काठमाडौँ । अस्ट्रेलियाका क्रिकेटर मार्कस स्टोइनिसले च्याम्पियन्स ट्रफीअघि एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् ।
योसँगै उनले च्याम्पियन्स ट्रफीमा भाग लिने छैनन् । यद्यपि उनले अष्ट्रेलियाबाट टी–२० क्रिकेट खेल्ने क्रम जारी राख्नेछन् ।
३५ वर्षीय क्रिकेटरले बिहीबार भने– ‘अष्ट्रेलियाका लागि एकदिवसीय क्रिकेट खेल्नु अविश्वसनीय यात्रा हो । मैदानमा बिताएका सबै पलहरूको लागि म आभारी छु ।’
स्टोइनिस दक्षिण अफ्रिकामा चलिरहेको एसए२० लिगमा डरबन सुपर जायन्ट्स टोलीको हिस्सा थिए, तर पछिल्लो खेलमा उनको ह्यामस्ट्रिङमा चोट लागेको थियो ।
स्टोइनिसलाई गत महिना जनवरी १३ मा च्याम्पियन्स ट्रफी खेल्न अष्ट्रेलियाको टोलीमा छनोट गरिएको थियो । क्रिकेट अष्ट्रेलियाले छिट्टै उनको प्रतिस्थापन घोषणा गर्नेछ । आईसीसीले फेब्रुअरी १२ लाई टोली परिवर्तनको अन्तिम मिति तोकेको छ ।
स्टोइनिस सन् २०२३ मा एकदिवसीय विश्वकप जित्ने अष्ट्रेलियाली टोलीको सदस्य थिए । उनले ६ खेलमा ८७ रन बनाएका थिए । यति मात्र होइन, बलिङमा पनि ४ विकेट लिए ।
उनले एकदिवसीय क्रिकेटमा ७१ खेलमा १४९५ रन बनाएका छन् । उनको उच्चतम स्कोर १४६ रहेको छ ।










