२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी

गुमनाम मधुर स्वरकी धनी बाबा राणा

गुमनाम मधुर स्वरकी धनी बाबा राणा
अ अ+ अ-

जमुना वर्षा शर्मा 
पोखरा । “करोडौँ मुटुहरुको एउटै ढुकढुकी नेपाल ।” 
नवराज कार्कीका शब्दमा प्रसिद्ध गायक सरोजगोपाल बज्राचार्यले सङ्गीत दिनुभएको यो कर्णप्रिय गीतकी गायिका हुनुहुन्छ बाबा राणा । मधुर स्वरकी धनी बाबा राणा नेपाली सङ्गीत आकासकी एक अब्बल साधकको नाम हो । नौ वर्षको उमेरदेखि गायनप्रतिको लगावले गीतसङ्गीत क्षेत्रमा पहिचान बनाउन सफल गायिका राणाले यी राष्ट्रभावका मात्र नभएर प्रेम र बिछोडका समेत थुप्रै गीत गाउनुभएको छ । उहाँले नेपाली सङ्गीत क्षेत्रमा ठूलो योगदान गर्नुभएको छ ।  

रचना, सङ्गीत र लयको त्रिवेणीबाट कालजयी गीतहरु पस्कन सफल राणाको सङ्गीतप्रतिको पृष्ठभूमि खोज्दै जाने हो भने उहाँको पारिवारिक योगदानसम्म नै पुग्न सकिन्छ । उहाँका बुबा, ठुलो बुबा, सानो बुबाले घरमा हुने कार्यमा रामायण पढ्दा तबला, मादल, हार्मोनी तथा यस्तै बाजाहरु बजाउने गर्नुहुन्थ्यो । उहाँको कान्छो बुबा रामचन्द्र विक्रम राणा सङ्गीत प्रशिक्षक हुनुहुन्थ्यो । राणा घरको यो साङ्गीतिक वातावरणले नै आफू पनि सङ्गीतप्रतिको यात्रामा सानैदेखि जोडिन पुगेको अनुभव बाबा राणा सुनाउनुहुन्छ ।   
पुष्प नेपाली, नारायण गोपाल, बच्चु कैलाश, तारा देवी, अरुणा लामाका गीत उहाँले ती गीतका गायकगायिका नचिन्दैदेखि गुन्गुनाउने गरेको सुनाउनुहुन्छ । बाल्यकालमा गुनगुनाएका गीतहरुमा स्मरणमा भएसम्म पुष्प नेपालीको ‘शीतल माथि नी शीतल भो नी, लौ लौ बरको छाँयाले ।’ तारादेवीको ‘जुन निदाउन तारा निदाउन’ नारायण गोपालको ‘तिम्रो जस्तो मुटु मेरो पनि, तिमी जस्तो माया मेरो  पनि’ हुन् । 

झ्यालमा झुण्डिएको एउटा सानो रेडियोमा कति धेरै मान्छेले मिलेर गीत गाए होलान् भन्ने बालापनको सोचबाट गीतसङ्गीतप्रतिको धुनमा उहाँ लाग्न थाल्नुभएको हो । बुबा कर्णेल धनविक्रम र आमा भिमकुमारी राणाकी छोरी उहाँको जन्म पाल्पा जिल्ला तानसेनको सिल्खान टोलमा भएको हो । जन्मिएको एक वर्षमै पोखरा आउनुभएकी राणा पोखरा– १ मिरुवामा हुर्कनुभयो । पोखराको माटोबाट सङ्गीतको सुगन्ध चारैतिर छर्न सफल उहाँ कालजयी गीतका सर्जक हुनुहुन्छ । कर्णेल पितालाई भेट्न पोखराको विजयपुरको सैनिक क्याम्पमा जाँदा बुबाको कोठामा झ्यालमा झुण्डाएर राखिएको रेडियो खोलेर ‘लर्के जोवन गएन माया नलाइ भएन, चौतारीमा मायालु नबसी भएन ।’ गीत गाउँदै नाचेको उहाँलाई अझै स्मरणमा आउँछ । उहाँको पहिलो रेकर्ड भएको गीत ‘डम डम डम्फु बजेको तालैमा’ हो । विसं २०२८ सालमा रेडियो नेपालमा जाने अवसर मिलेसँगै उहाँको सङ्गीत साधनाले गोरेटो बाटो पहिल्यायो । पछि त्यही गोरेटोले उहाँलाई नेपाली सङ्गीत क्षेत्रको राजमार्गमै पुर्यो ।  

