त्यस टोलीका सदस्यहरु पोखरा बास बसेका थिए । त्यस समयमा पोखरामा त्यस्तो पर्यटकीय पूर्वाधार केही बनिसकेको पनि थिएन । त्यसको एक दशकपछि सन् १९६० देखि पोखरामा ‘हिप्पी’ पर्यटकको आगमन भएसँगै यहाँको पर्यटकीय गतिविधि बढेको पाइन्छ । सन् १९६६ मा विश्व पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरमा पदयात्रा गर्दा पनि उनीहरूले आउँदाजाँदा बस्ने ठाउँ पोखरा नै रोजेका थिए ।

हिप्पी पर्यटककको आगमनपछि थालिएको पोखराको पर्यटकीय पूर्वाधार विकास सन् १९८० को दशकदेखि विस्तारै फस्टाउन थालेको हो । हालसम्म आइपुग्दा यहाँका व्यवसायीले पर्यटन क्षेत्रमा लक्षित गरी रु दुई खर्बभन्दा बढी लगानी गरिसकेको होटल सङ्घ नेपालका केन्द्रीय सदस्य एवं पश्चिमाञ्चल होटल सङ्घका पूर्वअध्यक्ष भरतराज पराजुलीले बताए ।
प्रकृति र संस्कृतिले सम्पन्न पोखराको पर्यटकीय सम्भावनालाई दृष्टिगत गर्दै लगानी बढाइरहँदा यहाँका व्यवसायीले पटकपटक विभिन्न चुनौतीको सामना पनि गरिरहेको यहाँका पर्यटन व्यवसायी बताउँछन् । यसअघि भूकम्प, नाकाबन्दी, हुदहुद (एक खालको हिमआँधी), अन्नपूर्ण क्षेत्रका हिमपहिरो जस्ता विभिन्न चुनौतीको सामना गरेको पोखराको पर्यटन यतिखेर विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीको चपेटामा नराम्रोसँग परेको छ ।
    
कोरोना महामारी फैलिन नदिनका लागि सरकारले चार महिनासम्म गरेको बन्दाबन्दीका कारण चार महिनासम्म बन्द भएका यहाँका होटलका ढोका साउन १५ गतेदेखि खुलेका त छन् तर पर्यटक भने छैनन् । नेपाल सरकारले पर्यटन क्षेत्र खुला गर्ने निर्णयसँगै अन्यत्रजस्तै यहाँका होटलका ढोका खुलेका हुन् । तर पाहुनाको पर्खाइ कतिसम्म लामो हुन्छ भन्ने कुनै ठेगान छैन । पछिल्ला वर्षमा पोखराका होटलमा बढ्दो लगानीसँगै पर्यटक लक्षित सुविधा सम्पन्न होटल ६०० को सङ्ख्यामा रहेको बताउँदै पराजुलीले पोखराका पृथ्वीचोक, महेन्द्रपुललगायतका क्षेत्रमा अरु २०० को सङ्ख्यामा होटल रहेको जानकारी दिए ।
    
उनका अनुसार नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै पर्यटन क्षेत्रमा लगानी गर्न गरेको आग्रहसमेतका कारण पोखराका होटलमा पूर्वाधार थप गर्न पछिल्लो समयमा मात्रै झण्डै रु १५ अर्ब थप लगानी गरिएको छ । पर्यटन क्षेत्र खुला गर्ने सरकारी निर्णयसँगै पोखरामा साना तथा मझौला गरी ३० प्रतिशतजति होटल खुले पनि अधिकांश पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ ।
    
“हामीहरू नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डानुसार होटल खोल्ने तयारीमा लागेका छौँ”, उनले भने, “पोखराका होटल बस्नका लागि पूर्णतः सुरक्षित छन् भन्ने अनुभूति हुनेगरी कर्मचारीलाई होटलको स्यानिटाइज गर्ने, आउने पर्यटकसँग गरिने व्यवहार, स्वास्थ्य सजगतालगायतका विषयमा तालिम दिने क्रममा छौँ ।” कतिपय होटलमा काम गर्दै आएका मजदूर बन्दाबन्दीका कारण घरमा गएको र उनीहरू फर्किनसकेको उनले जानकारी दिए ।
    
