८ भाद्र २०८३, सोमबार
,
Latest
नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुङ्लिङमा ‘मकै घर’



अ+ अ-

ताप्लेजुङ। जिल्ला सदरमुकाम फुङ्लिङमा आजदेखि बाह्रै महिना पोलेको हरियो मकैको स्वाद लिन पाइने भएको छ । यहाँ स्थानीय उद्यमी र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको साझेदारीमा ‘मकै घर’ स्थापना भएको छ ।

पहाडी र हिमाली क्षेत्रमा हरियो मकै खान वर्ष दिन कुर्नुपर्ने बाध्यता रहँदै आएकामा मकै घर सञ्चालनपछि अब बाह्रै महिना त्यसको स्वाद लिन पाइने छ । मकै उत्पादनमा संलग्न किसानहरूको प्रोत्साहन, मकैको बजारीकरण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यो पहल गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख काशिराम पाण्डेले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत यहाँ सञ्चालित मकै जोन कार्यक्रमअन्तर्गत यो घर सञ्चालनमा ल्याएको हो ।  कार्यालय प्रमुख पाण्डेका अनुसार यहाँ पोलेको हरियो मकैका साथै मकैबाट बन्ने विविध परिकार उपलब्ध हुनेछन् । “मकैका परिकार लोप हुने क्रममा छन् । यसको प्रवर्द्धन र महत्व बुझाउनका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो । परियोजनाले एक लाख २७ हजार अनुदान र उद्यमीले सोही बराबरको लगानी गरेका छन्”, उहाँले भन्नुभयो ।

मकैको चटपटे, हलुवा, रोटी, पकौडा, सुप, मोमो र पराठाजस्ता परिकार उपलब्ध गराइने मकै घर सञ्चालक यशोदा गिरीले बताउनुभयो । मकै उत्पादनमा संलग्न किसानहरूलाई पनि मकै घर स्थापनाले प्रत्यक्ष फाइदा पुग्ने उहाँको विश्वास छ ।

घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष राजेन्द्र भारतीका अनुसार हरियो मकै प्रतिघोगा रु १० मा बिक्री हुने भए पनि पोलेर बिक्री गर्दा रु २० भन्दा बढीमा बेच्न सकिने भएकाले यसमा राम्रो आम्दानीको सम्भावना छ । उहाँले ३६५ दिन नै ‘अग्र्यानिक’ हरियो मकैका परिकारको स्वाद लिन पाउने भएकाले उपभोक्ता र किसान दुवै लाभान्वित हुने बताउनुभयो ।

वैशाखदेखि मङ्सिरसम्म ताप्लेजुङमा हरियो मकै उत्पादन हुने गरेको छ । मकै घर स्थापनापछि किसानहरूले आफ्नो उत्पादनको भरपुर लाभ लिन सक्नेभन्दै कृषक कमल विष्टले खुसी व्यक्त गर्नुभयो । यस कार्यले बेंसीदेखि हिमाली क्षेत्रका किसानलाई बजार पहुँच दिलाउने र उत्पादनमा वृद्धि गराउने अपेक्षा गरिएको छ ।

मकै घर स्थापना पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ । फुङ्लिङमा आउने आन्तरिक तथा बाह्य पर्यटकले स्थानीय स्वादका रूपमा पोलेको हरियो मकै र अन्य परिकारको स्वाद लिन पाउनेछन् । यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र कृषि उत्पादनमा समेत सुधार ल्याउने परियोजना कार्यालय प्रमुख पाण्डेले बताउनुभयो ।रासस




भर्खरै