अहिले पनि सङ्गीत साधनामै व्यस्त राणा, उमेरले सात दशक ढल्कदा पनि  उहाँको सङ्गीतप्रतिको ऊर्जा र उत्साहमा कमी आएको छैन । “मेरो रगतको नशा नशामा गीत सङ्गीत बगेको छ, मलाई गीतका लयमा डुबुल्की मार्दा मानसिक रुपमा शान्तिको अनुभूति हुन्छ, म गाउँछु अझै ।” हार्मोनियम बजाउँदै उहाँले भन्नुभयो । जीवनका उत्तराद्र्धहरुमा पनि अब गीत सङ्गीतमै जीवन गुजार्ने सोच छ उहाँको ।   

पोखरा महानगरपालिका वडा नं १ बागबजार निवासी राणा वरिष्ठ गायक स्व. सरोजगोपाल बज्राचार्यकी पत्नी हुुनुहुुन्छ । गायिका भएर नै आफ्नो जीवन साथीका रुपमा गायक सरोजगोपाललाई रोज्नुभएको हो ? मेरो प्रश्नमा उहाँले हाँस्दै जवाफ दिनुभयो– होइन । “उहाँसँगको भेट एउटा संयोग थियो, कतिपय अवस्थामा सँगसँगै गीत गाउँथ्यौँ, तर उहाँको स्वरले भन्दा पनि स्वभावले मेरो मन जित्यो ।” उहाँले जीवनका शुरुआती दिनहरुलाई सम्झँदै भन्नुभयो “उहाँसँग कहिले र कसरी भेट भयो भन्ने नै थाहा पाइन, यसमा पोखराका ‘प्रोग्राम अर्गनाइजर’ (कार्यक्रम आयोजक) को भूमिका छ । मेरा बुबाले पनि कतिपय क्याम्पमा हुने साङ्गीतिक कार्यक्रममा बाबा सरोजलाई बोलाउ भन्नुहुन्थ्यो । तत्कालीन समयमा हुने साङ्गीतिक कार्यक्रममा हामी सँगैसँगै हुन्थ्योँ ।” उहाँलाई कहिले कुन सालमा भेटेँ त्यति सम्झना छैन ।” 

सरोजगोपालले एक पटक हाइस्कुलमा शान्ति शाह, बच्चु कैलाशको ‘कल्पना गगन, मुस्कुराउने चन्द्रवदन, कहिले होला त्यो दिन जब होला मिठो मिलन’ भन्ने गीत गाएको भने राणाको मस्तिष्कमा अझै ताजा छ । राणाले २५ वर्षको उमेरमा सरोजगोपालबाट प्रेम प्रस्ताव आएको र त्यससँगै प्रेमिल गोरेटोबाट सङ्गीत क्षेत्रको यो जोडी बनेको अनुभव सुनाउनुभयो । “उहाँले प्रेम प्रस्ताव राख्ने बेलासम्म मैले प्रेमको बारे सोचेको रहेनछु, उहाँको प्रस्ताव पछि बल्ल प्रेमको अनुभुति गरेँ ।” विवाहको सन्दर्भमा उहाँले भन्नुभयो “प्रेम प्रस्तावको एक दुई वर्षमै विवाह भयो । हाम्रो अन्तरजातीय विवाह थियो । विरोध त त्यति भएन, बुबाले फरक फरक जातका तीनवटा श्रीमती विहे गर्नुभएको थियो, तर बुबाको आफूले रोजेको केटासँग विवाह गराउने चाहाना रहेको पछि थाहा पाएँ ।” 

विहे गरेर भागेर जाँदा विजयपुर खोला तरेर पारी पुगेपछि रोकिएको पल अझै सम्झनुहुन्छ । सरोज गोपालको एउटा गीत पनि छ ‘देउराली उकाली चढेर, विजयपुर खोला तरेर’ राणा सम्झनु हुन्छ । “हामी विजयपुर खोला तरेर नजिक एक होटलमा बस्यौँ र १५ दिन पछि फर्केर पोखरा आयौँ । सरोजको साथी करोडौँ मुटुहरुको गीतका रचनाकार नवराज कार्कीले अभिभावकीय जिम्मेवारी पूरा गर्दै हाम्रो लागि कोठा भाडामा लिएर एक महिना पुग्ने रासनसहित व्यवस्था गर्नुभएको रहेछ ।”  

