५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भब्य दर्शक सहभागिता माझ नेपथ्यको एडिलेड कन्सर्ट सम्पन्न



अ+ अ-

एडिलेड (अस्ट्रेलिया): कार्यक्रम अन्तिम लहरतिर पुगेको थियो । गितारवादक नीरज गुरुङले एउटा धुन निकालेका मात्र के थिए, दर्शकले भेउ पाइहाले । हलभरि खचाखच सिंगो भीडले समुद्रको लहरजस्तै हल्लिएर दोहोर्‍याउन थाल्यो, ‘जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना ।’ यो क्रम एक मिनेटसम्मै चल्यो ।

‘दिस इज अमेजिङ (यो गजब भइरहेको छ),’ १७ वर्षदेखि एडिलेड बस्दै आएका राजु पौडेल उपाध्याय भनिरहेका थिए, ‘यस सहरमा कुनै नेपाली कार्यक्रम हुँदा हलभित्र यति धेरै भिड र यस्तो भव्य मुड मैले कहिल्यै देखेको थिइनँ ।’

पछि स्वयं गायक अमृत गुरुङले यो गीत गाउँदा पनि उनको आवाजभन्दा चर्को स्वर दर्शककै सुनिन्थ्यो ।

विद्युत वितरणसम्बन्धी स्थानीय निकायमा प्रिन्सिपल इन्जिनियर रहेका राजुलाई यस दृश्यले झन् उत्तेजित बनाइरहेको थियो । पचासवर्षे उनी घरी भीडभित्र पसेर नाच्थे त घरी छेउमा आएर साथीहरूसँगै ताली बजाउन थाल्थे ।

कुनै समय बेलायती साम्राज्यकै रानीको नाम दिएर व्यवस्थित बसोबास गराइएको सुन्दरतम सहर एडिलेडमा नेपथ्य शुक्रबार साँझ प्रस्तुत भएको थियो । यस वर्षको अस्ट्रेलिया यात्राको पाँचौं कन्सर्ट नेपथ्यले एडिलेडमा गरेको हो । यस सहरमा नेपथ्य उभिएको पनि यो पाँचौंपटक नै हो । यसअघि दुईपटक प्रस्तुत भएकै ‘हिन्डले स्ट्रिट म्युजिक हल’ मा यसपटक कार्यक्रम गरिएको थियो ।

साँझ ७ बजे हलका ढोका खुला गरिए पछि दर्शकको सुविधालाई ध्यानमा राखेर ठिक ८:३० बजे कन्सर्ट सुरु भएको थियो ।

दर्शकले भरिभराउ हलभित्र पहिलो गीत ‘कोशीको पानी’ प्रस्तुत हुनासाथ दर्शक नाच्न थालिसकेका थिए । दर्शकले स्वरमा स्वर मिलाउने र नाच्ने क्रम झन्‌ बढ्दै गएको थियो ।

‘आज मार्च २१ अर्थात् सद्भाव दिवसको अवसरमा म तपाईंहरूलाई अनुरोध गर्न चाहन्छु,’ गायक अमृतले नेपथ्यको दोस्रो एल्बमबाट सर्वकालिक हिट ‘छेक्यो छेक्यो’ सुनाइसकेपछि भने, ‘संसारभरिका मानिसले भरिएको यस देशमा तपाईंहरू मिलनसार भई बसिदिनुहोला।’

मञ्चमा कलाकारले प्रस्तुति दिइरहँदा नेपाली दर्शक उफ्रेर गाइरहेको, नाचिरहेको देखिनु सामान्य भइहाल्यो । शुक्रबार भने कहिल्यै नेपाल नपुगेका अस्ट्रेलियन वृद्ध दम्पती पनि कन्सर्टको प्रारम्भदेखि अन्त्यसम्मै झुमेर नाचिरहेका थिए । हलको माथिल्लो तलामा उनीहरू नाचेको देखेर छेउछाउका पनि रमाइरहेका थिए ।

ती दम्पती थिए, एडिलेड सहरभन्दा एक घण्टा परको बस्ती गोलामा बसोबास गर्दै अवकाशप्राप्त जीवनको आनन्द लिइरहेका एन्ड्रयु र पेन।

