काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा रियल मड्रिडले जित निकालेको छ । गएराति भएको पहिलो लेगमा रियलले शहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई २–१ गोलले हराएको हो ।
घरेलु मैदान सान्टियागो बर्नबेउमा रियललाई जित दिलाउन रोड्रिगो र ब्राहिम डियाजले गोल गरे । एट्लेटिकोका युलियन अल्भारेजले एक गोल फर्काए । खेलको चौंथो मिनेटमा नै रियलले रोड्रिगोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए ।
३२ औं मिनेटमा अल्भारेजले गोल गर्दै एट्लेटिकोलाई बराबरीमा ल्याए । ५५ औं मिनेटमा डियाजले गोल गर्दै रियललाई जित दिलाए । अब दोस्रो लेग मार्च १३ मा एट्लेटिकोको घरेलु मैदानमा हुनेछ ।
यस्तै, गएराति भएको अर्को खेलमा इंग्लिस क्लब एस्टन भिल्लाले बेल्जियन क्लब ब्रुगलाई उसकै घरेलु मैदानमा ३–१ गोलले हरायो ।
भिल्लाको जितमा नियोन बेली र मार्को एसेन्सीओले (पेनाल्टी) गोल गरे ।
ब्रुगका माक्सिम डि कुइपरले एक गोल फर्काए । यस्तै, एक गोल भिल्लाले उपहारस्वरुप पायो । ब्रुगका ब्रान्डन मेकेलेले आत्मघाती गोल गरे ।
अब दोस्रो लेगको खेल मार्च १३ मा भिल्लाको घरेलु मैदानमा हुनेछ ।










