काठमाडौँ । नेकपा एमाले प्रचार तथा प्रकाशन विभागका सचिव गणेश पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
हाल संगठनका उपाध्यक्ष रहेका पाण्डेले विराटनगरमा १० चैतबाट सुरू हुने दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने मनसायले सचिव पदबाट राजीनामा दिएका हुन् ।
गत फागुन १८ गते बसेको एमालेको ४५ औं केन्द्रीय सचिवालय बैठकले पाण्डेलाई विभागको सचिवमा मनोनयन गरेको थियो ।
पार्टी निर्णय अनुसार पाण्डेले प्रचार विभाग सचिव पदको शपथ लिइसकेका थिए ।
‘म प्रेस चौतारी नेपालको झन्डै १० वर्षदेखि केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहेको र प्रेस चौतारी नेपालको आगामी १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको दाबेदार रहेका कारण दोहोरो जिम्मेवारीमा नरहने मनसायका साथ मैले विभागको सचिव पदबाट राजीनामा दिने निर्णय गरेको छु,’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
आज नै प्रेस चौतारी नेपालको अध्यक्ष पदमा राजेश राईले पनि उम्मेदवारी घोषणा गरेका छन् । राई पनि हाल संगठनका उपाध्यक्ष रहेका छन् ।











