२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनमा युद्धविरामका लागि पुटिनमाथि ‘दबाब कायम राख्न’ विश्व नेताहरूलाई स्टार्मरको आग्रह



अ+ अ-

लन्डन। बेलायतका प्रधानमन्त्री किर स्टार्मरले युक्रेनलाई ‘शान्तिको पक्ष’ भनेर प्रशंसा गर्दै मित्रराष्ट्रहरूलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्धविराम गर्न ‘दबाब कायम राख्न’ आग्रह गर्नुभएको छ ।

आफ्नो प्रारम्भिक टिप्पणीमा शनिबार स्टार्मरले पुटिन ‘ढिलो वा चाँडो’ वार्ताको ‘टेबलमा आउनुपर्ने’ बताउनुभयो । मार्च २ मा भएको पहिलो शिखर सम्मेलनको विपरीत स्टार्मरले ‘इच्छुकहरूको गठबन्धन’ भनेको बैठक भर्चुअल रूपमा सञ्चालन भइरहेको छ ।

भर्चुअल बैठकमा देशहरूले युक्रेनलाई सैन्य र वित्तीय रूपमा कसरी मद्दत गर्न सक्छन् र पुटिनले युद्धविराम गर्न समर्थन गरेको खण्डमा भविष्यमा हुनसक्ने शान्ति स्थापना मिसनको लागि समर्थन मापन गर्ने अपेक्षा गरिएको छ ।

“मेरो अनुभव के हो भने चाँडो होस् या ढिलो उहाँ टेबलमा आउनु पर्नेछ र गम्भीर छलफलमा संलग्न हुनु पर्नेछ, तर — यो ठूलो कुरा हो तर आज बिहान हाम्रो बैठकमा — हामी केवल बसेर त्यो हुने प्रतीक्षा गर्न सक्दैनौँ”, स्टार्मरले टेन डाउनिङ स्ट्रिटको कार्यालयमा स्क्रिनको अगाडि बसेर नेताहरूलाई भन्नुभयो, “मलाई लाग्छ यसको अर्थ युक्रेनलाई बलियो बनाउनु हो ताकि उनीहरूले आफ्नो रक्षा गर्न सकून् र स्पष्ट रूपमा सैन्य क्षमताको सन्दर्भमा, कोषको सन्दर्भमा, हामी सबैबाट युक्रेनलाई थप समर्थनको प्रावधानको सन्दर्भमा सुदृढ बनाउनु हो ।”

फ्रान्स, इटाली र युक्रेन जस्ता युरोपेली साझेदारहरूसहित करिब २५ वटा देश बैठकमा संलग्न हुने अपेक्षा गरिएको छ । अस्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डका नेताहरूका साथै नाटो र युरोपेली सङ्घ (इयु) का कार्यकारी अधिकारीहरूले पनि भाग लिने तयारी गरिएको छ । बैठकमा अमेरिकाको प्रतिनिधित्व छैन ।

शनिबारको बैठक युक्रेनमा ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्तावको प्रकाशमा हुँदैछ, जसलाई युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले समर्थन गर्नुभएको छ ।  पुटिनले सिद्धान्ततः युद्धविरामलाई समर्थन गर्ने सङ्केत दिनुभएको छ तर युद्धविराममा सहमत हुनुअघि स्पष्ट गर्नुपर्ने धेरै विवरणहरू प्रस्तुत गर्नुभएको छ ।

“आज बिहान हामीसँग रहेका राष्ट्रपति जेलेन्स्कीले युक्रेन शान्तिको पार्टी हो भनेर फेरि एकपटक देखाउनुभएको छ, किनभने उहाँ ३० दिनको बिना शर्त युद्धविराममा सहमत हुनुभएको छ र प्रतिबद्ध हुनुहुन्छ” स्टार्मरले भन्नुभयो, “अब हामीले के देख्छौँ, र यो आज हाम्रो छलफलको केन्द्रविन्दु हो, पुटिनले ढिलाइ गर्न खोजिरहनुभएको छ ।”

ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनपछि संयुक्त राज्य अमेरिकाले युद्धका बारेमा आफ्नो दृष्टिकोण परिवर्तन गरेको छ । ट्रम्पका पूर्ववर्ती जो बाइडेनको तुलनामा दृष्टिकोणमा परिवर्तन फेब्रुअरी २८ मा ओभल अफिसमा ट्रम्प र जेलेन्स्कीबीच झडप भएपछि विशेष रूपमा उल्लेखनीय भयो ।

शुक्रबार ट्रम्पले यस हप्ताको सुरुमा अमेरिकी प्रतिनिधि दूत स्टिव विटकफसँग भेट गर्नुभएका पुटिनले युद्धविरामलाई समर्थन गर्नुहुन्छ भन्ने आशावाद व्यक्त गर्नुभयो । “म युद्धविरामको दृष्टिकोणबाट र अन्ततः एउटा सम्झौताका बारेमा रुसबाट केही राम्रा सङ्केतहरू आउँदैछन् भन्ने कुरा प्राप्त गर्दैछु”, ट्रम्पले भन्नुभयो ।

आंशिक रूपमा ट्रम्पलाई किएभलाई समर्थन जारी राख्न मनाउन स्टार्मरले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग मिलेर ‘इच्छुकहरूको गठबन्धन’ एकत्रित गर्न नेतृत्व लिनुभएको छ ।  एउटा परिणाम पहिले नै विशेष गरी युरोपेली देशहरूबाट आफ्नो सुरक्षा सुनिश्चित गर्न अधिक गर्नुपर्ने स्वीकार्यता बढ्दै गएको छ । यसमा आफ्नो रक्षा खर्च बढाउने पनि समावेश छ ।

एलिसीका तस्बिरहरूमा म्याक्रोन र उहाँका सहयोगीहरूले फ्रान्सेली राष्ट्रपति दरबारको कोठामा स्टार्मरको उद्घाटन वक्तव्य सुन्दै गरेको देखाइएको छ । रुसको पूर्णस्तरको आक्रमणको तीन वर्षपछि अग्रपङ्क्तिका केही भागमा गम्भीर सैन्य दबाबमा रहेको युक्रेनले युद्धविराम प्रस्तावलाई पहिले नै समर्थन गरिसकेको छ ।

रुसको सेनाले युद्ध क्षेत्रमा गति हासिल गरेको छ र विश्लेषकहरूका अनुसार पुटिन सम्भवतः आफूसँग लाभ भएको महसुस गर्दा युद्धविराममा हतार गर्न अनिच्छुक हुनुहुनेछ । यदि पुटिन ‘शान्तिका लागि गम्भीर हुनुहुन्छ’ भने उहाँले युक्रेनमा ‘आफ्नो बर्बर आक्रमणहरू रोक्नु पर्छ’ र युद्धविरामका लागि सहमत हुनुपर्दछ”, स्टार्मरले भन्नुभयो, “संसारले हेरिरहेको छ ।रासस/एपी