काठमाडौं । काठमाडौंको थापाथलीमा आज मेलम्चीको पाइप फुटेर पानी छ्यालब्याल भएको छ । थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा मेलम्ची खानेपानी आयोजनाको पानीको पाइप फुटेको हो ।
ठूलो फोर्सका साथ पाइप फुटेर पानी बाहिर निस्किएपछि सडक भत्किएको छ । सडकपेटीमा पनि क्षति पुगेको छ । सडकभरि हिलो र ढुंगाका गिट्टी छरिएका छन् ।
वरपरका पसलहरुमा पानीको भेल पसेको छ । सो क्षेत्रमा रेष्टुरेन्ट, औषधि र फलफूल पसलहरु छन् । केही पसल र रेष्टुरेन्टहरुमा भेल पसेर जलमग्न भएको छ । घरका भुइँतला डुबानमा परेका छन् ।
पाइप फुटेको थाहा पाउनासाथै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कर्मचारीले गेटभल्भ बन्द गरेकाले ठूलो क्षति हुन भने पाएन ।
यसअघि माघ ३० गते काठमाडौंको बिजुलीबजार–बबरमहल सडकखण्डमा पनि मेलम्चीको पाइप फुटेको थियो । त्यतिबेला सो क्षेत्रमा रहेका वन कार्यालय लगायतका सरकारी कार्यालयहरु जलमग्न भएका थिए । अदालतको इजलास नै स्थगित गर्नुपरेको थियो ।
बबरमहल क्षेत्रको सडकमा नेपाल विद्युत् प्राधिकरणले बिजुलीको भूमिगत तार बिछ्याउने क्रममा मेलम्चीको ठूलो पाइपमा क्षति पुगेको थियो । अर्को दिन नै पाइप मर्मत गरिएको थियो । थापाथलीमा पाइप फुट्नुको कारण भने खुलिसकेको छैन ।










