एजन्सी । च्याम्पियन्स ट्रफी–२०२५ को दोस्रो खेल भारत र बंगलादेशबीच हुँदैछ । दुबई अन्तर्राष्ट्रिय रंगशालामा बंगलादेशका कप्तान नजमुल हुसेन शान्तोले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका छन् ।
बंगलादेशले १२ ओभरमा ५ विकेट गुमाएर ४५ रन बनाएको छ । अहिले तौहिद हृदयोय र जाकिर अली क्रिजमा छन् ।
नवौं ओभरमा अक्षर पटेलले लगातार दुई बलमा २ विकेट लिए । उनी ह्याट्रिकमा थिए, तर जाकिर अलीको क्याच रोहितको स्लिपमा छोडियो र अक्षरले ह्याट्रिक गर्न सकेनन्। उनले आफ्नो पहिलो ओभरको दोस्रो बलमा तान्जिद हसन (२५ रन) र मुस्फिकुर रहिम (०) लाई प्याभिलियनको बाटो देखाए ।
यस्तै, मोहम्मद शामीले मेहदी हसन मिराज (५ रन) र सौम्या सरकार (०) लाई पनि आउट गरे । हर्षित रानाले कप्तान नजमुल हुसेन शान्तोलाई प्याभिलियन पठाए ।
यस प्रतियोगिताको इतिहासमा भारत र बंगलादेशले एकपटक मात्र भिडेका छन् । २०१७ मा बर्मिङ्घममा भएको सेमिफाइनलमा भारतीय टोलीले बंगलादेशलाई ९ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।










