काठमाडौँ । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा पढ्ने नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणलाई लिएर त्यहाँको प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गर्ने र नेपाली विद्यर्थाीको सुरक्षा प्रत्याभूति गराउने जनाएको छ ।
भुवनेश्वर प्रहरी कार्यालयको कमिसनर कार्यालयले विज्ञप्ति जारी गर्दै आरोपी छात्र अद्विक श्रीवास्तवलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाइएको पनि जानकारी गराएको छ ।
प्रहरीका अनुसार श्रीवास्तवको साथबाट इलेक्ट्रोनिक डिभाइस बरामद गरेर अनुसन्धान अघि बढाइएको छ । ‘श्रीवास्तवलाई आत्महत्या दुरूत्साहनको कसुरमा पक्राउ गरिएको छ । हिरासतमा राखेर अनुसन्धान थालिसकेका छौं ।’ विज्ञप्तिमा भनिएको छ ।
प्रहरीले प्रकृतिको मोबाइल र ल्यापटपसँगै अन्य कागजात नियन्त्रणमा लिएको पनि जनाएको छ । केआईआईटीका नेपाली विद्यार्थीमाथि कुटपिटमा संलग्न रहेका दुई जना सुरक्षा गार्डलाई पनि प्रहरीले पक्राउ गरेको बताएको छ ।
४५ वर्षीय रमाकान्त नायक र २५ वर्षीय जोगेन्द्र बेहेरा पक्राउ परेका हुन् । उनीहरूलाई विश्वविद्यालयले सेवाबाट बर्खास्त गरिसकेको छ ।
केआईआईटी प्रशासनले नेपाली विद्यार्थीलाई कलिङ्गा इन्स्टिच्युटबाट निकाल्दा सुरक्षागार्डहरूले कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो ।
यसैबीच, आइतबार भएको घटनाप्रति दुःख व्यक्त गर्दै विश्वविद्यालयले नेपाली विद्यार्थीसँग माफी मागेको छ । यसअघि सोमबार पनि विश्वविद्यालयले माफी माग्दै नेपाली विद्यार्थीलाई पढाइमा फर्किन अपिल गरेको थियो ।












