२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात महिनामा सरकारको आम्दानी ४४ र खर्च ४० प्रतिशत, विकास खर्च १९ प्रतिशतमा खुम्चियो



अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार वार्षिक लक्ष्यको तुलनामा यो अवधिसम्म सरकारको आम्दानी ४४ दशमलव ८३ प्रतिशत र खर्च ४० दशमलव ५८ प्रतिशत छ ।

सरकारले चालु आर्थिक वर्षका लागि रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बराबरको बजेट ल्याएको थियो भने रू १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो । तर आयव्यय दुवै कमजोर भएपछि सरकारले अर्धवार्षिक समीक्षामार्फत् सुरुवाती विनियोजनको तुलनामा ९० दशमलव ९९ प्रतिशत मात्रै बजेट खर्च गर्ने संशोधित अनुमान गरेको छ । अर्थात् चालु आर्थिक वर्षमा रू १६ खर्ब ९२ अर्ब ७३ करोड २५ लाख बराबर मात्रै बजेट खर्च गर्ने संशोधित अनुमान छ ।

सुरुवाती विनियोजनको तुलनामा माघ मसान्तसम्म सरकारको चालु खर्च ४५ दशमलव ८२ प्रतिशत छ । चालुगत शीर्षकमा रू ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा सात महिनामा रू पाँच खर्ब २२ अर्ब ६२ करोड ५३ लाख खर्च भएको छ ।

त्यस्तै, पुँजीगत शीर्षकमा रू तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बजेट विनियोजन भएकोमा रू ६८ अर्ब ४१ करोड ५९ लाख मात्रै खर्च भएको छ । अर्थात् सुरुवाती विनियोजनको तुलनामा हालसम्मको पुँजीगत खर्च १९ दशमलव ४२ प्रतिशत हो ।

सार्वजनिक ऋणको साँवा र ब्याज तिर्नका लागि प्रयोग हुने वित्तीय व्यवस्था शीर्षकको हालसम्मको खर्च ४४ दशमलव छ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षका लागि वित्तीय व्यवस्था शीर्षकमा रू तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बजेट रहेकोमा हालसम्म सुरुवाती विनियोजनको ४४ दशमलव ६ प्रतिशत खर्च भएको छ ।

सरकारको बजेट खर्च मात्र नभइ राजस्व सङ्कलन पनि कमजोर छ । कूल रू १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर वार्षिक राजस्व उठाउने लक्ष्य राखेको सरकारले माघ मसान्तसम्ममा रू छ खर्ब ५९ अर्ब ७३ करोड ५७ लाख राजस्व असुली गरेको छ । सात महिनाको राजस्व सङ्कलन सुरुवाती लक्ष्यको ४४ दशमलव ८३ प्रतिशत हो ।

यो अवधिमा कर राजस्व ४४ दशमलव ०५ प्रतिशत र गैरकर राजस्व ५७ दशमलव १५ प्रतिशत उठेको छ । कर राजस्वतर्फ रू १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख असुली गर्ने सरकारको लक्ष्य रहेकोमा हालसम्म रू पाँच खर्ब ६५ अर्ब ६४ करोड ३६ लाख बराबर उठेको छ । त्यस्तै, गैरकरतर्फ रू एक खर्ब ३५ अर्ब नौ करोड ३४ लाख राजस्व उठाउने वार्षिक लक्ष्य रहेकोमा माघ मसान्तसम्ममा सुरुवाती लक्ष्यको ५७ दशमलव १५ प्रतिशत अर्थात् रू ७७ अर्ब २१ करोड तीन लाख बराबर असुली भएको छ ।

चालु आर्थिक वर्षका लागि रू ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान लिन लक्ष्य राखेको सरकारले हालसम्म रू आठ अर्ब ८२ करोड ६० लाख बराबर मात्रै उठाएको छ । यो वार्षिक लक्ष्यको १६ दशमलव ८७ प्रतिशत हो ।