एजेन्सी । च्याम्पियन्स ट्रफी २०२५ को फाइनलअघि भारतीय टोलीलाई ठूलो राहत मिलेको छ । न्यूजिल्याण्डका तीब्र गतिका बलर म्याट हेनरी आइतबार हुने फाइनल खेल्नेमा शंका देखिएको छ ।
म्याट हेनरी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी हुन् । भारतविरुद्धको पहिलो पावरप्लेमा उनले उत्कृष्ट बलिङ गरेका थिए ।
न्यूजिल्याण्डका कप्तान मिचेल सान्टनरले बिहीबार म्याट हेनरीको फाइनलका लागि उपलब्धताको बारेमा आशावादी व्यक्त गरे किनभने उनले बीचमा तीन दिन आराम पाएका छन् । यसबाहेक, चोट लागेपछि हेनरी नेट ट्रेनिङका क्रममा फिल्डमा मात्र आएनन्, बलिङ पनि गरे ।
यद्यपि, शुक्रबार दुबईमा मिडियासँग कुरा गर्दै न्यूजील्याण्डका मुख्य प्रशिक्षक ग्यारी स्टेडले हेनरीको उपलब्धताको बारेमा कुनै शब्द नभएको बताए ।
दक्षिण अफ्रिकाविरुद्धको सेमिफाइनलमा फिल्डिङ गर्दा उनको काँधमा चोट लागेको थियो । लाहोरमा हेनरिक क्लासेनको क्याच लिने क्रममा हेनरी घाइते भएका थिए ।
२०१९ विश्वकप सेमिफाइनलदेखि हेनरीले आफ्नो गति र चालले भारतीय शीर्ष क्रमका लागि धेरै समस्याहरू खडा गरेका छन् । हेनरीले समूह चरणको खेलमा पनि भारतविरुद्ध ५ विकेट लिएका थिए । उनले इनिङ्सको सुरुमै आफ्नो सिम मुभमेन्टले भारतीय ब्याट्सम्यानलाई समस्यामा पारेका थिए ।
भारतविरुद्धको फाइनलमा म्याट हेनरी उपलब्ध भएनन् भने न्यूजिल्याण्डले उनको स्थानमा ज्याकब डफीलाई टोलीमा समावेश गर्न सक्नेछ । ज्याकबले सन् २०२२ मा न्यूजिल्याण्डका लागि एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए ।










