८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उखु अभावले ‘क्रसिङ’ लक्ष्य हासिल भएन, उद्योग एक महिनाअघि नै बन्द



अ+ अ-

महोत्तरी। महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजले यसपालि उखु अभावले लक्ष्यअनुसार ‘क्रसिङ’ (उखु पेलेर चिनी बनाउने कार्य) गर्न सकेन ।

यसैकारण चैत मसान्तसम्म सञ्चालन हुनुपर्ने उद्योग उखुकै अभावमा फागुन मसान्तमै बन्द गर्नु परेको छ । गत मङ्सिर २६ गते उखु क्रसिङ सुरु गरेको उद्योगले बिहीबार उखु नपुगेपछि यसपालिको क्रसिङ रोक्नुपरेको जनाएको छ । उद्योगले यसपालि लक्ष्यभन्दा चार लाख क्विन्टल कम उखु क्रसिङ गरेको महाप्रबन्धक सुरेन्द्र शुक्लाले बताउनुभयो ।

“हामीले यसपालि ९२ दिनमै क्रसिङ बन्द गर्नु पर्‍यो, उखु नै नभएपछि यसपालिको क्रसिङ लक्ष्य प्राप्त गर्न सकिएन”, उहाँले भन्नुभयो । शुक्लाका अनुसार उद्योग सञ्चालनका ९२ दिनमा छ दिन उखु अभावले क्रसिङ रोक्नुपरेको र २५ दिन क्षमता घटाएर क्रसिङ गर्नुपरेको थियो । यसपालि उद्योगले कम्तीमा ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य निर्धारण गरे पनि ३१ लाख तीन हजार ५१ क्विन्टल मात्र क्रसिङ गरिएको उहाँले गुनासो गर्नुभयो । यसपटक तीन लाख १५ हजार क्विन्टल चिनी उत्पादन गर्ने लक्ष्य पनि उखु अभावले पूरा हुन नसकेको उद्योग प्रशासनले जनाएको छ ।

यसैबीच उद्योगले फागुन २५ सम्म किसानबाट ल्याइएको उखुको भुक्तानी दिइसकेको जनाएको छ । यस अवधिमा पाँच दिन पहिलेसम्मको ३० लाख ८० हजार क्विन्टल उखुको रु एक अर्ब ७० करोड ५७ हजार भुक्तानी दिइसकिएको महाप्रबन्धक शुक्लाले जानकारी दिनुभयो । यसपालि चिनी उत्पादनको परिणाम यकिन गर्नभने अझै केही दिन लाग्ने उद्योगले जनाएको छ ।

पछिल्ला तीन वर्षयता उद्योगले भुक्तानी प्रक्रिया क्रमशः सरल बनाउँदै लगेर यसपालि प्रत्येक पाँच दिनमा उखुको भुक्तानी किसानको खातामा चुक्ता गरेको छ । भुक्तानी प्रक्रिया सरलीकृत भए पनि उचित मूल्य नपाएपछि उखु किसान निराश भएका र यसले गर्दा उत्पादन घट्दा फागुनमै उद्योगले उखु अभाव खेप्नुपरेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाको भनाइ छ ।

किसानले उखुको प्रतिक्विन्टल रु ७५० पाउनुपर्ने माग राख्दै आएका थिए तर सरकारले गत वर्षको मूल्यमा प्रतिक्विन्टल रु २० मात्र बढाएर ५८५ कायम गरेको छ । उद्योगीले दिने मूल्यबाहेक सरकारले रु ७० अनुदान दिने व्यवस्था गरेको छ । यसअनुसार किसानले उखुको मूल्य प्रतिक्विन्टल रु ६५५ पाउनेछन् ।

यस वर्ष उद्योगले लक्ष्यअनुसार उखु क्रसिङ हुन नसके पनि गत वर्षभन्दा दुई लाख क्विन्टलभन्दा बढी क्रसिङ गरेको छ । गत वर्ष (२०८०/८१) को  ‘सिजन’ मा २९ लाख चार हजार ५११ क्विन्टल उखु क्रसिङ गरी दुई लाख ६१ हजार ४०६ क्विन्टल चिनी उत्पादन गरिएको थियो । रासस