तत्कालीन समयमा राणा महिला प्रशिक्षण केन्द्रमा सांस्कृतिक प्रवन्धकको रुपमा कार्यरत हुनुहुन्थ्यो भने सरोजगोपाल पुरुष प्रशिक्षण केन्द्र (नगर प्रशिक्षण केन्द्र) मा कार्यरत हुनुहुन्थ्यो । दुबैले २१ वर्षको जागीरे जीवन उपादान लिएर  छोड्नुभएको थियो । सरोजगोपालले पछि नेपाल टिभी र रेडियो नेपालमा पनि पाँच वर्ष काम गर्नुभयो । पतिलाई सम्झदै राणाले भन्नुभयो “धेरै खुशीहरु साट्न बाँकी नै थियो, साङ्गीतिक सहयात्रामा सँगसँगै निकै दूरको यात्रा पार गरौँला भन्ने थियो, मलाई छोडेर एक्लै जानुभयो” राणाले भावुक हुँदै भन्नुभयो “बाँकी दिनहरु सङ्गीत साधनामा रमेर उहाँकै यादमा बिताउँछु ।” राणाले सरोजगोपालको निधनपछि उहाँको सम्झनामा ‘सपना मेरो अधुरै भयो, खोज्दा खोज्दै हराएँ म’ भन्ने आधुनिक गीत रेकर्ड गराइसक्नु भएको छ ।

सरोजगोपालका ८० भन्दा बढी गीत रेडियो नेपालमा रेकर्ड छन् तर उहाँको जीवनकालमा एल्बम भने निकाल्न पाउनुभएन । सरोजगोपालको गीत रेकर्डको एक प्रसङ्गमा उहाँले भन्नुभयो “२०७१ सालतिर हो ‘लुम्लेको कविता गाँउ’ भन्ने एक कार्यक्रममा  बिम्ब कवि रमेश श्रेष्ठसँग ‘अब उकाली पनि उक्लन्छु, देउराली पनि झर्छु, नक्कली भगाइलान्छु भन्ने रेकर्ड गर्छु’ भन्नुभएको थियो तर दुर्भाग्य त्यसको एक महिनामा उहाँको निधन भयो ।” सरोजगोपालको ६४ वर्षको उमेरमा विसं २०७१ श्रावण २९ गते निधन भएको हो । नेपाली लोक गायनको क्षेत्रका प्रतिभाशाली गायक तथा सङ्गीतकार बज्राचार्यसँग परम्परागत लोक सङ्गीत र ठेट गीतलाई आधुनिकतासँग जोड्न सक्ने कला पाइन्थ्यो ।  

विसं २०६४ साल जेठ ४ गते सङ्गीत प्रशिक्षण केन्द्र पोखराको आयोजनामा ‘सरोजगोपाल र बाबा राण युगल साँझ’ को आयोजना गरिएको थियो । जसमा सरोज र बाबाले झण्डै दुई दर्जनभन्दा बढी गीत गाउनुभएको थियो । राणाका ‘साइको घर कहाँ हो कहाँ,’ ‘बिर्सिजाने निष्ठुरी’, ‘हे आमा जन्मायौ किन’, ‘करौडौँ मुटुहरुको’ बहु चर्चित गीतहरु छन् भने उहाँले लोक, आधुनिक, राष्ट्रिय गीत, भजन आदि गरेर दुई सयभन्दा बढी गीत रेकर्ड गराइसक्नुभएको छ । उहाँका ‘भिजेको परेली’ एल्बम र ‘सांस्कतिक ज्ञान’, ‘गाउँदा गाउँदै यहाँसम्म’ प्रकाशित कृति हुन् । 
राणाको सङ्गीतप्रतिको रुचि देखेर तत्कालीन रानी ऐश्वर्या राज्यलक्ष्मी शाहले बरोडामा साङ्गीतिक अध्ययनका लागि वृत्ति समेत प्रदान गर्नुभएको थियो । तर दुई वर्षकी छोरी भएकाले बाबा राणाले त्यो अवसर गुमाउन पुग्नुभयो । 

राणाले रेडियो नेपालबाट आयोजना गरिएको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगीतामा नवोदित गायिकातर्फ २०२९ सालमा प्रथम भई स्वर्ण पदक प्राप्त गर्नुभएको छ । तत्कालीन समय रानी ऐश्वर्या र राजा वीरेन्द्रबाट नगद पुरस्कार पनि प्राप्त गर्न सफल हुनुभएको छ । नेपाली गीत सङ्गीतको उन्नयनका लागि योगदान पु¥याएबापत उहाँलाई एक दर्जनभन्दा बढी सङ्घसंस्थाबाट सम्मान एवं पुरस्कार प्राप्त भएको छ ।  राणाका एक छोरा र एक छोरी छन् । उहाँ आफ्नै निवास पोखरा –१ बगरमा  छोरा बुहारी र नाति नातिनीको साथमा सङ्गीत साधनामै लागिरहनुभएको छ । हार्मोनियम बजाउँदै सरोजगोपालका तस्वीर र सम्मानले भरिएको कोठामा उहाँले हरेक दिन उहाँलाई सम्झँदै साङ्गीतिक शब्दबाट श्रद्धाञ्जलि अर्पण गर्दै आउनुभएको छ । (रासस)