‘यस हलमा म आइरहने दर्शक हुँ । सबै कन्सर्टको इमेल मलाई आउँछ,’ पेनले भनिन्, ‘यसपटक नेपालको प्रस्तुति छ भन्ने थाहा पाएपछि हामी दुवैले हेर्ने निधो गर्‍यौं ।’

एन्ड्रयु र पेनका अनुसार करिब तीन दशकअघि एडिलेडमा धेरै मुलुकको सामूहिक सांगीतिक प्रस्तुति राखिएको थियो । त्यतिबेला नेपालबाट पनि लोकगीत प्रस्तुत गर्न कुनै कलाकार आएका रहेछन् ।

‘त्यतिखेर आफ्ना साना बच्चाहरूसहित आएका हामी नेपाली गीत सुनेर खुबै रमाएका थियौं, नेपाली संगीतमा रमाउने मौका पाएको यो दोस्रो पटक हो,’ उनीहरूले थपे, ‘यस ब्यान्डले लोकगीतमा आधारित रक संगीतमा प्रस्तुत गर्ने गरेको छ भन्ने थाहा पाउनासाथ हामी हौसिएर आएका हौं ।’

कन्सर्ट सकिने बेलातिर फेरि प्रश्न गर्दा उनीहरूको जवाफ थियो, ‘नेपथ्य गज्जबै राम्रो फ्युजन गाउने टिम रहेछ । एडिलेडमा नेपालीको संख्या बढ्दै गएको देखे पनि कोहीलाई साथी बनाएका थिएनौं । अब नेपाली साथी पनि बनाउने र छिट्टै नेपाल जाने सोचेका छौं ।’

एडिलेडमा तेस्रोपटक नेपथ्यलाई निम्त्याएका स्थानीय आयोजक गगन गिरी पनि शुक्रबार साँझको माहोलले असाध्यै रमाएका देखिन्थे । ‘यस सहरमा सबैभन्दा धेरै दर्शक नेपथ्यकै लागि जम्मा हुने गरेका छन्,’ उनी भन्दै थिए, ‘अघिल्लोपटक आफैंले बनाएको सर्वाधिक दर्शकको रेकर्ड पनि नेपथ्यले नै तोड्ने गरेको छ ।’

यस सहरमा दशक अघिसम्म केवल २५ सय नेपालीभाषी रहेकामा हाल झन्डै १० हजार हाराहारी छन् । त्यसमा पनि आधाजस्तो संख्या पछिल्लो समय पुनर्वास गराइएका भुटानी शरणार्थीको छ ।

आयोजक गगन स्वयं पनि पुनर्वास गराइएका भुटानी शरणार्थी परिवारका हुन् । उनको यो संलग्नता र कार्यक्रममा दर्शकको उपस्थितिले एडिलेडमा नेपाली र भुटानी नेपालीभाषी कसरी मिलेर बसेका छन् भन्ने संकेत पनि गर्थ्यो ।

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । कलाकारको यो टिमबाहेक व्यवस्थापक र प्राविधिकको १४ सदस्यीय टोली यात्रारत छ ।

एडिलेडपछि नेपथ्य भिक्टोरिया राज्यको राजधानी मेलबर्नतर्फ लाग्नेछ । आगामी मार्च २४ मा त्यहाँस्थित ‘फेस्टिभल हल’ मा प्रस्तुति हुनेछ । त्यसपछि अन्तिम शो गर्न सिड्नीतर्फ लाग्नेछ ।

पृथ्वीको दक्षिणी गोलार्द्धमा रहेको सहर सिड्नीस्थित ‘होर्डन पभिलियन’ मा मार्च २९ र ३० मा कन्सर्ट हुनेछ । सुरूमा मार्च २९ को साँझका लागि मात्र कन्सर्ट राखिएकामा तीन साताअघि नै टिकट ‘सोल्ड आउट’ भएपछि दर्शकको चाहनालाई सम्मान गर्दै शो थपिएको हो । मार्च ३० को प्रस्तुति लगत्तै ब्यान्ड स्वदेश फिर्नेछ ।




भर्खरै