२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

उर्जामन्त्री खड्का र भारतीय समकक्षी जलशक्ति मन्त्रीबीच भेट



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ ।

‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुग्नुभएका मन्त्री खड्काले आज भारतका समकक्षी पाटिलसँग श्रमशक्ति भवन नयाँदिल्लीमा भेटवार्ता गर्नुभएको हो । भेटमा पञ्चेश्वर बहुउदेश्यीय आयोजनाको (विस्तृत परियोजना प्रतिवेदन) डिपीआर चाँडो सकेरर आयोजना अघि बढाउने सहमति भएको भेटमा सहभागी उर्जा मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रवल अधिकारीले जानकारी दिनुभयो ।

सो क्रममा टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लिङ्क नहर निर्माण सम्पन्न भइसकेको तर यसका लागि सञ्चालन कार्यविधि सञ्चालन प्रक्रियालाई चाँडै अन्तिम रुप दिई महाकाली सन्धीअनुसार पानी छाड्ने सहमति भएको छ । यस्तै बाढी र डुबान व्यवस्थापनका लागि संयुक्त समितिको बैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने छलफल भएको र यसका लागि औपचारिक पत्राचार सम्बन्धित अधिकारीले गर्नेछन् ।

यसैगरी सप्तकोशी बहुउदेश्यीय आयोजनाको डिपीआर सम्बन्धमा पनि दुई पक्षीय बैठकमार्फत छलफल अगाडि बढाउने सहमति भएको छ । उर्जामन्त्री खड्काले गत ५ नोभेम्बरमा भएको भेट र छलफलले दुई देशको सहकार्यमा जलस्रोतको क्षेत्रमा महत्वपूर्ण कार्यका लागि अघि बढ्न थप हौसला प्रदान गरेको स्मरण गर्नुभयो ।

भेटमा भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डिपीआरलाई चाँडो अन्तिम रुप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताउनुभएको थियो । भेटमा मन्त्री खड्कासँगै मन्त्रालयका सचिव सुरेश आचार्य, वरिष्ठ उर्जाविज्ञ प्रवल अधिकारी, मन्त्रालयका सहसचिव सन्दिपकुमार देव, मन्त्री खड्काका आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो भने भारतीय उच्च अधिकारीको समेत सहभागिता रहेको थियो ।