साउन १५ गतेदेखि होटलका ढोका खुलेसँगै विस्तारै चहलपहल बढे पनि आन्तरिक तथा बाह्य उडान खुुलिनसकेको र सडक यातायात पनि सहज भइनसकेका कारण पर्यटक आइनसकेको नाट्टा पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष एवं होटल पोखरा बाटिकाका सञ्चालक सन्तोष पोखरेलले बताए ।सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डलाई होटलमा पूर्णतः कार्यान्वयनमा ल्याउँदै पोखरा भित्रने पर्यटकलाई यहाँ बस्न खान सुरक्षित छ भन्ने सन्देश राष्ट्रिय एवं अन्तरराष्ट्रियरुपमा दिने कुरामा आफूहरू प्रतिबद्ध भएको उनले बताए ।
    
“पर्यटकको स्वास्थ्य सुरक्षाप्रति सजग बन्दै यतिखेर होटल व्यवसायी आआफ्ना होटललाई पूर्णरुपमा सरसफाइसहित स्यानिटाइज गर्ने काममा जुटिसकेका छन्”, उनले भने, “प्रत्येक होटलमा छिर्ने पर्यटकको तापक्रम लिने, हेन्ड स्यानिटाइजर, मास्कको अनिवार्य प्रयोग गर्न लगाउने जस्ता कुरामा कर्मचारीलाई तालिम दिइएको छ ।” सरकारको स्वास्थ्य सुरक्षा मापदण्डअनुसार पर्यटकले कोठा छोडिसकेपछि अनिवार्य स्यानिटाइज गर्दै न्यूनतम ७२ घण्टासम्म त्यो कोठा अर्को पर्यटकलाई नदिने व्यवसायीले बताएका छन् । लामो समयसम्मको बन्दाबन्दीका कारण घरभित्रै बसी उकुसमुकुस भएका आन्तरिक पर्यटक पर्यटन क्षेत्र खुलेसँगै पोखरामा आउने अपेक्षा गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले बताए ।
    
सरकारले आन्तरिक तथा बाह्य उडान खोलेसँगै पर्यटकीय गतिवधि बढ्ने बताउँदै उनले त्यसको पूर्वतयारीमा व्यवसायी जुटिसकेको जानकारी दिए । माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमश्रृङ्खलाको दृश्यावलोकनसँगै साहसिक पर्यटनमा रुचि राख्ने पर्यटक पोखरा आउने गर्दछन् । नयाँ वर्ष, चाडपर्व तथा लामो समयका बिदाका समयमा देशका विभिन्न भागबाट आन्तरिक पर्यटक दुई/चार दिन पोखरा बिताउन आउनेक्रम पछिल्ला वर्षमा बढेको पाइन्छ । पोखरालाई मुख्य आधार बनाएर गरिने अन्नपूर्ण चक्रीय पदमार्ग, मर्दी हिमाल, पुन हिल आदि स्थानमा पदयात्रामा जाने पर्यटकले आउँदा जाँदा यहाँ केही दिन बिताउने गर्दछन् । माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालका साथै दृश्यावलोनका लागि सराङ्कोट, विश्वशान्ति स्तूपा, काहुँडाडा, पुम्दीकोट, हुडिकोट, ठूलाकोट जस्ता धेरै स्थान यहाँका पर्यटकीय आकर्षण हुन् ।
    
महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफासहित बीचभाग भएर बग्ने सेती नदी र पातले छाँगो पोखरा आउने पर्यटकले नछुटाउने गन्तव्य हुन् । यी स्थानका अतिरिक्त रामसार सूचीमा सूचिकृत फेवातालसहित पोखराकै कमलपोखरी, लेखनाथ क्षेत्रका वेगनाश, रुपा, खास्टे, दिपाङ, मैदी, न्युरेनी जस्ता तालले पोखरामा पर्यटकलाई लोभ्याउने गरेको छ । पोखरा हुँदै हिमालपारीको जिल्लास्थित पवित्र तीर्थस्थल मुक्तिनाथको दर्शनमा जाने दर्शनार्थी हुन् वा यही आसपासका तालबाराही, विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेवलगायतका स्थलमा दर्शनका लागि पनि पर्यटक आउने गर्दछन् ।
    
फेवातालमा डुङ्गामा शयर गर्ने होस् वा सराङ्कोटबाट हावामा खेल्दै प्याराग्लाइडिङ गरी फेवाताल किनारामा चराजस्तै उडेर झर्नेलगायतका पर्यटकीय गतिविधिमा पोखरामा आउने पर्यटक सहभागी बन्ने गरेका छन् । साहसिक पर्यटनका लागि बञ्जी जम्प, जीपलाइन आदि पनि यहाँ आउने पर्यटकको रोजाइमा पर्ने गर्दछन् । विदेशी पर्यटकको आगमनसँगै पोखरामा पछिल्ला समयमा अतिविशिष्ट व्यक्तिको आगमन हुनेक्रम पनि उत्तिकै बढेको छ । पोखरामा २०७२ को चैतमा सम्पन्न भएको सार्क मन्त्रिपरिषद्को बैठक (मिनी सार्क सम्मेलन) ले यो ठाउँ अन्तरराष्ट्रियस्तरको सभा सम्मेलन गर्न सकिने स्थल भएको पुष्टि गरेको छ । खेलकूदका क्षेत्रमा पनि अघिल्लो वर्ष सम्पन्न १७औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का केही खेल पोखरामा सम्पन्न भएका थिए । विशिष्ट व्यक्तिको भ्रमणका साथै सम्पन्न भएको मिनी सार्क सम्मेलन, दक्षिण एशियाली खेलकूद आदिका कारण पनि पछिल्ला समयमा यहाँका होटलमा व्यवसायीले लगानी बढाउँदै गएको पाइन्छ ।
    
पोखराको पर्यटकीय सुन्दरताले विदेशी राष्ट्रका अतिविशिष्ट व्यक्तित्व लोभिनुले पनि यहाँको पर्यटनले विश्व बजारमा नै चासो र चर्चा पाउन थालेको छ । सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीयाले पोखराको भ्रमण गर्नुभएको थियो भने सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णन् पनि पोखरा आउनुभएको थियो । त्यस्तै २०७२ चैतमा पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठकमा सहभागी हुन सार्क राष्ट्रका विशिष्ट पाहुना पोखरामा बसी यहाँको मुक्त कण्ठले प्रशंसा गरेका थिए । त्यसलगत्तै बेलायती राजकुमार ह्यारीलाई यहाँको सुन्दरताले आकर्षित गरेको कुरा त नेपालका कैयौँ सञ्चारमाध्यममा आएकै हो । त्यस्तै विसं २०७३ कात्तिकमा तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भ्रमण गरेको पोखरामा त्यसपछि अर्थात सन् २०१९ मा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पनि आएका थिए। 
    
पछिल्ला समयमा विभिन्न चलचित्र होस् वा गीतका म्युजिक भिडियो रेकर्ड गर्ने स्थलका रुपमा पनि पोखरा आकर्षक गन्तव्य बन्दै गएको छ । पोखराको पर्यटकीय सुन्दरतालाई दृष्टिगत गर्दै वरिष्ठ गीतकार प्रेमप्रकाश मल्लको यो गीत स्मरण मात्र गरे पनि यहाँको बाँकी सुन्दरता बयान गर्नका लागि धेरै शब्द खर्चिनै पर्दैन । 

        “पोखरा त साँच्चिकै पो पोखरा नै रैछ,
        माछापुच्छ्रे« फेवातालमा पौडी खेल्दो रैछ” ।