८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

वैदेशिक रोजगारीको पीडा : ११ महिनापछि बाकसमा फर्किएकी तिलमाया

वैदेशिक रोजगारीको पीडा : ११ महिनापछि बाकसमा फर्किएकी तिलमाया
अ+ अ-

नवलपरासी। मङ्गलबार बिहानको मधुरो घाम लाग्दै गर्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ हसौरामा धनमाया सार्कीको घरमा शोकमग्न भीड जम्मा भइसकेको थियो ।

घरको आँगनमा राखिएको बाकसले त्यहाँको वातावरण अझ गम्भीर बनाइदिएको थियो । परदेशी भूमिमा श्रम बेच्न जानुभएकी धनमायाकी छोरी तिलमाया अब कहिल्यै नफर्किने गरी आफन्तका बिचमा बाकसभित्र आइपुग्नुभएको थियो ।

घरको आँगनमा उभिएकी छ वर्षीय नातिनी फेरि सोध्छिन्,“हजुरआमा, ममी कहिले आउनुहुन्छ ?” तर, ७० वर्षीय हजुरआमा धनमाया केही भन्न सक्नुहुन्न । उहाँ चुपचाप आँसु पुछ्नुहुन्छ र बन्द बाकसतिर हेरिरहनुहुन्छ, जहाँ उहाँकी २६ वर्षीय छोरी तिलमाया सार्की चीरनिद्रामा सुतिरहनु भएको छ । घरको माहोल शोकमग्न छ । छिमेकीहरू मौन छन् । कसैले भन्न पनि सक्दैन—“तिम्रो ममी अब कहिल्यै फर्किनुहुन्न ।”

तिलमाया सार्कीले यो बाटो सजिलोसँग रोज्नु भएको थिएन । श्रीमान्सँग सम्बन्धविच्छेद भएपछि छोरीका लागि आमाबुबा दुवैको भूमिका निर्वाह गर्नु उहाँको बाध्यता बन्यो । गाउँमा रोजगारी थिएन । उधारोले घर चल्न सकेन । उहाँले मलेसियाको बाटो रोज्नु भयो ।

“म केही वर्ष दुःख गर्छु, छोरीलाई राम्रो बनाउँछु”, भन्दै उहाँले ६ वर्षीय छोरीलाई वृद्ध आमाको जिम्मा लगाउनुभयो र मलेसियातर्फ लाग्नुभयो । तर परदेशी भूमिले तिलमायालाई चाँडै नै गुमाइदियो । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो ।

त्यसको केही दिनपछि अचानक फोन आयो, “तिलमायाको हत्या भयो ।” यो खबरले परिवारलाई छियाछिया बनायो । पाकिस्तानी नागरिकले तिलमायाको हत्या गरेको खबर पुष्टि गर्न नै केही हप्ता लाग्यो । अन्ततः सरकारी प्रक्रिया पूरा गरी हत्या भएको ११ महिनापछि तिलमायाको शव बाकसमा घर आइपुग्यो ।

तिलमायालाई अन्तिम श्रद्धाञ्जली दिन गाउँका सबै जम्मा भए । धार्मिक परम्पराअनुसार गर्नुपर्ने विधि पूरा गरी तिलमायाको अन्तिम संस्कार गरियो । मृत्यु भएकी छोरीलाई अन्तिम पटक भए पनि हेर्ने आमा धनमायाको अठोटले तिलमायाको शव घरसम्म आइपुगेको हो । हत्या गरिएको बीभत्स शव नेपाल ल्याउनका लागि घरपरिवारले ११ महिनासम्म वडा कार्यालय, नगरपालिका हुँदै धेरै ठाउँमा धाउनुपरेको थियो ।

आप्रवासन केन्द्रको निरन्तरको प्रयास र आफूहरूको प्रयासलाई बल पुग्ने गरी समाचार आएपछि शव नेपाल ल्याउन सम्भव भएको सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले बताउनुभयो ।

“सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउनका लागि आग्रह गर्दा पनि सुनुवाइ हुनसकेको थिएन”, उहाँले भन्नुभयो, “शव नेपाल ल्याइए पनि राहत रकमको लागि पहल भइरहेको र १५/२० दिनमा राहत पनि आइसक्ने छ ।” वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीले राहत रकम उपलब्ध गराउनेछ भने मलेसियामा अदालतको फैसला पछि मात्र हत्या गरेका व्यक्तिबाट क्षतिपूर्ति रकम भराइने भएको छ ।

सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्कअनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको अहिलेसम्म वैदेशिक रोजगारीमा गएकामध्ये २० जनाको मृत्यु भएको छ । मृतकमध्ये अझै दुई जनाको शव नेपाल ल्याउन बाँकी छ ।रासस