
काठमाडौं । युगान्डामा जारी चारदेशीय टी–२० आई सिरिजमा नेपालले तेस्रो हार बेहोरेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा भएको खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो ।
नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याएको नेपालले १०२ रनमात्र बनाउन सक्यो । नेपालका लागि सना प्रवीणले सर्वाधिक ३१ रन बनाइन् ।
यस्तै, ओपनर सम्झना खड्का २, पुजा महतो १५, कप्तान इन्दु बर्मा १५, रुविना क्षेत्री ७ रनमा आउट भए भने कविता जोशी १७ र ममता चौधरी ८ रनमा अविजित रहे । बलिङमा नामिबियाकी एभलिन केजारुकुआले सर्वाधिक २ विकेट लिइन् ।
त्यसअघि एन्टेबे क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २५ रनको योगफल बनायो । उसका लागि यास्मिन खानले ४४ बल खल्दै पाँच चौकाको सहायताले ४५ रन बनाइन् । विल्का म्वाटिलले २०, अर्रास्टा डियर्गार्डले १६ तथा कप्तान सुने विटम्यानले १५ रन बनाइन ।
नेपालका लागि ईश्वरी विष्टले सर्वाधिक तीन विकेट लिइन् भने रचनाकुमारी चौधरीले दुई तथा रिया शर्मा र इन्दु बर्माले समान एक÷एक विकेट लिए ।
नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेल भने नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको थियो भने तेस्रो खेलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको थियो ।
जारी प्रतियोगितामा नामिबियाले नेपाललाई यसअघि पराजित गरेको थियो भने हङकङसँग चार विकेट र युगान्डासँग एक रनले पराजित भएको थियो ।